रोलान्ड ग्यारोसमा अर्को स्तब्ध नतिजा



पेरिस, (एजेन्सी)
पेरिसमा जारी फ्रेन्च ओपनमा उपाधि दाबेदारमध्ये रहेकी ब्रिटिस नम्बर एक खेलाडी योहाना कोन्टा पहिलो चरणबाटै बाहिरिएकी छन्।

मंगलबार कोन्टालाई ३१ वर्षीया ताइवानकी सु वेई हसीहले तीन सेटमा पराजित गरेकी हुन्। यो तीन दिनमा प्रतियोगितामा निस्केको दोस्रो स्तब्ध नतिजा थियो। सु वेईको यो करिअरकै सर्वश्रेष्ठ नतिजा पनि थियो। उनले पहिलो पटक शीर्ष १० भित्रका खेलाडीलाई हराएकी थिइन्। कोन्टा विश्व वरीयताकी आठौं नम्बर खेलाडी हुन्। यसअघि प्रतियोगिताको पहिलो दिनमै विश्व नम्बर दुई जर्मनीकी एन्जेलिक केर्बर पराजय बेहोरेर बाहिरिएकी थिइन्।

यस प्रतियोगितामा सातौं वरीयता प्राप्त कोन्टाले पहिलो सेटमा वर्चस्व बनाए पनि खेल १–६, ७–६, ६–४ ले गुमाउन पुगिन्। ताइवानी खेलाडीसँग २६ वर्षीया कोन्टाले करिब २ घण्टा १५ मिनेटसम्म संघर्ष गरेकी थिइन्। योसँगै उनी रोलान्ड ग्यारोसमा लगातार तीन वर्ष पहिलो चरणमै सीमित भएकी छिन्। कोन्टा पराजितपछि वर्षको ग्रान्डस्लाम प्रतियोगितामा ब्रिटिस महिला खेलाडीको चुनौती पनि समाप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्