“तुरुन्तै मतपरिणाम आउने व्यवस्था गर्न सकिन्छ”



मोहनकृष्ण श्रेष्ठ, पूर्वराजदूत

कूटनीतिज्ञसँग चुनाव वार्ता

स्थानीय निर्वाचनको पहिलो चरणको मतगणना निकै ढिलो भयो। यसलाई एक कूटनीतिज्ञको हिसाबले कसरी लिनुभएको छ?

त्यही त यति ढिला गर्नु नहुने। यसो गर्दा मान्छेमा परिणाम सुन्ने उत्साह नै मरिसक्ने रहेछ। नयाँ विधि र प्रक्रियाका बारेमा सोच्नुपर्ने बेला भएछ। यति लामो समयसम्म मतगणनामा लगाउनु भनेको राम्रो भएन। यसले गर्दा राष्ट्रका अरु काम पनि छायामा पर्ने भए।

यहाँ केही मुलुकमा राजदूत भएर पनि जानुभयो। त्यहाँ रहँदा के पाउनुभयो? गणना प्रक्रिया कस्तो रहेछ?

हो, मैले धेरै स्थानको चुनाव देखें। तर, त्यहाँ तुरुन्तै परिणाम आउँछ। फ्रान्सको राजदूत भएका बेलामा एउटा संस्थागत चुनावमा मैले पनि भाग लिएको थिएँ। त्यहाँ त मत हाल्दाहाल्दै अर्को स्क्रिनमा परिणाम आउने व्यवस्था गरिएको थियो। तुरुन्तातुरुन्तै मत परिणाम आउन सक्ने व्यवस्था गरिएको थियो।

त्यस्तो प्रविधि थाहा पाउनुभएको रहेछ। त्यसलाई नेपालमा ल्याउने बारेमा त्यतिबेला कुरा गर्नुभएन?

त्यतिबेला निर्वाचन भएको बेलामा नपरेकाले ध्यान गएन। नेपालबाट पनि कुनै कुरा भनिएको थिएन।

नेपालका लागि त निकै खर्चिलो होला नि?

खर्चिलो हुन सक्छ। तर, नियमित रुपमा निर्वाचन गर्नुपर्ने भएकाले अहिलेको झन्झटलाई हटाउनका लागि पनि त्यस खालको प्रविधि ल्याउनुपर्ने आवश्यकता देखियो।

नेपालमा प्रयोग गर्न अप्ठ्यारो पर्ने हो कि?

त्यस्तो त हुँदैन। यहाँ कस्तो खालको चाहिने हो त्यस्तै ल्याउन मिल्ला।

दोस्रो चरणको निर्वाचनमा ल्याउन सकिन्न होला?

तुरुन्तातुरुन्ती त ल्याउन गाह्रो होला। तर, आगामी निर्वाचनहरुमा यसको प्रयोग गर्न सकिएला। त्यो भएमा मत गणना गर्न अहिलेको जस्तो झन्झट हुने थिएन।

 

प्रतिक्रिया दिनुहोस्