असार १४ को चुनाव



खेत–खेतमा मतदाता
कृष्णउदास खनाल, वीरगन्ज

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको मितिमध्ये असारका लागि घोषणा गरेपछि मधेसका नागरिक भने प्रत्यक्ष मारमा परेका छन्।

खास गरी धान रोपाइँको समयमा र खेतीपातीको मुख्य समयमा नै मतदान गर्ने दिन तोकेपछि सर्वसाधारणमा अन्यौलता पनि बढेको छ। जेठ ३१ गते मतदान गर्नका लागि प्रतीक्षा गरिरहेका पर्साका स्थानीयहरु भने असारको ९ हुँदै फेरि १४ गतेका लागि नयाँ तिथि तय भएकोमा खुसी छैनन्। सरकारले यो दिनबाट पनि चुनाव अर्को दिनमा अझै सार्ने त होइन भन्दै शंका व्यक्त गरिरहेका छन्। जेठ र असारको यो समय स्थानीयहरु घरमा भन्दा पनि खेतमा नै बढी भेटिने भएका कारण चुनाव प्रचारका लागि राजनीतिक दलका नेता तथा उम्मेवदारहरु जनता भएको स्थल र जनताले काम गर्ने खेतमा नै गएर भोट माग्ने अवस्था छन्।

घरमा भन्दा खेतमा नै अहिले बढी स्थानीयहरु भेटिने भएका कारण आफूहरु खेतमा नै चुनाव प्रचारका लागि जाने गरेको नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवारको दाबीमा रहेका तबरेज आलमले बताए। खेतमा गएर स्थानीयसँग सामूहिकरूपमा भोट माग्न सजिलो भएको पनि उनी बताउँछन्। अहिले आफ्नो घर–गाउँमा र खेतमा समेत विभिन्न विकासका योजना लिएर नेताहरु आउने गरेको पर्साको साविकको लालपर्सा गाविसकी सुनकैली देवीले बताइन्।

यसअघि कहिल्यै नदेखिएका नेताहरुसमेत अहिले देखिन आएको भन्दै उनले रिससमेत पोखिन्। पर्सामा दोस्रो चरणको निर्वाचनको पर्खाइमा रहेका सर्वसाधारण नागरिकहरु भने चुनावको मिति सार्ने कार्यले केही अन्यौलमा पनि छन्।

राजपाका नेताहरुले अझै पनि चुनावमा भाग लिने कुरा स्पष्टसँग नबताएका कारण चुनाव असार १४ मा पनि हुनेमा आशंका रहेको सर्वसाधारणको कथन रहेको छ। कतिपय मतदाताहरु भने सरकारले यति धेरैपटक उनीहरुकै नाममा निर्वाचन सार्दा पनि राजपा चुनावमा आएन भने आगामी दिनमा जनताको बीचमा आउन सो पार्टीका नेतालाई गाह्रो हुने बताउँछन्। स्थानीय रामकली साहले भनिन्– ‘राजपाकै कारण वैशाख ३१ गतेको चुनाव असार १४ मा पुगिसक्यो। अझै पनि निहुँ खोज्ने हो भने त कसरी जनता समक्ष मुख देखाउने ?’

प्रतिक्रिया दिनुहोस्