यार्सा टिप्दा पाँच लाख जरिवाना



गोरखा, (नेस)
जिल्लाको सामागाउँमा तल्लो क्षेत्रका मानिसले यार्सा गुम्बा टिप्दा पाँच लाख रुपियाँ जरिवाना तिर्नुपरेको छ। जिल्लाको गुम्दा र लाप्राकका युवाहरूले सामागाउँको लेकमा यार्सागुम्बा टिप्दा पाँच लाख जरिवाना तिर्नु परेको हो। सामागाउँबासीले पूजाआजा गर्ने क्षेत्रमा गाउँलेको अनुमतिबेगर यार्सा टिपेको भनेर उनीहरूलाई जरिवाना लगाएको मनास्लु संरक्षण क्षेत्रले जनाएको छ।

यार्सा टिप्न गएका लाप्राक र गुम्दाका नौ जना युवामध्ये पाँच जनालाई सामागाउँबासीले नियन्त्रणमा राखेका थिए। पक्राउपछि पाँच जनालाई प्रतिव्यक्ति एक⁄एक लाख रुपियाँ जरिवाना तिराएका हुन्। ‘लाप्राकका लंदुर, उतिनलाल, सुवास र रवि गुरुङ, त्यस्तै गुम्दाका जितबहादुर, मानबहादुर र तन्दुर गुरुङलगायतका युवाहरू यार्सा टिप्न गएको गाउँलेले थाहा पाएछन्’, मनास्लु संरक्षण आयोजनाका अजित तुम्बाहाङफेले टेलिफोनमा भने– ‘त्यहाँ जानेमध्ये पाँच जनालाई स्थानीयले पक्राउ गरेका हुन्। उनीहरूलाई गाउँलेले आफ्नै निगरानीमा राखे। पाँचै जनालाई जरिवाना तिर्ने गरी छोडेको भन्ने जानकारी आएको छ।’ सामागाउँबासीले सो घटनाबारे स्थानीय सामा प्रहरी चौकीलाई समेत जानकारी दिएनन्। स्रोतका अनुसार उनीहरूले जम्मा ४९ वटा यार्सा गुम्बा टिपेका थिए।

प्रतिक्रिया दिनुहोस्