प्रतिव्यक्ति आयमा वृद्धि, ऋणभार पनि घट्यो



नेपाल समाचारपत्र
काठमाडौं
आइतबार संसदमा प्रस्तुत आर्थिक सर्वेक्षण अनुसार नेपालीको प्रतिव्यक्ति आय ८ सय ६२ अमेरिकी डलर पुगेको देखाएको छ। संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले नेपालीको प्रतिव्यक्ति आय १ सय ५ डलरले बढेको जानकारी दिनुभएको हो।

त्यस्तै अघिल्लो आर्थिक वर्षमा प्रतिव्यक्ति कूल र्गाहस्थ उत्पादन अमेरिकी डलर ७ सय ४६ रहेकोमा चालू आवमा बढेर ८ सय ५३ अमेरिकी डलर पुगेको छ। चालू आवको उच्च आर्थिक वृद्धिका कारण अमेरिकी डलरमा प्रतिव्यक्ति आय बढेको सर्वेक्षणमा उल्लेख छ।

आव २०७३⁄७४ मा यथार्थ प्रतिव्यक्ति कूल खर्चयोग्य आम्दानी गत वर्षको तुलनामा ३ दशमलव ६ प्रतिशतले वृद्धि भई ३९ हजार १ सय ४२ रुपियाँ पुगेको छ। स्थिर मूल्यमा भने भने प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन गत वर्षको तुलनामा ६ दशमलब १ प्रतिशतले बढेर २८ हजार ७ सय २३ रुपियाँ रहने अनुमान गरिएको छ। अर्कोतर्फ प्रत्येक नेपालीको ऋणको भार घटेको छ। गत आर्थिक वर्षको तुलनामा चालू आव प्रतिनेपालीको ऋण ४ सय १० रुपियाँ घटेर २१ हजार ७ सय ४९ रुपियाँमा झरेको छ। गत आर्थिक वर्ष नेपालीको टाउकोमा प्रतिव्यक्ति २२ हजार १ सय ५९ रुपियाँ ऋण थियो। नेपालको आन्तरिक र बाह्य गरी कुल ६ खर्ब २४ अर्ब ५० करोड रुपियाँ ऋण छ। यसलाई २ करोड ८७ लाख जनसंख्याले भाग गर्दा प्रतिव्यक्ति ऋण २१ हजार बढी देखिएको हो।

यसमध्ये आन्तरिक ऋण २ खर्ब ३३ अर्ब २० लाख र वैदेशिक ऋण ३ खर्ब ९१ करोड ३० लाख रुपियाँ रहेको छ। नेपालले तिर्नुपर्ने ऋण कुल गार्हस्थ उत्पादनको २४ प्रतिशत छ। १० वर्षअघि यो ४६ प्रतिशत थियो। जीडीपीको आकार बढेपछि घट्दै गएको सर्वेक्षणमा देखिएको हो।

त्यस्तै आव २०७३⁄७४ को ८ महिनामा विप्रेषण आप्रवाह ५ दशमलब ३ प्रतिशतले बढ्दै ४ खर्ब ५० अर्ब पुगेको छ। गत आवमा कूल गार्हस्थ उत्पादनसँग विप्रेषणको अनुपात २९ दशमलव ६ प्रतिशत पुगेको थियो।

चालू आर्थिक वर्षको आर्थिक वृद्धिबाट रोजगारी वृद्धिदर ३ प्रतिशतभदा माथि रहने प्रक्षेपण गरिएको छ। चालू आवको प्रथम ८ महिने अवधिमा श्रम स्वीकृती लिई १ लाख ८६ हजार १ सय ६६ जना वैदेशिक रोजगारीमा गएका छन्। तालिम प्राप्त भई रोजगारीमा जानेको संख्या भने २४ दशमलव ५ प्रतिशत रहेको देखिएको छ।
त्यस्तै ८ महिनामा विद्युत् आपूर्ति १०५ दशमलव ६१ मेगावाटले बढेर ९ सय ६१ मेगावाट पुगेको, कुल सडक बिस्तार २९ हजार १ सय ५३ किमि भएको छ। त्यस्तै सन् २०१६ मा ४० प्रतिशतले पर्यटक आगमन बढेर ७ लाख ५३ हजार पुगेको छ।

प्रतिक्रिया दिनुहोस्