भरतपुर प्रकरण – तीन पूर्वप्रधानमन्त्री अचानक आयोगमा



काठमाडौं, (नेस)। चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानविन गर्न नेकपा एमालेको उच्चस्तरीय टोलीले मंगलबार निर्वाचन आयोगलाई दबाब दिएको छ।
आयोगको कार्यालय कान्तिपथमा पुगी सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितको टोलीले प्रमुख आयुक्त डा. यादव र आयुक्तलाई भेटी सो घटनाका नाममा पुनः मतदानतर्फ जाँदा निर्वाचनको प्रणाली र मूल्य मान्यतामा नै प्रश्न उठ्ने भएकाले च्यातिएका मतलाई अलग राखेर गणना गरी परिणाम घोषणा गर्न सकिने जनाएको छ।

भेटपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मतपत्र च्यात्ने कार्यमा संलग्नलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिइसकेकाले सो घटनालाई गणनास्थल कब्जाका रूपमा लिन नपर्ने बताउँदै कब्जा भएको अवस्थामा मात्र पुनः मतदानमा जाने कानुनी व्यवस्था भएको जिकिर गर्नुभएको थियो। सो भेटघाटमा एमालेका नेताहरू वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवालीसमेत सहभागी हुनुभएको थियो। यसैबीच एमालेका महासचिव ईश्वर पोखरेलले पनि मंगलबार चितवनमा एक पत्रकार सम्मेलनको आयोजना गरी मतपत्र च्यात्ने काम कसले गरेको भनेर खुलिसकेकाले त्यो घटनाको नाममा पुनः मतदान गराउने कुरा हुन नसक्ने बताउँदै तत्काल मतगणना थाल्न आग्रह गर्नुभएको थियो। उहाँले यसै गरी हार्ने अवस्थामा मतपत्र च्यातेको अवस्थामा पुनः मतदान गर्दै जाने हो भने दोस्रो चरणको निर्वाचनमा यस्ता घटना बारम्बार दोहोरिन सक्ने चेतावनीसमेत दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्