राजपाले निकाल्यो लाठी जुलुस



नेपाल समाचारपत्र
महोत्तरी
सरकारले आफूहरूको माग सम्बोधन नगरेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा आइतबार मोटरसाइकलसहित लाठी जुलुस प्रदर्शन गरेका छन्। राजपाका सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सो मोटरसाइकलसहित निकालिएको लाठी जुलुसमा चर्का नाराबाजी पनि गरिएको थियो। राजपाले घोषणा गरेको विभिन्न चरणको कार्यक्रमअन्तर्गत जलेश्वरमा लाठी जुलुस प्रदर्शन गरिएको हो।

सदरमुकामको पार्टी कार्यालयबाट निकालिएको मोटरसाइकलसहितको लाठी जुलुसमा नेता तथा कार्यकर्ताले सरकारले आफूहरूको सहमतिअनुसार स्थानीय तहको संख्या वृद्धि नगरेको, विगतमा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नगरेको, झुटा मुद्दा फिर्ता नगरेको र राजपा नेपाललाई चुनाव चिह्न नदिएर चुनावमा जान निषेध गरेको नाराबाजी गरेका थिए।

राजपाका नेता दिपुकुमार साहले सरकारले राजपालाई निर्वाचनमा भाग नलिने वातावरण बनाएका कारण आफूहरूले निर्वाचन र निर्वाचनको हरेक कार्यक्रमहरू बिथोल्ने चेतावनी दिए। सो लाठी जुलुसमा राजपा नेपालसँग आबद्ध ६ वटै दलका केन्द्रीय स्तरदेखि जिल्ला र गाउँ स्तरसम्मका नेता तथा कार्यकर्ताको सहभागिता रहेको राजपा नेपालका सुदीप झाले बताए। लाठी जुलुसका क्रममा चौकचौकमा ठूलो संख्यामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको उपस्थिति देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्