घरघरमा हतियार भेटिए



नेपाल समाचारपत्र
बाँके
जिल्ला प्रशासन कार्यालय, बाँकेले निर्वाचन अवधिभरि लाइसेन्स प्राप्त हतियार आफ्नो मातहतमा राख्नका लागि दुईपटक हतियार बुझाउन सूचना निकाल्यो। सूचना अवधिमा ९२ जनाले मात्रै हतियार बुझाए।

प्रशासनको अन्तिम सूचना मिति वैशाख १५ गते थियो। धेरै हतियार संकलन हुन नसकेपछि प्रशासनले प्रहरीलाई हतियार खोज्न लगायो। प्रहरीले घरघरमा पुगेर हतियार खोज्दा थप १ सय २६ थान हतियार भेटिए। अहिले प्रशासनको मातहतमा २ सय १८ थान हतियार आएका छन्। दुईपटक सूचना जारी गर्दा पनि अटेर गरेर हतियार नबुझाउनेलाई अब के हुन्छ त ? प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भन्नुभयो– ‘हामीले अनुसन्धान गरिरहेका छौं। सूचना पाएर पनि अटेर गरेकालाई कारबाही हुन्छ।’

प्रजिअ पन्थले सूचना नपाएको या हतियार लिएर हिँड्दा डर मानेको अथवा अरू कुनै कारणले हतियार नबुझाएको हो कि भन्ने बुझ्ने काम भइरहेको बताउनुभयो। ‘हतियार किन बुझाइएन भन्ने कुरालाई तारगेटमा राखेर अनुसन्धान गरिरहेका छौं, सूचना पाएर पनि नबुझाएको पाइएमा कडा कारबाही गर्छौं’ –प्रजिअ पन्थले भन्नुभयो।

बाँकेमा गत वर्ष र यो वर्ष गरेर २ सय ६५ थान हतियार नवीकरण भएका छन्। बाँके प्रशासनले जिल्लामा यति नै हतियार रहेको अनुमान गरेको छ। यद्यपि, जिल्लामा ७ सय ९८ थान हतियार दर्ता भएको रेकर्ड छ। हतियार जुनसुकै जिल्लामा दर्ता र नवीकरण गर्न पाउने भएकाले जिल्लामा दर्ता गरिएको ७ सय ९८ थान नै हतियार यहाँ नरहेको प्रशासनको भनाइ छ। ‘दुई वर्षको नवीकरण हेर्दा ७ सय ९८ थान हतियार नै यहाँ रहेको जस्तो लाग्दैन’, प्रजिअ पन्थले भन्नुभयो– ‘जिल्लामा २ सय ६५ थान आसपासमा हुन सक्छ। जसको नजिक हामी पुगेका छौं।’ बाँके प्रशासन कार्यालयमा भएको रेडर्कलाई हेरेर अहिले पनि प्रहरीले हतियार खोजी गरिरहेको छ। घरघरमा जाँदा भेटिएका हतियार धनीलाई तत्काललाई तारिखमा छोडिएको छ।

स्थानीय तहको निर्वाचनमा लाइसेन्स प्राप्त हतियारको पनि दुरुपयोग हुन सक्ने आशंका गरेर गृह मन्त्रालयले देशभरि नै केही समय यस्ता हतियार संकलन गर्ने निर्णय गरेको थियो। विगतमा आत्मसुरक्षाका लागि लिइएका यस्ता हतियारहरू पछिल्ला दिनमा शिकार खेल्नमा प्रयोग ल्याइएको समेत पाइएको छ। बाँकेमै केही समय पहिला लाइसेन्स हतियार लिएर शिकार खेल्न हिँडेका एक जनालाई प्रहरीले पक्राउ गरेर कारबाही गरेको थियो।

चुनावका क्रममा हुने झगडा, कुटपिट र झडपमा लाइसेन्स प्राप्त हतियारको प्रयोगको जोखिमलाई मध्यनजर गरेर प्रशासनले हतियार संकलन अभियान थालेको भए पनि बाँकेमा हतियार धनीले सहयोग गरेको पाइएन। प्रशासनले कारबाही नै गरेर अर्को पटकलाई पाठ पढाउनुपर्ने अवस्था आएको भुक्तभोगी बताउँछन्।

यसैबीच, प्रमुख जिल्ला अधिकारीले निर्वाचनको मिति सरेसँगै सीमा नाका बन्द हुने दिन पनि सरेको बताउनुभयो। ‘हामीले चुनावको ४८ घण्टाअघि नाका बन्द गर्ने गरी भारतीय अधिकारीहरूसँग सहमति गरेका थियौं, अब त्यो पनि सर्छ’, प्रजिअ पन्थले भन्नुभयो– ‘त्यसका लागि हामीले भारतीय अधिकारीहरूलाई चाँडै नै पत्र पठाइदिन्छौं।’

प्रतिक्रिया दिनुहोस्