रामकोट डाँडामा रुकमान र निशाको रोमान्स



फूलै राखी हातैमा बिन्ती बिसौं कि
भेट भो आज मौकैले साथै लैजाउँ कि
भेटै भाको आजै हो के भनी बोलाउँ
जान्न मायाँ साथैमा छोडी आफ्नो गाउँ।
गायक राजेशपायल राई र गायिका ममता राईद्वारा गाइएको यो युगल गीतमाथि म्युजिक भिडियो निर्माण गरिएको छ। राजधानीको रामकोटमाथि डाँडामा यो गीत गुञ्जिँदा सिमसिमे पानी र हुस्सु छाइरहेको थियो। तर, म्युजिक भिडियोको सुटिङ युनिट भने त्यसैमा रमाउँदै काम अगाडि बढाइरहेको थियो।

पूर्वेली लयको यो युगल गीतको म्युजिक भिडियोमा गायक तथा मोडल रुकमान लिम्बुले मोडल तथा अभिनेतृ निशा लिम्बु पोमुलाई हातैमा फूल थमाएर जिस्काउँदै थिए। जसका कारण सुटिङस्थल रोमाञ्चक बन्न पुगेको थियो।
शनिबार रामकोट टावर वरिपरि मगर गाउँमा खिचिएको म्युजिक भिडियोको सुटिङस्थल पूर्वेली गाउँ–ठाउँ र लय सुहाउँदो भएकाले त्यहाँ खिचिएको भिडियोका निर्देशक पत्रकार एमपी सुब्बाले बताए। गीतको मर्मअनुसार यस गीतको भिडियोमा रुकमान र निशालाई अभिनय गराएको निर्देशक सुब्बाले बताए। ‘यो पूर्वेली कलासँग जोडिएको गीत हो। यस गीतका लागि रुकमान र निशालाई एकदमै सुहाएको छ’ –उनले भने। गीतको भिडियोमा रुकमान र निशाले गाउँघरमा मेला, हाट जाँदा पिरती गाँसेको अभिनय गर्दै रोमान्स गरेका छन्। लोकगीत भए पनि भिडियोमा निशा र रुकमानलाई आधुनिक परिवेशमा देखाइएको छ। गीतको भिडियोलाई फोटो पत्रकार नवीनबाबु गुरुङले छायांकन गरेका छन्। यो गीत ममताको दोस्रो एल्बम ममता–२ मा संगृहित गरेका छन्। सो एल्बम आगामी शनिबार रिलिज गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्