स्मृतिमा राजा वीरेन्द्र



प्रकाश रायमाझी

वि. सं. २०५८ जेठ १९ गते शुक्रबार साँझ राजदरबारमा भएको बीभत्स हत्याको १६ वर्ष बितिसकेको छ। महान् देशप्रेमी राजा वीरेन्द्र र उनका परिवारको अकल्पनीय दुःखद क्षेणको घटनामा दिवंगत भएका मृतात्माहरुको चिरशान्तिको कामना गर्नु मात्र आज हामी नेपालीहरुको लागि परिस्थिति आएको छ। तर सरल हृदयका राजा वीरेन्द्र र उनका परिवारमा श्रद्धाञ्जलि अर्पण गर्न मात्र सीमित नरहेर हामीमा नेपालको राष्ट्रिय स्वाभिमान उच्च राख्न सक्ने क्षमता हुनुपर्छ। समयको अन्तरालमा दरबार हत्याकाण्डलाई लिएर अनेकौं कोणबाट चर्चा–परिचर्चा एवम् मिथ्या आरोपहरु थोपर्ने र अनावश्यक विवादहरु उब्जाउँदै राजदरबार हत्याकाण्डलाई आ–आफ्नै ढंगले व्याख्या गर्ने गरिएको पनि छ।

हत्याको घटनालाई राजनीतिक दलका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा एमालेमा नेता माधव नेपालहरुले देशलाई संक्रमणकाल र अस्थिरताबाट जोगाउन राजा ज्ञानेन्द्रलाई २०४७ सालको संविधानअनुसार राजाको रुपमा स्थापित गरी राजसंस्थालाई निरन्तरता दिएका थिए। तर तिनै व्यक्तिहरुले पनि राजा ज्ञानेन्द्रलाई धोका दिएर माओवादीको बाटोमा लाग्न पुगे। उता राजदरबार हत्याकाण्ड भएको ७ दिन नपुग्दै माओवादीका नेता बाबुराम भट्टराईले ज्येष्ठ २४ गते एक ख्यातिप्राप्त दैनिक पत्रिकामा दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको हात छ भनी कपोलकल्पित लेख प्रकाशित गराए। त्यो लेखले नेपाली समाजमा एउटा भ्रम खडा गर्यो। वास्तवमा भारतीय राजदूतावासस्थित भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख र बाबुराम भट्टराईको सुमधुर सम्बन्ध कायम रहेकाले यिनै ‘रअ’ प्रमुख हर्मिजको सल्लाहमा बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रमाथि कथित आरोप लगाएर लेख लेखेका थिए। किनकि ‘रअ’ प्रमुख हर्मिज र बाबुराम भट्टराई दुबै क्रिश्चियन भएकाले यी दुईबीचमा राम्रो सम्बन्ध हुनु स्वाभाविकै थियो।

पछि योजनाबद्धरुपले माओवादीलगायत कांग्रेस, एमालेका नेताहरु ‘रअ’को माध्यमबाट दिल्ली दरबार धाएर १२ बुँदे सहमतिमा हस्ताक्षर गरी प्रायोजित जनआन्दोलनमा सहभागी बने। जनआन्दोलनले रक्तपातपूर्ण स्थिति खडा गर्न थालेकाले राजा ज्ञानेन्द्रसँग सम्झौता गरेर जनआन्दोलन विसर्जन भएको थियो। तर जनआन्दोलनपछि राजासँगको सम्झौतालाई धोका दिएर मुलुकलाई धर्मनिरपेक्ष, गणतन्त्र बनाउने रणनीतिमा राजनीतिक दलहरु लाग्न थाले। नेपालमा अहिलेको संकटको मूल कारक नैं यही हो।

