सहमतिको सरकार नबन्ने भो



नेपाल समाचारपत्र
काठमाडौं
कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठनका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले मंगलबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालले बहिष्कार गरेको छ। भावी सरकारको नेतृत्व लिन अग्रसर रहनुभएका सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमाको अघिल्लो दिन गरेको प्रयास असफल भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले जेठ ११ गते दलहरूलाई सात दिनभित्र राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो।

नेपालको संविधानको धारा २९८ को उपधारा २ बमोजिम सहमतीय सरकार गठनका निम्ति राष्ट्रपतिबाट आह्वान भएअनुसार सभापति देउवाले सहमतीय सरकार गठनका लागि मंगलबार व्यवस्थापिका–संसद् भवन नयाँ वानेश्वरमा सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो। राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै छ।

कांग्रेस सभापति देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी (केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाल कम्युनिस्ट पार्टी संयुक्त, थरुहट तराई पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), जनजागरण पार्टीलगायत दलहरूका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सो बैठकमा नेकपा माओवादी केन्द्रलगायत केही दलले संविधानको कार्यान्वयन र सर्वस्वीकार्यतालगायत मुलुकका अन्य ज्वलन्त समस्याहरूको समाधान गर्न राष्ट्रिय सरकारको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग र समर्थन गर्न आफूहरू तयार रहेको धारणा राखेका थिए। बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कांग्रेससंगको सहमतिअनुसार नै आफूले राजीनामा दिएको भन्दै आफ्नो समर्थन कांग्रेसलाई रहेको बताउनुभएको थियो।
नेपाली कांग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेले जानकारी दिएअनुसार राप्रपाका अध्यक्ष कमल थापाले आफ्नो दलको मत प्रतिपक्षमा रहेको धारणा राख्नु भएको थियो। बैठकमा सभापति देउवाले उपस्थित सबै दलका नेताहरूलाई धन्यवाद दिदैं नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागिसहयोगको अपिल गर्नुभएको कांग्रेस संसदीय दलका सचिव वाग्लेले बताउनुभएको छ।

राष्ट्रपतिले दिएको समय सीमाभित्र सहमतीय सरकार गठन हुन नसके बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्रीको निर्वाचन हुनेछ। बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित हुन व्यवस्थापिका संसद्मा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्