आइतबारदेखि नयाँ प्रधानमन्त्री



अहिलेको सत्ता गठबन्धनबाट देउवा उम्मेदवार हुने निश्चित भए पनि अन्यको टुंगो लागेको छैन।

बीपी साह, काठमाडौं

व्यवस्थापिका संसद्को बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध नगरे आइतबार देशले नयाँ प्रधानमन्त्री पाउन सक्नेछ। राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको समय अवधि सकिएपछि बिहीबारदेखि प्रधानमन्त्री चयनका लागि बहुमतीय प्रक्रिया शुरू भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारदेखि बहुमतीय प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ। राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गर्नुभएको थियो। तर, उक्त समयावधिभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेपछि बहुमतीय प्रक्रिया शुरू गर्न बिहीबार पुनः आग्रह गर्नुभएको हो।

बिहीबार राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी गरिएको विज्ञप्तिमा बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई अनुरोध गरिएको छ। ‘नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आह्वान गरिएको’ उल्लेख छ।

यता संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार नै नयाँ प्रधानमन्त्री चयनका लागि कार्यतालिकाको मस्यौदा बनाइएको र शुक्रबार बैठक बसेर त्यसलाई अन्तिम रूप दिने बताउनुभयो। प्रधानमन्त्री चयनका लागि शुक्रबार ९ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको कार्यसूची सचिवालयले प्रस्ताव गरेको छ। ४ः३० बजे अन्तिम नामावली प्रकाशन गर्ने र शनिबार दाबी, विरोधका लागि समय छुटइइएको छ।

आइतबार संसद्को ११ बजेको बैठकले नयाँ प्रधानमन्त्री चयन गर्ने गरी सचिवालयले कार्यसूची तयार गरेको हो। त्यसलाई अन्तिम रूप दिन भने बाँकी रहेको छ। मनोनयन दर्तालगायतका कार्यक्रमका लागि संसद् बैठक आवश्यक नभए पनि निर्वाचनका लागि भने संसद् बैठक सुचारु हुनु आवश्यक छ।
कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रधानमन्त्री चयनको कार्यतालिका एमाले जस्तो जिम्मेवार दलले अवरुद्ध नगर्नेमा आफू ढुक्क रहेको सञ्चारकर्मीहरूलाई बताउनुभयो। माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा आगामी प्रधानमन्त्री बन्ने लगभग निश्चित रहेको छ।

नेपाल लोकतान्त्रिक फोरमलगायतका केही साना दलले पनि देउवालाई समर्थन गरिससकेका छन्। वर्तमान सत्ता पक्षबाट देउवाको उम्मेदवारी सुनिश्चित भए पनि प्रमुख प्रतिपक्षीसहित अन्य पक्षबाट उम्मेदवारको विषयमा टुंगो लागेको छैन।

विपक्षीले आज निर्णय गर्ने

काठमाडौं, (नेस)
आइतबार हुन लागेको प्रधानमन्त्री पदको निर्वाचनका लागि उम्मेदवारी दिने कि नदिने भन्ने बारेमा निर्णय गर्न नेकपा एमालेसहित विपक्षी गठबन्धनको बैठक आज दिउँसो १२ बजे डाकिएको छ।

उम्मेदवारी दिने सम्भावनाका सम्बन्धमा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाडले यसबारेमा आज शुक्रबार मात्रै बोल्न मिल्ने बताउनुभयो भने सोही पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले शुक्रबार बस्ने विपक्षी गठबन्धनको बैठकले नै उम्मेदवारीको बारेमा टुंगो लगाउने बताउनुभयो।

उता मधेसवादी दलले कसलाई प्रधानमन्त्री पदमा सहयोग गर्छन् भन्ने कुरा अझै खुलेको छैन। राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले आफ्नो पार्टीले यसबारेमा सोची नसकेको बताउँदै आज शुक्रबार नै बैठक बसेर यस सम्बन्धमा छलफल हुन सक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्