दरबार हत्याकाण्डको १६ वर्ष, यस्तो बनाइँदै घटनास्थल



ईश्वरराज ढकाल, काठमाडौं

दरबार हत्याकाकाण्ड भएको आज शुक्रबार १६ वर्ष पूरा भएको छ। राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्न हुन्छन्।

त्यसपछिका सरकारहरूले नारायणहिटी प्रवेश गर्दा भनेका थिए– ‘दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्छौं।’ तर दर्जन पटक सरकार परिवर्तन भए तर घटना अहिले पनि रहस्यको गर्भमा नै छ।

नेपाली जनताले सधैं भन्ने गरेका छन्– ‘राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस्।’ त्यति मात्रै होइन नारायणहिटी संग्रहालय घुम्न आउने दर्शकले लेख्ने गरेका छन्– ‘दरबार हत्याकाण्डको छानविन होस्।’

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि नारायणहिटी संग्रहालयले दरबार हत्याकाण्ड भएको घर त्रिभुवन सदन निर्माण शुरू भएको छ। दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण शुरू गरिएको हो।

संग्रहालय प्रशासनले एक वर्षभित्र तयार हुने गरी दरबार हत्याकाण्ड भएको दीपेन्द्रको निवास त्रिभुवन सदन निर्माण शुरू गरेको हो। दरबार हत्याकाण्ड भएको स्थान विलियार्ड बैठक हेर्न लायक भएको केही समयपछि संग्रहालय प्रशासनले त्रिभुवन सदनको निर्माण शुरू गरेको हो। ‘दरबार हत्याकाण्ड भएको १६ वर्षपछि त्रिभुवन सदन निर्माण शुरू गरेका छौं।’ –संग्रहालय प्रमुख रोहित ढुंगानाले नेपाल समाचारपत्रसँग भन्नुभयो।

त्रिभुवन सदनमा तत्कालीन रानी ऐश्वर्याको गोलीहानी हत्या भएको थियो र विलियार्ड बैठकमा राजा वीरेन्द्र, निराजन, श्रुतीलगायत ८ जनाको हत्या भएको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल असारमा सप्ताह लगाएर दरबार हत्याकाकाण्ड भएको त्रिभुवन सदन भत्काउन आदेश दिनुभएको थियो।

त्रिभुवन सदन भत्काएपछि त्यहाँको इँट्टालगायतका भवनमा प्रयोग हुने सामग्री फरास खानामा खाल्डो खनेर पुर्न तत्कालीन राजा ज्ञानेन्द्रले आदेश दिनुभएको थियो।
तत्कालीन युवराज स्व. दीपेन्द्रको खाट र मेट्रेसलगायत केही कपडा जलाउन लगाइएको थियो। बाँकी भएका केही सामग्री नारायणहिटीको विभिन्न कक्षमा ज्ञानेन्द्रले नै राख्न आदेश दिनुभएको थियो।

त्रिभुवन सदनको विलियार्ड हलमा हत्याकाण्ड हुँदा बिच्छइइएको गलैंचामा रगत लतपतिएका कारण सो गलैंचा स्टोरमै राख्न लगाइएको थियो।

तर कुन स्टोरमा कस्तो हालतमा राखिएको छ त्यसको जानकारी कसैलाई पनि दिइएको छैन। घर तयार हुनासाथ सामान खोजेर राख्ने जनाइएको छ। बिलियार्ड बैठकको अधिकांश सामग्री फेला पारिसेका छौं, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा लागि परेका छौं’ –संग्रहालय प्रमुख ढुंगानाले भन्नुभयो।

अहिलेसम्म त्रिभुवन सदनमा रहेका २ सेट हरियो र हिमाल आकारको ३ सेट सोफा, दराज, सिरहा बैठकमा भेटिएको छ। सिरहा बैठक पूर्वराजाको रक्षा बन्धनमा यज्ञोपवित लगाउने, दशैमा राजपरिवारको सदस्यहरूले मात्रै टीका लगाउने स्थानका रूपमा रहेको छ।

टेबल नानीगन्जमा भेटिएको छ, विलियार्ड हलको पूर्वपट्टी रहेको राजा त्रिभुवनको सामुहिक तस्वीर जाजरकोट कक्षमा भेटिएको छ।

जाजरकोट कक्ष नारायणहिटी दरबारको सञ्चार कक्षका रूपमा प्रयोग हँुदै आएको थियो। राजाबाट हट्नु केही महिनाअघि सो कक्षलाई राजा ज्ञानेन्द्रले बार हल बनाउनुभएको थियो।

बार हल बनाएता पनि प्रयोग नै गर्न नपाई २०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुग्नुभएको थियो।

२०५८ साल जेठ १९ गते बिलियार्ड बैठकमा तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको त्यो हत्याकाण्डमा प्रयोग भएका केही सामग्री छैनन्। त्रिभुवन सदनको बिलियार्ड हलमा दरबार हत्याकाण्ड हुँदा वीरेन्द्र, ऐश्वर्य, निराजन, श्रुती, शान्ति ,सारदा र जयन्तीलाई गोली लागेको थियो।

उता ४ वषदेखि दर्शकको अवलोकनका लागि खुला गर्ने तयारी गरिएको स्वर्गिय राजा वीरेन्द्रको दरबार श्री सदन यो वर्ष बन्द रहेको छ। त्यहा जडान गरिएको सीसीटिभी बिग्रिसकेको छ। नारायणहिटी दरबार संग्रहालयले वैकल्पिक बाटो नभएका कारण समस्या परेको जनाइएको छ।
सार्वसाधारणका लागि खुला गरिएको नारायणहिटी संग्रहालयमा भ्रमण गर्न आउने सबै दर्शकले आगन्तुक पुस्तिकामा २०५८ साल जेठ १९ गते हत्या भएका राजा वीरेन्द्र र उहाँको परिवारको निजी निवास श्री सदन हेर्न तीब्र इच्छा रहेको भनाई लेख्ने गरेका छन्। तर सरकारले बैकल्पिक बाटो खोल्न रकम निकासा नगरिदिदा समस्या परेको छ।

