हाम्रो राजनीतिक संस्कार र हामी



मुक्तिबन्धु

म्रा संस्कृतिमा धेरै घटकहरु छन्। ती घटकहरुले प्रतिनिधित्व गर्ने विम्बहरु पनि छन्। पशुपतिको साँढे र भक्कुको राँगो पनि विम्बात्मक महत्व बोकेका सांस्कृतिक घटकहरु हुन्। धार्मिक र राजनीतिक संस्कृतिको कतिपय स्वभाव मिल्छ। यसैले यदाकदा धर्मले राजनीतिको र राजनीतिले धर्मको रुप लिएको पनि देख्न पाइन्छ। पुरेत र राजनेता आपसमा साटिएका र एकाकार भएका इतिहास पनि दुनियाँमा छन््। पशुपतिका साँढे र भक्कुको राँगो आपसमा साटिएको दृष्टान्त भने इतिहासमा भेटिएको छैन। यसै त किसानका दाहिने र देब्रे दुईवटा गोरु आपसमा ठाउँ साटेर हलो तान्न आज पनि सक्दैनन्। तर नेपालको नयाँ राजनीतिमा पुष्पकमल ‘प्रचण्ड’ र शेरबहादुर देउवा भने एउटै राजनीतिक हलोमा नारिन सक्छन्। पालैपालो प्रधानमन्त्री हुन पनि सक्छन्। आपसमा साटिन पनि सक्छन्। अनुमान गर्नेहरु भन्छन्– यहाँ अब पशुपतिका साँढे र भक्कुका राँगाले पनि आपसमा भूमिका साटासाट गर्न सक्छन्। नयाँ नेपालको नयाँ संस्कृतिमा जे पनि सम्भव छ।

कति संस्कार–संस्कृति फेर्न सकिन्छन्। सही लाग्दा कुनै बाटो समात्न सकिन्छ भने गलत लाग्दा छोड्न पनि सकिन्छ। संयम भएन भने पुनः गलत बाटो समात्न पनि सकिन्छ। यसैमा हाम्रा महर्षिहरुले संयमको आवश्यकता दर्शाएका हुन्। हामीकहाँ रत्नाकर वाल्मीकि बनेका कथा छन्। अब वाल्मीकि रत्नाकर बन्न पनि सक्छन्। रक्सी–चुरोट छोडेर फेरि समात्नेहरु छन्। परम्परागत संस्कार पखालेर नयाँ समात्नेहरु छन्। हिजो कुखुरा र रक्सी नछोएरै हुर्के पनि आज तिनै परिकार नभई भागै नबस्नेहरु छन्। खोजी–खोजी मद्यपायी संगत समारोहहरुमा सहभागी हुनेहरु छन्। म बिन्तीपत्र चढाएर पुरानो संरचनामा आएको थिइनँ भन्दै ङिच्चताका साथ बाध्यता पोख्नेहरु छन््। यति हुँदा पनि अपेक्षित रुपमा रुपान्तरित हुन नसकेकाहरु छन्। कसैलाई आफ्ना दुई आँखाको बीच मुखैमाथि उभिएको चुच्चो नै महान् रुपान्तरण अभियानमा पर्खाल बनेको छ। चाहेर पनि संरचना बदल्न सकेका छैनन्। कांग्रेस, कम्युनिस्टहरु यतिसम्म बदलिँदा र नेपाल पुनःसंरचनामा पुग्दा पनि यी बदलिन बाँकीहरु कहिले बदलिने हुन् ? अझै भन्न सकिने अवस्था छैन।
जनजातीय इतिहास त बाहुनको पनि छ। वेदमा कति ऋषि–महर्षिहरुले आफ्नो जनजातीय संस्कृति गुमेकोमा दुःख व्यक्त गरेका ऋचाहरु पढ्न पाइन्छन्।

बाहुनहरु जनजातीय स्थितिबाट कथित सभ्यतातिर वैदिक कालमै अघि बढेका हुन्। नेपालमा पूर्व वैदिक बाहुनहरुको पनि ठूलो संख्या छ। खसहरुको संख्या त्यत्तिकै छ। आज नेपाली समाजमा साँच्चिकै जनजातीय स्थितिमा रहेको समुदायचाहिँ कुन छ ? जवाफ खोज्नतिर लागेर पाएको सहुलियत छोड्न कसैलाई ग्राह्य छैन। सबैलाई पुरानो पहिचानको नयाँ मूल्याङ्कन चाहिएको छ। सहुलियत र उन्मुक्ति चाहिएको छ। परिवर्तनको यो नयाँ स्वरुप अनौठो छ। वर्तमान सरकारले कति बीभत्स र नृशंस हत्या घटनाका मुद्दा फिर्ता लिएको पढ्न र सुन्न पाउँदासम्म शताब्दीयौंअघिका अनुमानमा आधारित पौराणिक मुद्दाहरु भने यथावत् छन्। नेपालको नील गगनमा जातीयता र क्षेत्रीयताका नारा अझै गुन्जायमान छन्। तास्ने र चाट्ने गुन्जन बाँकी नै छ।