राजा वीरेन्द्र देशप्रेमी र प्रजातन्त्रवादी थिए। उनलाई पाँचै विकास क्षेत्रका १४ अञ्चल ७५ जिल्लाको बारेमा गहिरो ज्ञान थियो। नेपालको आर्थिक विकासका निमित शान्ति क्षेत्रको माध्यमबाट मुलुकलाई समुन्नत बनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त थिए। नेपालको भौगोलिक बनावट र सामरिक दृष्टिकोणले दुवै छिमेकी राष्ट्रसँग सुमधुर सम्बन्ध राख्नमा नै उनी अघि बढिरहेका थिए। उनले नेपाली सेनालाई तालिमका निमित्त आवश्यक पर्ने केही हातहतियार चीनसँग खरिद गरेपछि भारत सशंकित भयो। राजीव गान्धीसँग राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्बन्ध चिसिन गएको थियो। त्यही मौकाको फाइदा उठाएर नेपालमाथि भारतले आर्थिक नाकाबन्दी गर्यो। नाकाबन्दीबाट नेपालीहरुलाई झुकाउन नसकेपछि नेपालमा २०४६ सालको आन्दोलनलाई उचाले। आन्दोलनकारीहरुको सहयोगको लागि भारतबाट चन्द्रशेखरलगायत एक दर्जन भारतीय नेताहरु नेपाल आएका थिए। पञ्चायती व्यवस्था फाल्ने मात्र भारतको चाहना थिएन।

राजतन्त्रप्रति असहमति जनाउने कांग्रेस (आई)को नीतिसँग राजा वीरेन्द्र नझुकेपछि भारत नेपालसँग चिढिएको थियो। नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई भारतले अस्वीकार गरिरहेको थियो भने सार्क राष्ट्रको संगठनमा राजा वीरेन्द्रको भूमिकाप्रति भारत खुशी थिएन। कलकत्ताका कम्युनिस्ट नेता ज्योति बसुको घरमा गरिएको बैठकबाट नेपालका राजारानीविरुद्ध जथाभावी नारा लगाउन शुरु भएको थियो। नेपालका केही राजनीतिक दलका नेताहरु भारतमै बसेर राजतन्त्रलाई कसरी हटाउन सकिन्छ भन्ने षड्यन्त्रमा लागिरहेका बेला राजदरबार हत्याकाण्ड भएपछि सो घटना भारतले गराएको आशंका गरियो। वास्तवमा यस घटनामा ‘रअ’को गहिरो सम्बन्ध थियो भन्ने कुरा हर्मिज र बाबुराम भट्टराईको उठबसबाट स्पष्ट हुनसक्छ।

शाही पारिवारिक भेटघाटको क्रममा घटेको घटनामा युवराज दीपेन्द्रको मादक पदार्थको उन्माद नै यस हत्याकाण्डसँग जोडिएको छ। प्रेममा पागल भएका दीपेन्द्रलाई त्यो घटनाले अझ उत्तेजित बनाएपछि आफ्ना बाबु र आमालाई हत्या गर्न उक्सायो। २०४६ सालको परिवर्तनपछि फाल्न नसकेको राजसंस्थालाई दरबार हत्याकाण्डपछि देशी–विदेशी शक्तिले २०६३ मा राजसंस्था विस्थापित गराउन सफल भए। दरबार हत्याकाण्डको दोष ज्ञानेन्द्रमाथि लगाएर संसद्वादी दलहरुसमेत माओवादीहरुको घेरामा फसे। नेपालीहरुले आपm्नो अभिभावकको रुपमा मानेका वीरेन्द्रको हत्या हुँदा देश शोकाकूल भयो। चारैतिर रोदन र क्रन्दनको चित्कार सुनिन्थ्यो। रहस्यमय ढंगबाट हत्या भएको त्यो कहालीलाग्दो क्षण सम्झँदा अहिले पनि मन खिन्न हुन्छ। सारा अनुसन्धान तथा प्रधानन्यायाधीशको समितिको प्रतिवेदन र घटनाक्रमअनुसार दुखान्त घटनाको खलनायक दीपेन्द्र नै थिए।