भीआईपी र अन्य पाहुनाले संग्रहालयमा राखिएको आगन्तुक पुस्तिकामा श्री सदन र दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदनको विलियार्ड बैठक कहिले हेर्न पाइन्छ ? जस्ता प्रश्न लेख्ने गरेका छन्।

श्रीसदनसंगै राजा वीरेन्द्र र उहाका परिवारले चढ्ने सवारी साधनलाई समेत अवलोकनका लागि राख्ने तयारी गरिएको थियो। श्री सदन कहिले अवलोकनको लागि खुला गर्ने ? भन्दा अहिले संग्रहालयको जवाफ एउटै छ। बाटो खोल्न बजेट चाहियो त्यसपछि हामी खोल्नेछौं।

खुला गर्ने तयारीमा रहेको श्रीसदनमा ३ जना कर्मचारी अहिले पनि कार्यरत छन्। सफा जारी राखेका छौ, प्रयोग नै नभएको कारण सीसीटिभी बिग्रएको अवस्थामा छ–ढुंगानाले भन्नुभयो।

बाटो खोल्ने विषयमा उपत्यका पृतना रहेको नेपाली सेनासंग केही समस्या रहेको छ।संग्रहालयले ४ वर्षअघिनै प्रदर्शनीका लागि तयार गरिएको पूर्वराजा वीरेन्द्रको घर श्री सदनमा राजा वीरेन्द्रको कोठामा काठको दराजमा स्वर्गीय राजा वीरेन्द्रको सैनिक पोशाक र बुट थन्किएको छ।

वाथरुममा उहाँले प्रयोग गर्ने सामग्री मिलाएर राखिएको छ। स्वर्गीय रानी ऐश्वर्याको पूजा कोठामा देवताको मुर्ती सजाइएको छ, तेस्रो तलाको भर्याङ उक्लिनासाथ प्यासेजमा पूर्व अधिराजकुमारी श्रुतीले तयार पारेको पेन्टिङ राखिएको छ।

स्वर्गीय राजा वीरेन्द्र, ऐश्वर्या, श्रुति र निराजनको सबैको वाथरुम, सिंगार कोठा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ । ऐश्वर्या आफैं साहित्यमा समेत चासो राख्ने भएकाले उनका लागि छुट्टै साहित्य कक्ष रहेको छ।

युवराज हुनुअघि स्वर्गीय दीपेन्द्रको कोठासमेत सजावट गरी राखिएको छ। श्रीसदनको यो दृश्य देख्दा लाग्छ स्वर्गिय राजा वीरेन्द्र परिवार सामान्य जस्तै थिए। प्रकृतिप्रेमी राजा वीरेन्द्रले आफु बस्ने श्रीसदनलाई कहिल्यै रङरोगन गरेनन्। सिमेन्ट प्लास्टरमात्र गरिएको सो दरवार कलात्मक रहेको छ। बाहिरको गेटदेखि प्रवेश गर्ने बाटोसमेत अति नै समान्य छ।

प्रवेशद्वारमा ठूलो घण्ट राखिएको छ। तत्कालीन राजा महेन्द्रले छोरा वीरेन्द्रको निजी प्रयोगका लागि निर्माण गरिएको सो भवनमा वीरेन्द्रलाई युवराजधिराज घोषणा गरिएको दिनमा नै श्रीसदनमा सारिएको थियो।

नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि खुला भएको ९ वर्षमा स्वदेशी र विदेशी गरी २४ लाख ३० हजार ३ सय ९९ जनाले अवलोकन गरेका छन्। सबैभन्दाबढी सर्वसाधारण र त्यसपछि विद्यार्थीले अवलोकन गरेका छन्।

संग्रहालयका प्रमुख रोहित ढुंगानाले हालसम्म १२ लाख १ हजार ६ सय ८७ जना सर्वसाधारण र १० लाख ३४ हजार ८ सय १३ जना नेपाली विद्यार्थीले अवलोकन गरेको बताउनुभयो। उहाँका अनुसार सार्क र चीनका १ लाख ३५ हजार ८ सय ९९ र अन्य मुलुकका ५८ हजारले अवलोकन गरिसकेका छन्।
संग्रहालय अवलोकन गर्न विद्यार्थीले २०, सर्वसाधारणले १ सय, सार्क र चिनीया नागरिकले २ सय ५० र अन्य मुलुकका नागरिकले टिकटवापत ५ सय रुपियाँ तिर्नुपर्ने व्यवस्था छ।

संग्रहालयले हालसम्म पार्किङसमेत गरी २० करोड, ५१ लाख, ४४ हजार ३० रुपिया राजश्व संकलन गरेको छ। बितेको एक वर्षमा १ लाख ४४ हजार ७ सय ४९ जना सर्वसाधारण, ९९ हजार ६ सय ९८ जना नेपाली विद्यार्थी, १२ हजार ४ सय ४५ जना चीन सार्क मुलुक र ६ हजार ६ सय ३४ जना अन्य मुलुकका दर्शकले संग्रहालय अवलोकन गरेका छन्।

एक वर्षको अवधीमा करिब २ करोड ३० लाख ५० हजार ९ सय ६५ रुपियाँ राजश्व संकलन गरेको संग्रहालय प्रमुख ढुंगानाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्