भागाभाग



क. तिमी अमेरिकाबाट आउने भन्दै थियौ किन भ्रमण रद्द गरेछौ त?
ख. आउने भनेको फेरि गणतन्त्र दिवस आउन लागेको बेला परेछ। त्यसैले भ्रमण रद्द गरेको हो। अब दशैंमा आउँछु।
क. कुरा बुझिनँ। किन गणतन्त्र दिवसको बेलामा भ्रमण रद्द गर्नुपरेको?
ख. कस्तो नबुझेको? गणतन्त्र दिवसको अवसरमा तक्मा–पदक के के बाँड्दा रहेछन्। फेरि विमानस्थलमा आउनासाथै सरकारले फ्याट्टै पदक भिराइदियो भने त बेइज्जत भएन। सबैले उडाउँछन्। त्यही भएर नआएको। बरु दशैंको बेलामा आउँछु। त्यतिबेला त पदक दिन्नन् होला नि।
क. ठीक गरेछौ। पदकका कारण त हामी पनि भागीभागी हिँडिरहेका छौं। केही दिन नाघिसक्यो अबचाहिँ नदेलान् कि भन्ने आशा छ।
ख. जोगिएर बस है। फेरि पदक देलान्।
माथिको संवाद हिजो धरहरा छेउमा चलेको एउटा लामो संवादको अंश हो। धरहराको छेउमै आएर एक जनाले अमेरिकाको न्युयोर्कमा रहेको आफ्नो साथीसँग ह्यान्डस फ्रिमा कुरा गर्दै थिए।
मुलुकको पदक गौरवको विषय हुनुपर्ने हो। तर, जोसुकैलाई बाँड्न थालिएपछि अहिले मुलुकमा पदक आतंक भएको रहेछ भन्ने कुरा यो संवादबाट प्रस्टिन्छ। मान्छे भाग्नुपर्ने अवस्था आएको रहेछ। पदक दाताहरू जनताको करबाट उठेको रकम खर्च गरेर बाँड्ने त्यस्ता पदक कसलाई दिने, कसलाई नदिने भनेर हजारचोटि सोचौं है। नत्र ………।

प्रतिक्रिया दिनुहोस्