राजा वीरेन्द्रको वंश विनाश भएपछि राजसंस्थाको विरोधीहरुलाई थप हौसला मिल्न पुग्यो। नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा अक्षुण्ण राख्न राजसंस्थाको महत्वपूर्ण योगदान रहिआएको थियो। राजा वीरेन्द्र लोकप्रिय र राष्ट्रवादी भएकोमा केही देशी–विदेशी शक्तिहरु सहनै सक्दैनथे। राजा वीरेन्द्रको हत्यापछि संसदीय प्रजातन्त्र नै धरापमा पर्न गयो। राजा वीरेन्द्रले माओवादीमाथि सैनिक बल प्रयोग गर्न नदिएकोमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रुष्ट भएका थिए । राजा वीरेन्द्र चाहन्थे कि नेपाली नागरिकको हत्या सेना लगाएर गराउनु हुन्न। यसरी माओवादी द्वन्द्व छिमेकी देशको इशारामा सञ्चालित भएकाले त्यस बेलामा नेपालको वर्तमान राजनीतिक परिवर्तनसँग अरु कैयौँ चुनौतीहरु थपिँदै जाने स्थिति पनि थियो। २०६३ सालपछि हिमाल, पहाड, तराईका साझा संस्कृति र सद्भाव खलबलाउने चेष्टाहरु बन्दै आए। नेपालको सार्वभौमसत्तालाई युगयुगान्तरसम्म बचाइराख्न नेपाली सेना सदा कटिबद्ध रहिरहेको शक्ति हो। अनेकौं कष्ट र वीर पूर्वजहरुले रगत–पसिना बगाएर सिर्जना गरेको नेपाल राष्ट्रको अस्तित्वलाई अक्षुण्ण राख्न नेपाली सेनाको महत्वपूर्ण भूमिका त्यत्ति नै उल्लेखनीय छ। तर त्यस बेलामा नेपाली सेनालाई पनि विवादमा फसाउन खोजियो। प्रजातन्त्र र मानवअधिकारको पक्षमा सधैँ सजग र सचेत रहेको सेनाको अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नै सैनिक कूटनीति रहेको छ। नेपालभित्र हुने आन्तरिक राजनीतिक खिचातानीबाट देश विखण्डन हुन सक्ने अवस्थामा पनि नेपाली सेना राष्ट्रको संरक्षकको रुपमा देखिन्छ। राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताको रक्षाको लागि सेनाको भूमिका जुनसुकै बेला अपरिहार्य छ।

विगतको लामो द्वन्द्वको घाउ नमेटिँदै अनेकौं कोणबाट उत्पन्न भएका विसम परिस्थितिलाई सूक्ष्म विश्लेषण गरेर नेपाली सेना केही पछि हटेर पनि राजनीतिक पक्षलाई समर्थन गरेको थियो तर त्यसको परिणाम सेना झुकेको अर्थ लागेको छ। यस्ता घटनाहरुबाट नेपाली सेना सचेत रहेर सधैँ नेपालको सार्वभौमसत्ता बचाउन सक्नुपर्छ। माओवादीको विरुद्ध सेना प्रयोग नगरी माओवादी विद्रोहको कारण खोजेर समाधानको बाटो लिनुपर्छ भन्ने राजा वीरेन्द्रको चहाना थियो। नेपालमा कसैको पनि रगत बग्नुहुँदैन भन्ने वीरेन्द्र चाहन्थे। यस घटनाक्रममा जे–जस्ता विचारहरु प्रस्तुत गरे पनि राजा वीरेन्द्र अब यो संसारमा छैनन्। राष्ट्रिय राजनीतिमा राजा वीरेन्द्रको सोच थियो कि नेपालको राष्ट्रियता, प्रजातन्त्र र राजसंस्थाबीचमा सधैँ समन्वय र सन्तुलन रहिरहनुपर्छ। अतः प्रजातान्त्रिक मूल्य र मान्यतालाई सबैले आत्मसात् गर्ने हो भने अब नेपालको राष्ट्रियता, प्रजातन्त्रको सदृढीकरणको लागि हामी विभिन्न विचारधारामा विभाजित राजनीतिक तथा गैरराजनीतिक क्षेत्रबाट सोचौं। हामीले संकटग्रस्त देशलाई संकटबाट जोगाउन परम्परागत शक्ति तथा नेपालको एकता, स्थायित्व र सार्वभौमसत्तासँग जोडिएका मान्यताहरुलाई चिरस्थायी गर्न सक्नुपर्छ।

राजा वीरेन्द्र देशप्रेमी र प्रजातन्त्रवादी थिए। उनलाई पाँचै विकास क्षेत्रका १४ अञ्चल ७५ जिल्लाको बारेमा गहिरो ज्ञान थियो। नेपालको आर्थिक विकासका निमित शान्ति क्षेत्रको माध्यमबाट मुलुकलाई समुन्नत बनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त थिए। नेपालको भौगोलिक बनावट र सामरिक दृष्टिकोणले दुवै छिमेकी राष्ट्रसँग सुमधुर सम्बन्ध राख्नमा नै उनी अघि बढिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्