अख्तियारको जालमा ठूलो माछा,महानिर्देशक शर्मा पक्राउ



सुरेश तामाङ, काठमाडौं

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार नियन्त्रणमा लिएको छ।

शर्मालाई राजश्व हिनामिना गरेको आरोपमा लाजिम्पाटस्थित विभागबाटै दिउँसो १ बजेतिर अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार शर्मालाई नियन्त्रणमा लिई अख्तियारकै हिरासतमा राखेर अनुसन्धान भैरहेको छ। ‘राजश्व विभागमा रहँदा राजश्व हिनामिना गरेकोलगायतका उजुरीका आधारमा उहाँलाई पक्राउ गरेको हो।’, अख्तियार स्रोतले भन्यो, ‘उहाँ अख्तियारकै कस्टडीमा हुनुहुन्छ। अनुसन्धान जारी छ।’

एनसेलको कर प्रकरणमा संलग्न भएको, अकुत सम्पत्ति कमाएको र कर फरछौंट आयोगमा ब्यापारीलाई २० अर्ब रुपियाँ रकम छुट दिएको आरोप उनीमाथि लागेको छ।

केहि दिनअघि मात्रै शर्मालगायतका विभागका अधिकारीलाई अख्तियारले कार्यालयमा नै बोलाएर सोधपुछ र फारम भर्न लगाएको अख्तियार स्रोतले बताएको छ। सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा रहेका शर्मालाई राजश्व विभागमा सरुवा गरिएको थियो।

यस कारबाहीलाई नयाँ अख्तियार प्रमुख दीप वस्न्यात आएपछिको सबै भन्दा ठूलो कारबाहीको रूपमा लिईएको छ।

कांग्रेसकोतर्फबाट अर्थमन्त्री बनेका महतले नियुक्त गरेका शर्मा तीन वर्षदेखि यस विभागमा महानिर्देशकका रूपमा छन्।

को हुन चुडामणि शर्मा?

निजामति कर्मचारीहरूमा सवार्धिक चर्चा कमाएका चुडामणि शर्मा निजामति कर्मचारीमध्ये धनी र सर्वाधिक पहँुच भएका कर्मचारकिा रूपमा चिनिने गरेको छ। मुख्य सचिवको दौड रहेका शर्माको अख्तियारको कारबाहीसंगै उनको दौडमा पूर्णविराम लागेको छ। उनी निकटका स्रोतबाट थाहा भएअनुसार उनको अख्तियारका निलम्बित पूर्व आयुक्त लोकमान सिंह कार्कीसंग गहिरो सम्बन्ध रहेको बताइएको छ र यही गहिरो सम्बन्धको आडमा सेटिङ्ग मिलाउने काम गरी अधिक मात्रामा फाइदा लिने गरेका थिए।

शर्मासंग अथाह सम्पत्ति रहेको पनि बताइएको छ। स्रोतका अनुसार उनले निजामति सेवामा रहँदा कहिले पनि कम कमाइ हुने विभाग वा मन्त्रालयमा काम गरेन बरु शक्तिको आडमा उनले धेरै कमाई हुने विभाग र मन्त्रालयमा काम गरे। उनको पहिलो रोजाई नै हाइ–प्रोफाइल भएका विभाग र मन्त्रालय हुने गरेको थियो। सुनसरी जिल्लाको प्मुख जिल्ला अधिकारी भएको बेला सुगम ग्यासका मालिक शिव घिमिरेलाई उनले उनमुक्ति दिएका थिए। सो कार्य गरेवापत उनले करोडौं रुपियाँ हात पारेको उनीमाथि आरोप लागेको थियो।

उनी सम्पत्ति शुद्धिकरण विभागको प्मुख भएको बेला तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीसंग मिलेर व्यापारीउद्योगीलाई अनेकौं जालमा फसाएर उनीहरूबाट पैसा असुली गर्ने गरेको पनि स्रोतले जनाएको छ।

उनले विभिन्न व्यक्ति तथा संस्थाहरूसंग सेटिङ्गमार्फत धेरै पैसा असुली गर्ने गरेको जानकारहरू बताउछन्। केही समय अघि ललितपुरको भैस्रपाटीमा घुस लिंदालिदै पक्राउ परेका एक जना कर्मचारीले शर्माकै आदेशमा पैसा लिएको भन्ने बयान दिएका थिए। त्यो समयमा अख्तियारको प्रमुख लोकमानसिंह कार्की नै भएकोले उनलाई उन्मुक्ति दिइएको थियो।
विशेषगरी कांग्रेसका ठूलठूला नेताहरूसंग राम्रो र घनिष्ठ सम्बन्ध भएका शर्माले शक्तिकै आडमा सबैलाई तह लगाएर राख्न सफल भएका थिए।

पछिल्लो समयमा एनसेलको लाभकर छली प्रकरणमा उनी तानिएका थिए। उनीमाथि एनसेल विक्रि प्रकरणमा टेलियासोनरासंग आयकर नलिई उनमुक्ति दिएको आरोप लागेको छ। एनसेनको कर छलीबाट उनले अकुत सम्पत्ति जोडेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्