केटाकेटी खेल ?



सरकारले दोस्रो पटक सारेको निर्वाचन फेरि पनि सार्ने तयारी गरेको सुनेर धरहरा वरपर धेरैले यसलाई केटकेटी खेलको संज्ञा दिएको पाइएको छ। होइन यो सरकार पनि कस्तो हो कहिले मुलुकका राष्ट्रिय पर्व पर्दछन् त्यो थाहा पाउनुपर्ने होइन? अब रमजानको मुख्य कारणले निर्वाचन सार्नुपर्ने भएको छ। कि चाहिँ निर्वाचनको तिथि अझै अगाडि सारिए हुन्थ्यो तर अझै पछाडि सार्ने तारतम्य मिलाउन थालिएको छ।

पहिलो चरणको निर्वाचन गराएर र राजनीतिक सहमतिअनुसार पद त्याग गरेर राम्रो छवि बनाएका पुकदाले आफ्नो इज्जत केही दिन पनि टिकाउन नसकेर होचिने क्रममा पुगेको उनका आफन्तहरुले नै बताउन थालेका छन्। सोच्ने हो कि कमरेड पुकदा?

नत्र अवरुद्ध
भरतपुर काण्डले गर्दा पनि मुलुकमा अहिले चर्चा भइरहेको छ। त्यहाँ भएजस्तो घटनामा पनि पुनः निर्वाचन गराउँदै हिँड्ने हो भने त मुलुकमा कहिल्यै पनि मतदान हुन छोड्दैन भन्ने धेरैको अनुमान रहेको छ। किनकि कसैलाई रिस उठेर एउटा मतपत्र च्यातिदियो वा पानी पोखिदियो भने फेरि मतदान गर्नुपर्छ। वर्षा याममा त्यसै पनि पानी पर्न सक्छ। अनि कहिलेसम्म निर्वाचन गरिरहने? यो त अर्को गाईजात्रा हुने निश्चित छ। त्यसैले, च्यातिएका मतलाई जसको पक्षमा भए पनि रद्द गरेर त्यस्तो कार्यमा संलग्नलाई कारबाही गरी बाँकी मत गन्नुभन्दा अर्को राम्रो विकल्प देखिँदैन। चुनाव लड्नु पनि छ अनि फेरि जित्नै पर्ने जिद्दी पनि ।

जित्नै पर्ने जिद्दी गर्ने हो भने त किन चुनाव गर्नु? पहिला नै कार्यकारी प्रमुख बनाएर आफ्ना कार्यकर्तालाई नियुक्त गरे भइगयो नि। सरकारले यसमा पनि गल्ती गरेको छ। अर्कातर्फ विपक्षीको गनगन पनि अचाक्ली देखिन थालेको छ। सो प्रकरणमा आफूले भनेअनुसार नभए संसद अवरुद्ध रे। जेमा पनि किन अवरुद्ध? केही दिनअघि बजेट ल्याउँदा पनि महाअभियोग फिर्ता नगरे अवरुद्ध भनेर धम्क्याएको भन्ने धरहरा वरपर गाइँगुइँ थियो। अनि सधैं यसै गरी धम्क्याउने हो भने अरू दलले भोलि के सिक्ने? उसलाई पनि कुनै दिन सदन चाहिएको बेलामा यसै गरी स्टेप–स्टेपमा सदन अवरुद्ध भयो भने? कस्तो सोच्दै नसोची पहिला मधेसी दलका केही नेताले धम्क्याएको शैलीमा सदन अवरुद्ध गर्छौं भनेर धम्क्याउन प्रमुख विपक्षी जस्ता जिम्मेवार दलले मिल्ने रहेछ। कुरा नबुझेर धरहरा हैरान छ है पाठकवृन्द⁄

प्रतिक्रिया दिनुहोस्