९ स्थानीय तहमा एकमात्र महिला महिलाले पाएनन् कि चाहेनन् ?



विलम विष्ट, डोटी

आन्दोलनको बलमा जस्तोसुकै कानुन बनाउन तयार हुने नेपालका राजनीतिक दलहरू बनेको कानुन कार्यान्वयन गर्नमा सधैं पछि पर्छन् भन्ने प्रमाण डोटीमा देखिएको छ। स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने नीतिगत व्यवस्थालाई डोटीका दलहरूले उपप्रमुखमा मात्रै सीमित गरिदिएका छन्। डोटी जिल्लाका नौ स्थानीय तहको निर्वाचनका लागि चार दलले उम्मेदवारको टुंगो लगाउँदा एक महिलाले मात्रै प्रमुखको उम्मेदवारी पाउनुभएको छ।

नेकपा एमालेले दीपायल सिलगढी नगरपालिकाको प्रमुखमा मञ्जु मलासीलाई उम्मेदवार बनाएको छ। एमाले डोटी जिल्ला कमिटी उपसचिवसमेत रहनुभएकी मलासीको नाम २०७० सालको संविधानसभाको निर्वाचनमा एमालेको समानुपातिकतर्फको बन्दसूचीमा पनि समावेश भएको थियो। तर, त्यतिबेला उहाँ सभासद् हुन सक्नुभएन। अन्य स्थानीय तहमा पनि प्रमुखका आकांक्षी महिलाहरू रहेका भए पनि मलासीबाहेक एमालेले अरूलाई उम्मेदवार दिन सकेन।
हालसम्म उम्मेदवारी तय गरेका अन्य तीन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले कुनै पनि स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार उठाएका छैनन्। न त अब उम्मेदवारी दिने दलहरूले महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने सम्भावना देखिएको छ।

आफूहरूले महिलालाई प्रमुख बनाउनका लागि धेरै गृहकार्य गरेको भए पनि निर्वाचन जित्नका लागि सशक्त उम्मेदवार चाहिने भएका कारण छान्न नसकिएको नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘केही महिला साथीहरू आकांक्षी पनि हुनुहुन्थ्यो तर लामो समयदेखि स्थानीय तहको निर्वाचन नभएकाले पार्टीभित्रका पुराना नेताहरूलाई उम्मेदवार बनाउनुपर्ने अवस्था आयो, यो हाम्रो बाध्यता पनि हो।’

उहाँका अनुसार पार्टीभित्र नेतृत्वदायी भूमिका निर्वाह गरेका पुरुषहरूको संख्या बढी भएकाले यसपटक सबै ठाउँमा महिलालाई उपप्रमुखमा राख्नुपर्ने अवस्था आएको हो। नेकपा एमालेले जिल्लाकै सवैभन्दा ठूलो स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार उठाएकाले अन्य दलहरूभन्दा एमाले अग्रगामी रहेको नेकपा एमाले डोटीका अध्यक्ष चक्रबहादुर मल्लको दाबी छ। उहाँ भन्नुहुन्छ– ‘अन्य स्थानीय तहमा महिलाहरू स्वयं उपप्रमुखका लागि तयार भएर आएका कारण महिलाहरूलाई उपप्रमुमखमै उठाउनुपरेको हो।’

त्यस्तै पार्टीभित्र रहेका महिलाहरूले प्रमुख बन्ने तदारुकता नदेखाएका कारण पार्टीले महिलालाई प्रमुख पदमा ल्याउन नसकेको राष्ट्रिय जनमोर्चा डोटीका सचिव केशवनाथ योगीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘चुनावको बेलामा पार्टी उम्मेदवारीका लागि महिला खोज्दै हिँड्ने कुरा भएन, पारिवारिक कारणले हो वा अन्य कुनै कारणले हो पार्टीभित्र भएका महिलाहरूले त्यो आँट गर्न सकेनन्।’

आफूहरूले दीपायल सिलगढी नगरपालिकाको प्रमुखमै महिला उम्मेदवार खडा गर्न चाहेको भए पनि त्यो सम्भव नभएको उहाँले बताउनुभयो। दलहरूले अहिले पनि महिलालाई राजनीतिमा विश्वास नगरेको देखिएको बताउनुहुन्छ महिला तथा बालबालिका कार्यालय, डोटीका प्रमुख निर्मला दाहाल। उहाँ भन्नुहुन्छ– ‘पार्टी संगठनभित्रै दलहरूले महिलालाई अवसर दिएनन् जसका कारण उनीहरूले आफ्नो नेतृत्व क्षमता बढाउन सकेनन्।’ महिलाहरूको नेतृत्व विकास गर्ने विषयमा दलहरूले ध्यान दिनुपर्ने दाहालको भनाइ छ।

महिलाहरू सक्रिय र सक्षम रहे पनि डोटीमा दलहरूबाटै महिलाहरूलाई पाखा लगाउने काम भइरहेको महिला अधिकारकर्मी गीता नेपालीले बताउनुभयो।

महिला मतदाता बढी
डोटी, (नेस)। दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनमा डोटी जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको संख्या ८ हजार ६ सय ९१ बढी रहेको छ।
जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लाको कुल मतदाता संख्या १ लाख ८ सय ८७ मध्ये पुरुष ४६ हजार ९८ जना र महिला ५४ हजार ७ सय ८९ रहेका छन्। डोटी जिल्लामा निर्वाचनका लागि १ सय ५५ मतदान केन्द्रको व्यवस्था गरिएको छ भने मतदानस्थल कति छन् भनि अहिले यकिन हुन नसकेको डोटी जिल्लाका मुख्य निर्वाचन अधिकृत नरनारायण पौड्यालले बताउनुभयो।
निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मीबाहेक झण्डै ९ सय कर्मचारी आवश्यक पर्ने देखिएको पौड्यालले जानकारी दिनुभयो। दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरू भएसँगै निर्वाचन कार्यालयले तयारीसमेत तीव्र पारेको छ।

२ हजार २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको डोटी जिल्लामा मुख्यरूपमा बाहुन, क्षत्री, नेवार, ठकुरी, दलितलगायतको बसोबास रहेको छ।

प्रतिक्रिया दिनुहोस्