सुरुङको सपना



हेटौंडा, (नेस)
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्थानीयको साथ र सहयोग पाए काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाएर राजधानीबाट नजिकको सुन्दर शहरका रुपमा हेटौंडालाई विकास गरिने अठोट व्यक्त गरेका छन्।

उद्योगी व्यवसायीहरुको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार हेटौंडामा गरेको नवनिर्वाचित मेयर महत, उपमेयर मीना लामा तथा १९ वटै वडाका अध्यक्षलाई संयुक्तरुपमा बधाई तथा शुभकामना कार्यक्रममा मेयर महतले यस्तो अठोट गरेका हुन्।

मेयर महतले हेटौंडा नगरका बीच भागबाट गएको पूर्वपश्चिम राजमार्गलाई शहरी क्षेत्रको बाहिरी भागबाट लैजान पहल गरिने बताए। मेयर महतले राज्यले गुण्डागर्दी शैलीमा हेटौंडाको २५ मिटर सडक भत्काउन नसक्ने दाबी गरे।

महतले विश्वको कुनै पनि मुलुकका बीच शहरबाट राष्ट्रिय सडक नभएको भन्दै हेटौंडाको हकमा पनि बाइपासबाट समस्या समाधान गर्न सकिने बताए।

राज्यलाई वाइपासको विकल्प दिइएको बताउँदै उनले यदि राज्यले लगानी गर्न नसक्ने हो भने पनि स्थानीय सरकारले लगानी गरेर वाइपास निर्माण गर्न सकिने र त्यसका लागि उद्योगी व्यवसायीको सहयोग आवश्यक रहेको बताए।

शहरबाट एसियन हाइवे बनाउने हो भने हामीले कसरी सफा शहर बनाउन सक्छौं। यदि शहरका बीचबाट हाइवे बन्यो भने त्यहाँ चल्ने ठूला सवारीसाधनको प्रदूषणले स्वस्थ बन्न सक्छौं? प्रश्न गर्दै उनले शहरलाई सुन्दर बनाउन शहरको बीचबाट हाइवे बन्न नसक्ने बताए।

उपमेयर लामाले महिला सशक्तीकरणका लागि उपमहानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्ने र उक्त कार्यक्रमहरु सबै भूभागमा समान हैसियतको हुने बताइन्। संघ अध्यक्ष राजकुमार न्यौपानेले उद्योगी व्यवसायीलगायत समग्र नगर विकासमा संघ सहकार्य गर्न तयार रहेको बताए।

कार्यक्रममा उद्योग वाणिज्य संघ वरीष्ठ उपाध्यक्ष कृष्ण कटुवाललगायतले शुभकामना व्यक्त गरेका थिए। वैशाख ३१ गते सम्पन्न प्रथम चरणको निर्वाचनमा प्रदेश नम्बर ३ को एकमात्र उपमहानगर हेटौंडामा स्थानीय निर्वाचन भएको हो।

प्रतिक्रिया दिनुहोस्