भर्ना भएर पनि विद्यार्थी घटे



सरिता चलाउने, सल्यान
प्रदेश नम्बर ६ को सल्यान बन्गाड कुपिण्डे नगरपालिकामा रहेका विद्यालयहरूमा पढाइ छाड्ने विद्यार्थीको संख्यामा वृद्धि हुन थालेको छ। शैक्षिक सत्र २०७३ को भर्ना अभिलेखअनुसार वार्षिक परीक्षा दिने विद्यार्थीको संख्या निकै कम देखिन्छ। भर्ना भएअनुसारका सबै विद्यार्थी वार्षिक परीक्षा दिने समयसम्म नटिक्ने गरेको भेटिएको छ।

मुक्ति मावि हिलेपोखरीमा मात्रै यो शैक्षिक सत्रमा ७० जना विद्यार्थीले पढाइ छाडेको प्रधानाध्यापक नोखराज बीएमले बताए। उनका अनुसार केटाहरू कमाउन भारत जाने र केटीहरू विवाह गरेर जाने भएकाले वार्षिक परीक्षा दिने समयसम्म भर्ना भएका सबै विद्यार्थी पढ्न आउँदैनन्। वालविवाह अनि रोजगारीका लागि भारतको मोहले अधिकांश कक्षा ९ मा पढाइ छाड्ने विद्यार्थी बढिरहेको पाइन्छ।
मुक्ति माविजस्तै कृष्ण मावि लेखसंग्रहीमा पनि कक्षा १ देखि १० सम्मका जम्मा भर्ना भएका ६५ जनाले पढाइ छाडेको विद्यालयका लेखापाल कमल खड्काले बताए। खड्काका अनुसार विशेष गरी कक्षा ९ मै पढाइ छाड्ने संख्या बढिरहेको छ। भर्नादर भन्दा परीक्षा दिने समयसम्म विद्यार्थी कम हुनुमा अभिभावक दोषी रहेको विद्यालयका शिक्षकले बताउने गरेका छन्। पढ्दापढ्दै छोरीलाई विवाह गरिदिनु र छोरालाई पैसाको लोभले मजदुरीका लागि भारततिर पठाइदिनाले यो समस्या आएको अधिकांश विद्यालयले जनाउने गरेका छन्।

त्रिभुवन जनता मावि शंखपीपल च्युरामा पनि गत शैक्षिक सत्रमा कक्षा ९ मा १ सय ३४ जना विद्यार्थी भर्ना भए भने पूरै विद्यार्थीले वार्षिक परीक्षा दिएनन। जहाँ १९ जना विद्यार्थीले कक्षा छाडेको रेकर्ड देखिन्छ। उक्त विद्यालयमा पनि कक्षा १ देखि १० सम्म पढाइ छाड्नेको संख्या ५२ रहेको छ।

त्यसै गरी बजार क्षेत्र मानिएको देवस्थलमा रहेको प्रभाकर माविमा पनि कक्षा छाड्नेको संख्या उल्लेख्य रहेको सहायक प्रधानाध्यापक पुष्कर बिसीले बताए। माविहरू मात्रै नभई अन्य निमाविहरूमा समेत कक्षा छाड्ने विद्यार्थी बढिरहेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्