थाहामा को–को?



हेटौंडा, (नेस)
स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा नगर कार्यपालिकाका लागि आठ सदस्य निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनबाट पाँच महिला सदस्य र तीन दलित वा अल्पसंख्यकका तर्फबाट सदस्यमा निर्वाचित भएका हुन्।

कार्यपालिकाको निर्वाचनमा पनि ३१ वैशाखकोझैं थाहानगरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनले विजय हासिल गरेको छ। थाहा नगरपालिकामा माओवादी केन्द्रको मेयरसहित ३१, नेकपा एमालेको २६ र नेपाली कांग्रेसको उपमेयरसहित ५ सिट छ।

कार्यपालिकाको महिला सदस्यतर्फ नेपाली कांग्रेसकी उषा हमाल, नेकपा माओवादी केन्द्रकी कविता कार्की, जानुका ढकाल, सुन्तली माया गुरुङ र सोनिया सुनार निर्वाचित भए।

नगर कार्यपालिकाको दलित वा अल्पसंख्यकबाट नेपाली कांग्रेसका पुरुषोत्तम विश्वकर्मा, तारे कामी र रामपुकार दर्जी निर्वाचित भएको निर्वाचन अधिकृत जीवनप्रसाद आचार्यले जानकारी दिए।

निर्वाचित पदाधिकारीहरुलाई गत बिहीबार निर्वाचन अधिकृत आचार्यले शपथग्रहण गराएका छन्। कार्यक्रममा मेयर लवशेर विष्ट, उपमेयर खड्गबहादुर गोपाली र वडाध्यक्षलगायतको आतिथ्यता थियो।

प्रतिक्रिया दिनुहोस्