व्यापारघाटा साढे ७ खर्ब



हेमन्त जोशी, काडमाडौं

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। चालू आर्थिक नौ महिना अवधिमा व्यापारघाटा ७ खर्ब ४६ अर्ब ३२ लाख रुपियाँभन्दा धेरै पुगेको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल निर्यातको अनुपातका आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ दशमलब ३ प्रतिशतले बढेर १३ दशमलब २ गुणा बढीे पुगेको छ। जुन अनुपात अघिल्लो वर्षको सोही अवधिसम्म १० दशमलब ९ गुणाले बढी रहेको थियो। भन्सार विभागका तथ्यांक शाखा प्रमुख विनोदशरण आचार्यका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कूल वैदेशिक व्यापारमा ९३ प्रतिशत आयात र ७ प्रतिशत मात्र निर्यातको योगदान रहेको छ।

मुलुकले ८ खर्ब ७ अर्ब २७ करोड ३० लाख ९२ हजार रुपियाँ बराबरको आयात गर्दा ६० अर्ब ९५ करोड ३० लाख ६५ हजार रुपियाँ बराबरमात्र निर्यात गरेको छ। जुन परिमाण गत वर्षको सोही अवधिसम्म भएको आयातको तुलनामा ३४ दशमलब ६९ प्रतिशत र निर्यातको तुलनामा १० दशमलब ९५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको तुलनामा कूल वैदेशिक व्यापार ३२ दशमलब ७० प्रतिशतले बढेको छ। त्यस्तै कूल वैदेशिक व्यापारमा निर्यातको मात्रा १ दशमलब ५० प्रतिशतले बढेको छ भने आयात १६ दशमलब ३९ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
नेपालले यस अवधिमा भारतसँगमात्र ६४ दशमलब ५८ प्रतिशत वैदेशिक व्यापार गरेको छ। जुन रकम चैत महिनाको तुलनामा शून्य दशमलब दुई शून्य प्रतिशतले बढेको देखिएको छ। वैशाख मसान्तसम्म ५ खर्ब ६० अर्ब ७५ करोड २४ लाख रुपियाँ बराबर भारतसँग मात्र वैदेशिक व्यापार भएको छ। भारतसँगको व्यापारघाटा मात्र ४ खर्ब ८८ अर्ब ६६ करोड ४५ लाख ८१ हजार रुपियाँ पुगेको छ।

त्यस्तै नेपालको दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने देश चीनसँग १ खर्ब ७ अर्ब १६ करोड ४ लाख ६८ हजार रुपियाँ बराबरको आयात र १ अर्ब ४२ करोड ४६ लाख ७५ हजार रुपियाँ बराबरको निर्यात गरी कुल वैदेशिक व्यापार १ खर्ब ७ अर्ब ५८ करोड ५१ लाख ५३ हजार रुपियाँ पुगेको छ। यस अवधिमा चीनसँगको व्यापारघाटा १ अर्ब ४ करोड ५९ लाख ९४ हजार रुपियाँ रहेको छ।

संयुक्त अरब इमिरेट्स नेपालसँग वैदेशिक व्यापार गर्ने तेस्रो ठूलो मुलुक बनेको छ। २६ अर्ब १९ करोड १७ लाख ५५ हजार रुपियाँ बराबरको आयात र ८ करोड ३२ लाख ५३ हजार रुपियाँ बराबरको निर्यात भई दुई देशबीच कूल २६ अर्ब २७ करोड ५० लाख ८ हजार रुपियाँ पुगेको छ। जसमा नेपालले २६ अर्ब १० करोड ८५ लाख २ हजार रुपियाँ बराबरघाटा बेहोरेको छ।

चालू आर्थिक वर्षको १० महिना अवधिसम्ममा देशको सबैभन्दा ठूलो नाका वीरगन्जबाट मात्र कूल वैदेशिक व्यापारमा ३३ दशमलब ९४ प्रतिशत आयात र २० दशमलब ८९ प्रतिशत निर्यात भएको छ। वीरगन्ज नाकाबाट २ खर्ब ७३ अर्ब ९८ करोड ७२ लाख ८२ हजार रुपियाँ बराबर आयात र १२ अर्ब ७३ करोड ३३ लाख ७९ हजार रुपियाँ बराबरको निर्यात भएको छ।

त्यसैगरी मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब १ अर्ब २८ करोड ६२ लाख २ हजार रुपियाँ बराबरको आयात र १७ अर्ब २० करोड ३८ लाख ६४ हजार रुपियाँ बराबरको निर्यात भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कूल वैदेशिक व्यापारमा निर्यात २८ दशमलब २२ प्रतिशत र आयात १२ दशमलब ५५ प्रतिशत हो। भन्सार विभागको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै आयात हुने गरेको छ भने निर्यातमा तेस्रो ठूलो भन्सार कार्यालयका रूपमा देखिएको छ।

दुई वटा भन्सार जनकपुर र सिराहाबाट भने निर्यात शून्य देखिएको छ। फागुन मसान्तसम्ममा निर्यात शून्य रहेको जलेश्वर भन्सार कार्यालयले पछिल्लो २ महिनामा १ लाख ७० हजार रुपियाँ बराबरको निर्यात र ५८ हजार रुपियाँ राजस्व संकलन गरेको छ।

शून्यदेखि ८० प्रतिशत भन्सार दर भएका विभिन्न वस्तु आयात भएका छन्। यस ५ देखि १० प्रतिशत भन्सार दर लाग्ने वस्तुको आयात उच्च देखिएको छ। कुल आयातमा यस्ता वस्तुले २५ दशमलब ९५ प्रतिशत स्थान ओगटेको छ।

यस अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरू मुख्य रहेकाछन्। त्यस्तै हस्तकलाका सामानहरू, चाउचाउ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिबुटी आदि वस्तुको पनि निर्यात भएकोछ।

आयाततर्फ चालू आर्थिक वर्षको यस अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनहरूको आयातमा झण्डै दोब्बरले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्