जेब्राक्रसको उचित व्यवस्थापन



अहिले राजधानी काठमाडौंमा ट्राफिक प्रहरीले जेब्राक्रसबाट आवतजावत नगरी अन्यत्रबाट सडक पार गर्ने पैदल यात्रीहरुलाई जरिबानास्वरुप २ सय रुपियाँको रसिद थमाइदिने गरेको समाचार प्रकाशमा आएको छ। यसरी जरिबाना गरेपछि सो जरिबाना नतिर्ने यात्रुलाई भने महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३ घण्टासम्मको सचेतना कक्षा सञ्चालन गरेर आइन्दा यस्तो गल्ती नदोहोर्याउन आग्रह गर्ने गरेको छ। ट्राफिक प्रहरीले राजधानीमा चलाएको यो अभियानलाई सराहनीय कार्यको रुपमा लिनुपर्छ। यस कार्यले जेब्राक्रसको सही उपयोग हुनुका साथै शहरी क्षेत्रमा हुने सडक दुर्घटना न्यूनीकरण गर्नसमेत सहयोग पुग्नेछ।

प्रकाशित समाचारअनुसार बुधबार मात्रै २ हजार २ सय १२ जना पैदल यात्रुलाई जथाभावी बाटो काटेकोमा कारबाही गरिएको छ। तीमध्ये १ हजार ३ सय ६४ जनाबाट जरिबानास्वरुप २ सय रुपियाँका दरले राजस्वसमेत संकलन भएको र ८ सय ४८ जना पैदल यात्रुलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। नियन्त्रणमा लिइएकाहरुलाई ३ घण्टाको सचेतना कक्षा लिई छाडिने गरेको बताइएको छ। यस कार्यले सडकको ट्राफिक व्यवस्थापनमा सघाउ पुग्ने देखिन्छ। यसरी पैदल यात्रुलाई सचेत गराइनु भनेको ती यात्रुको ज्यान जोखिम हुनबाट बचाउनु पनि हो। सवारी हाँक्ने सडक प्रयोगकर्ताहरुका लागि पनि खुशीकै कुरा हो।

तर जेब्रा क्रसिङबारे पैदल यात्रुलाई मात्र सचेत गराएर पुग्दैन, आवश्यकताअनुसार ठाउँ–ठाउँमा जेब्राक्रसिङको व्यवस्था गरिएको छ कि छैन भन्नेतिर पनि ध्यान पुर्याउनुपर्छ। साथै सार्वजनिक सवारीसाधनका चालकहरुलाई पनि सचेत गराउनुपर्छ। जहाँ पायो त्यहीँ घ्याच्च रोकेर यात्रु चढाउने कार्य अझै रोकिएको देखिँदैन। उदाहरणका लागि भन्ने हो भने काठमाडौंको नयाँबानेश्वर, मीनभवन, शान्तिनगर, तीनकुने, कोटेश्वर क्षेत्रमा जहाँपायो त्यहीँ यात्रु चढाउने गरेको देखिन्छ। कुन रुटको गाडी कहाँनिर रोकिन्छ भन्ने कुरामा यात्रु अलमलमा पर्ने पुरानै रोग हो। यसले गर्दा मुख्य चोकहरुमा यात्रुको दौडधुप र भीडभाड बढी नै हुने गरेको छ। कतिपय स्थानमा त जेब्राक्रसमै सार्वजनिक गाडी रोकेर यात्रु कोच्ने ‘कम्पिटिसन’ चल्छ। त्यसैले भीडभाड हुने क्षेत्रमा सार्वजनिक सवारीसाधनलाई पनि ट्राफिक प्रहरीले ‘वाच’ गर्नै पर्छ। त्यस्तै प्रमुख स्थानमा मात्र नभएर व्यस्त भित्री सडकहरुमा पनि आवश्यकताअनुसार जेब्राक्रसको व्यवस्थापन गरियोस्।

प्रतिक्रिया दिनुहोस्