एउटा समय थियो, जातजातिजनित भेदभाव मेटाउने आकाङ्क्षाअनुरुप कमरेड पुष्पलालले आफ्नो नामपछाडि श्रेष्ठ जोड्न छोड्नुभयो। श्यामप्रसादले शर्मा जोड्न छोड्नुभयो। धेरै कम्युनिस्ट नेता कार्यकर्ताले त्यसको अनुशरण गरे। जातीय संघर्ष होइन, जातीय अन्तर्घुलन नै नेपालको आवश्यकता हो भन्ने सोच राखेर लेखे, बोले, आचरणमा परिवर्तन ल्याए। आज त्यसै विरासतका कम्युनिस्ट नेता कार्यकर्ताहरु जातीय पहिचानका नाममा मध्यकालीन अन्धकारका विभाजन, विभेद र विद्वेषलाई पुनर्जागृत गर्ने प्रयत्नमा खटेका भेटिन्छन्। यस विडम्बनाको सूत्राधार को ? यसको खोजी गर्ने मुद्दा अदालत नपुग्दै फिर्ता लिने काम भइरहेको छ। आज बरु समाजमा हराइसकेका नीति र संस्कृतिका पुनर्निर्माण कारखाना थालिएका छन्।

किसानका दाहिने र देब्रे दुईवटा गोरु आपसमा ठाउँ साटेर हलो तान्न आज पनि सक्दैनन्। तर नेपालको नयाँ राजनीतिमा पुष्पकमल ‘प्रचण्ड’ र शेरबहादुर देउवा भने एउटै राजनीतिक हलोमा नारिन सक्छन्। पालैपालो प्रधानमन्त्री हुन पनि सक्छन्। आपसमा साटिन पनि सक्छन्। अनुमान गर्नेहरु भन्छन्– यहाँ अब पशुपतिका साँढे र भक्कुका राँगाले पनि आपसमा भूमिका साटासाट गर्न सक्छन्। नयाँ नेपालको नयाँ संस्कृतिमा जे पनि सम्भव छ।

इशाको चौधौं शताब्दीमा इटालीका मानवतावादी कवि पेत्रार्काले त्यहाँका जनतालाई आफ्नो अतीत हेर्ने, बुझ्ने नयाँ दृष्टि दिएका थिए। अतीतको अन्धकार होइन प्रकाशलाई पहिल्याएर वर्तमान उजिल्याउन प्रयत्न गर्ने जोश–जाँगर दिएका थिए।

उनले मध्यकालीन इशाई पुरेत संस्कृतिको परम्पराखण्डलाई हजार बर्से अन्धकार युग घोषणा गरेका थिए। मानिसले रुढि र मिथ्या नैतिकबन्धनहरुबाट मुक्त रहेर जीवन र जगत्को सौन्दर्य निहार्नुपर्छ। अकुण्ठित रुपमा खुलेर यसलाई माया गर्नुपर्छ। यसलाई अझ सुन्दर र अमर बनाउनका लागि यशस्वी कामहरु गर्नुपर्छ भन्ने दृढ तर्क राखेका थिए। उनको दृष्टि मानवकेन्द्रित थियो। यसैले आधुनिक थियो।

बिल डुराँले लेखेका छन्– ‘इशाई धर्मका सन्तभन्दा सुकरात, प्लेटो कैयौं गुणा मानवतावादी छन्। ग्रीक पादरीहरुका तुलनामा ग्रीक दार्शनिकहरु कैयौं गुणा महान् छन्।’ इशापूर्व पाचौं शताब्दीका लेखक प्रोता गोरसले भनेका छन्– प्रत्येक राज्यले आफ्ना नागरिकका लागि कानुन, नैतिक नियम र शासनको स्वरुप आफैं तय गर्नुपर्छ।
ब्राउनले लेखेका छन्– ‘जुन छविले पश्चिमलाई सबैभन्दा बढी उत्तेजित गर्यो त्यो हक्र्युलसको छवि थियो। ग्रीक पुराणको नायक हक्र्युलस यद्यपि मनुष्य थियो। उसका वीरता र पराक्रमको यत्रतत्र प्रशंसा गरिएको छ। हक्र्युलस कसैसँग शरण माग्दैन। आफ्नो बाटो आफैं छान्छ। प्राचीन ग्रीक कथाले आफ्नो बाटो आाफैं छान्ने मानवीय क्षमता र विवेकमा विश्वास गर्छ।’

हामीसँग पनि अनगिन्ती कथा–पुराणहरु छन्। वेद, जातक र मुन्धुमहरु छन्। विश्वामित्र, व्यास, वाल्मीकि, अंगिरा, कपिल, कणाद र गौतम बुद्धजस्ता महापुरुषहरु छन्। हामीसँग पनि इतिहासमा अपराजेय धैर्य र साहसका शहीद वीरवीरांगनाहरु छन्। हामी तिनीहरुबाट प्रेरणा र प्रकाश लिन सक्दैनौं ? आज पनि हामी सामान्यभन्दा सामान्य समस्यामा समेत समाधानको पथप्रदर्शन लिन कपाल कन्याउँदै हस्तिनापुर पुग्छौं ? लाग्छ, कति कुरामा हामी अझै पशुपतिका छाडा साँढे र भक्कुका राँगाको पुरानै युगमा छौं।

 

प्रतिक्रिया दिनुहोस्