चुनाव सर्यो, असार ९ गते हुने



सुनील महर्जन, काठमाडौं
६ वटा अलग–अलग मधेसवादी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा सहभागी गराउन सरकारले दोसो चरणको निर्वाचन पुनः ९ दिन पछि सारेको छ।

यसअघि वैशाख ११ गते दोस्रो चरणको निर्वाचन जेठ ३१ गते तय गरिएको थियो। यसलाई परिवर्तन गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार ९ गते शुक्रबार दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको हो। आन्दोलनको घोषणा गरेको राजपालाई चुनावमा सहभागी गराउन निर्वाचनको मिति सारिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘असहमतिमा रहेका दलहरूलाई सहभागी गराउन मुस्लिम धर्मावलम्बीको महान् पर्व रमजानलाई समेत ध्यानमा राखेर निर्वाचन मिति सारिएको हो।’

राजपाले निर्वाचनमा सहभागी हुन दल दर्ता र चुनाव चिह्न आवश्यक रहेको बताएपछि उनीहरूलाई समेट्न कानुन संशोधनको प्रक्रियामा सरकार गएको हो।
सामान्यतया वर्षा लागेपछि चुनाव गराउन नसकिने भए पनि असार ९ गते चुनाव गराउनुपर्नेलाई ‘विशेष परिस्थितिको उपजका रूपमा’ निर्वाचन आयोगले लिएको छ।

दोस्रो चरणको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरी फिल्डस्तरीय तयारी गर्न लागेको अवस्थामा दोस्रो चरणको निर्वाचनको मिति हेरफेर गरिएको हो।

आइतबार तीन दलबीच भएको छलफलमा राजपालाई चुनावमा सहभागी गराउन मिति सार्ने सहमति भएको थियो। दलहरूबीच यस्तो सहमति भएपछि निर्वाचन आयोगले पूर्वनिर्धारित समयभन्दा एक सातापछिको मिति उपर्युक्त हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएको निर्वाचन आयुक्तहरूले बताएका छन्।

मन्त्रिपरिषद्को बैठक हुुनुभन्दा केही समयअघि प्रधानमन्त्री ‘प्रचण्ड’ र प्रमुख निर्वाचन डा. अयोधिप्रसाद यादवसहित निर्वाचन आयुक्तहरूबीच भएको छलफलमा आयुक्तहरूले निर्वाचन एक सातासम्म सार्न सकिने, त्यसभन्दा पछि वर्षाको कारण निर्वाचन गर्न नसकिने धारणा राखेको बुझिएको छ। निर्वाचन सार्ने बेलामा पनि मतपत्र, मतदाता नामावली र दलीय चुनाव चिह्न परिर्वतन गर्न नसकिने अडान प्रधानमन्त्रीसमक्ष राखेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।
निर्वाचन मिति सारेसँगै निर्वाचन कार्यतालिका पनि हेरफेर हुने भएको छ। यसअघि आयोगले यही जेठ १९ गते उम्मेदवार मनोनयनपत्र दर्ता गर्नेदेखि लिएर चुनाव चिह्न वितरण गर्नेसमेत कार्यक्रम तय गरेको थियो। आयोगले त्यसलाई परिर्वतन गर्दै अर्को कार्यतालिका प्रकाशित गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्