आस्था, मतदाता र नेता



डा. टीकाराम पोखरेल

राजनीति सिद्धान्त, विचार, आस्था र आदर्शको क्रियात्मक कार्य हो। महात्मा गान्धीले भनेका छन्– ‘सिद्धान्तविनाको राजनीतिको कुनै अर्थ छैन।’ हरेक राजनीतिक दल कुनै न कुनै सिद्धान्तको जगमा निर्माण भएका हुन्छन्। सिद्धान्त राजनीतिक दलको जग हो। जति सैद्धान्तिक जग बलियो हुन्छ, संगठन पनि त्यत्ति नै मजबुत हुन्छ। सिद्धान्तको जगमा पार्टी निर्माण गर्ने क्रममा दलहरूले आफ्नो पार्टीको सिद्धान्तप्रति आस्थावान्हरूलाई आफ्नो संगठनमा आबद्ध गराउँदै जान्छन्। यो क्रम निरन्तर चलिरहन्छ। पार्टीको शरीर भनेकै संगठन हो। संगठन भनैकै पार्टीमा विचार र सिद्धान्तका आधारमा व्यवस्थित रूपमा आबद्ध भएकाहरूको समूह हो। त्यसैले पार्टीको संगठन जति बलियो हुन्छ त्यो पार्टी त्यति नै बलियो हुन्छ।

राजनीतिक संगठनको आधार सिद्धान्त हो। सिद्धान्तविनाको दलको कुनै अर्थ रहन्न। हरेक पार्टीको सैद्धान्तिक अधार भएझैँ हरेक व्यक्ति पनि कुनै न कुनै सिद्धान्त र विचारप्रति झुकाव राख्दछ। जब कुनै व्यक्ति कुनै राजनीतिक दलले अवलम्बन गरेको सिद्धान्तप्रति झुकाव र व्यवहारको प्रभावमा पर्दछ तब त्यो व्यक्ति त्यही राजनीतिक दलमा आबद्ध हुन्छ। विचार र सिद्धान्त व्यक्तिलाई कुनै पनि राजनीतिक दलसँग जोड्ने रसायन हो। त्यसैले कुनै पनि व्यक्तिलाई पार्टीमा आबद्ध गराउने पहिलो कारण त्यो व्यक्तिको विचार र पार्टीको सिद्धान्तबीचको निकटता हो भने दोस्रोचाहिँ पार्टीले व्यवहारमा निभाएको भूमिका हो।

निर्वाचनविना लोकतन्त्र सम्भव छैन। मतदाताविना निर्वाचन सम्भव छैन। लोकतन्त्रविना मतदाताको अधिकार प्रत्याभूत हुँदैन। त्यसैले लोकतन्त्रको आधार भनेकै निर्वाचन हो। निर्वाचनको आधार भनैकै मतदाता हुन्। मतदाताको अधिकार लोकतन्त्रको जगमा अडिएको हुन्छ। यस अर्थमा लोकतन्त्र, मतदाता र चुनाव एक–अर्काका परिपूरक हुन्। एकको अभावमा अर्काको अस्तित्व रहँदैन।

राजनीतिक दलहरूले आवधिक निर्वाचनमा भाग लिनु र निर्वाचित भई राज्यको शासन व्यवस्था सञ्चालन गर्नु उनीहरूको काम हो। जब निर्वाचन आउँछ तब राजनीतिक दलले आफूले अवलम्बन गरेको सैद्धान्तिक आधारमा घोषणापत्र तयार गर्दछ। घोषणापत्रमा सैद्धान्तिक धरातलमा नीति र कार्यक्रमहरू समेटिन्छन्। घोषणापत्रका आधारमा पार्टीले निर्वाचनमा मत माग्दछन्। पार्टीले निर्माण गरेको चुनावी घोषणापत्र, उसले अवलम्बन गरेको सिद्धान्त र जनताप्रति विगतमा त्यो दलले गरेको व्यवहारका आधारमा जनताले आफूलाई मन परेको पार्टीलाई मतदान गर्छन्। समान्यतयाः दलीय पद्धतिमा जनताले मत व्यक्तिलाई नभएर दललाई दिन्छन्। जुन पार्टीले चुनाव जित्छ, उसले तोकिएको अवधिको लागि शासन सञ्चालन गर्दछ।

लोकतन्त्रमा राजनीतिक दलहरूले चुनावमा भाग लिन्छन् र जनताको मतले सत्तारोहण गर्छन्। दलहरूको सत्तारोहण गर्ने माध्यम जनता र जनताले सत्तामा भाग लिने माध्यम पनि दल भएकाले दुवैको भूमिका महत्वपूर्ण हुन्छ। तर मतदाता राज्यको वास्तविक शक्ति हुन्। तर मतदाता कसैको निजी सम्पत्ति होइनन्, जसले आफूलाई चाहिएको ठाउँमा प्रयोग गर्न सकोस्। नेताको घर पार्टी हो, पार्टीका मालिक जनता हुन्। तर पार्टीलाई नेताले सधैँ आफ्नो स्वार्थमा प्रयोग गर्ने र नेताले जनतालाई रैतीको व्यवहार गर्ने गर्दा मतदाताले नेतालाई उपेक्षा गर्दछन्।

