छुट्टाछुट्टै दुर्घटनामा १८ घाइते



नेपाल समाचारपत्र
दमौली
तनहुँमा मंगलबार दुई छुट्टाछुट्टै दुर्घटनामा परी १८ जना घाइते भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–११ कमलबारीमा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ना४ख २७३२ नम्बरको ट्रकले मोटरसाइकल, पर्यटक बस, तेल ट्यांकर र माइक्रोलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। सो दुर्घटनामा घरमा पनि क्षति भएको छ।

ट्रकको ब्रेक फेल हँुदा ट्रकले विपरीत दिशाबाट गइरहेका ग११प ५३२ नम्बरको मोटरसाइकल, ग१प १३६२ नम्बरको पर्यटक बस, ना४ख ३४१२ नम्बरको तेल ट्यांकर र बा२ख १४१० नम्बरको माइक्रोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको र सोही दुर्घटनामा घाइते भएका वर्ष ४२ का मनोज आलेलाई भने पोखरास्थित फिस्टेल अस्पतालमा पठाइएको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए।

त्यसै गरी तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गुणादीमा मंगलबार यात्रुवाहक माइक्रो दुर्घटना हुँदा माइक्रोमा सवार १५ जना यात्रु घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग१ख ४९५२ नम्बरको माइक्रो दुर्घटना भएको हो। सो दुर्घटनामा गम्भीर घाइते भएका २ जना यात्रुलाई पोखरास्थित मणिपाल अस्पताल पठाइएको र ६ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले बताएको छ। अन्य यात्रुहरू अवस्था सामान्य रहेको छ।

पानी परेकाले सडक चिप्लो भएको समयमा माइक्रोको गति तीव्र भएकाले सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य यात्रुहरूको अवस्था भने सामान्य रहेको र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्