लोकतन्त्रमा राजनीतिक दलहरूले चुनावमा भाग लिन्छन् र जनताको मतले सत्तारोहण गर्छन्। दलहरूको सत्तारोहण गर्ने माध्यम जनता र जनताले सत्तामा भाग लिने माध्यम पनि दल भएकाले दुवैको भूमिका महत्वपूर्ण हुन्छ। मतदाता राज्यको वास्तविक शक्ति हुन्। तर मतदाता कसैको निजी सम्पत्ति होइनन्, जसलाई आफूलाई चाहिएको ठाउँमा प्रयोग गर्न सकियोस्।

नेताको घर पार्टी हो, पार्टीका मालिक जनता हुन्। तर पार्टीलाई नेताले सधैँ आफ्नो स्वार्थमा प्रयोग गर्ने र नेताले जनतालाई रैतीको व्यवहार गर्ने गर्दा मतदाताले नेतालाई उपेक्षा गर्दछन्। यति सामान्य कुरा नबुझ्दा नै नेताहरू पलायन हुन्छन्। मतदातालाई पार्टीहरू आफूलाई मत मात्र माग्दैनन् आफ्नो लेनादेना जहाँ मिल्छ त्यहाँ मत हालिदिन समेत अनुरोध गर्छन्। यो मतदातालाई मेसिन सम्झने प्रवृत्ति हो। विवेकलाई बन्धक बनाउन खोज्नु हो। नेता विवेकको व्यापारी हुनुहुँदैन। आफ्नो विवेक तिलाञ्जली दिएँ भन्दैमा अरुको विवेकसमेत तिलाञ्जली देऊ र मैले भनेको ठाउँमा मत हालिदेऊ भन्नु राजनीतिक इमानदारिता र नैतिकता हुँदै होइन। गठबन्धनका नाममा गरिने विवेकको निर्विवेकी व्यापारले अन्ततः अप्राकृतिक गठबन्धन गर्ने दल र तिनका नेताहरूलाई नै असर पर्दछ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा प्रमुख दलहरूबीच अन्तिम चरणमा गठबन्धन भयो। कतिपय ठाउँमा आफ्नो पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेपश्चात् नाम फिर्ता गर्न लगाएर अरु पार्टीलाई समर्थन गर्न ठूला नेताद्वारा साना नेतालाई ठाडो निर्देशन पनि दिइयो। तर यस्तो गठबन्धनलाई न कार्यकर्ताले रुचाए, न जनताले नै पचाए। जहाँ गठबन्धन भयो, त्यहाँ गठबन्धन नभएकालाई जिताइयो। कतिले गठबन्धनप्रति असन्तुष्टि व्यक्त गर्न विपक्षीलाई वा उम्मेदवार नै नभएको चिन्हमा मतदान गरेको समेत पाइयो।

राजनीतिक आस्था र विचारको उद्यान हो। राजनीति व्यापार होइन। ‘गिभ एन्ड टेक’का नाममा नेताका राजनीतिक स्वार्थबीच लेनादेना हुन सक्ला तर मतदाता लेनादेना सम्भव छैन। अरु पार्टीको विचार र सिद्धान्तमा आस्था राख्ने मतदाता र कार्यकर्तालाई आफूलाई भोट हाल्न बाध्य पार्ने र आफ्नो पार्टीको विचार र सिद्धान्तमा आस्था राख्ने मतदाता र कार्यकर्तालाई अरु पार्टीलाई भोट हाल्न बाध्य पार्ने जस्तो कार्य जनताले स्वीकार गर्दैनन्। आस्था र विचार भन्ने कुरा लेनादेना हुँदैन। राजनीति लेनादेनाको व्यापार होइन, जहाँ एउटा पदमा आफ्ना भोट दिएर अर्को पदमा आफूले भोट लिन सकियोस्।

हो, राजनीतिमा कहिलेकाहीँ गठबन्धन पनि हुन सक्छ। तर त्यो सिद्धान्त मिल्नेहरूबीच हुन सक्छ। उत्तरी धु्रवतिर हिँडेका र दक्षिणी धु्रवतिर हिँडेकालाई एकैठाउँमा ल्याएर गठबन्धन गर्न खोज्दा जनताले पत्याएनन्, त्यसलाई अप्राकृतिक ठाने। त्यसैको परिणाम अधिकांश गठबन्धन भएका उम्मेदवारहरू पराजित भएका छन्। भविष्यमा दलहरूले गठबन्धन गर्दा पनि सोच्नुपर्ने भएको छ।

राजनीतिमा सौदाबाजी हुँदै नहुने होइन। तर यस्तो सिद्धान्त मतदाताको लेनादेनामा नभएर दुई देशबीचको आपसी हितका विषयमा हुन्छ। खासगरी सौदाबाजी सिद्धान्त अन्तर्राष्ट्रिय राजनीतिमा पछिल्लो समय प्रयोगमा आएको छ। यस्तो सौदाबाजीमा ‘विन विन’ सिद्धान्त लागू हुन्छ। तर विवेक र विचारको व्यापार राजनीतिमा कहिल्यै हुन सक्तैन। त्यही गर्न खोज्दा स्थानीय चुनावमा गठबन्धन राजनीति सफल
हुन सकेन।

प्रतिक्रिया दिनुहोस्