‘मतदाताको विश्वास र भरोसालाई मर्न दिन्नँ’



काठमाडौं, (नेस)। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताउनुभएको छ। मेयरमा निर्वाचित भएपछि आइतबार एक विज्ञप्ति जारी गर्दै उहाँले आफूप्रति आशा, विश्वास र भरोसाका साथ दिइएको गहन जिम्मेवारी पूरा गर्न दिन–रात नभनी खट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले आफूलाई मतदान गर्ने मतदाता र समर्थन गर्नेहरूलाई धन्यवाद व्यक्त गर्दै सो पदमा योग्य ठान्ने आफ्नो पार्टी नेकपा एमाले, पार्टी कार्यकर्ता, शुभचिन्तक एवं सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा पनि कृतज्ञता ज्ञापन गर्नुभएको छ।
विज्ञप्तिमा निर्वाचनका क्रममा प्रत्यक्ष वा परोक्षरूपमा अहोरात्र खट्ने पार्टी नेतृत्व, विभिन्न जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता, महानगरबासी, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीलगायतलाई स्मरण गरिएको छ।

उहाँले निर्वाचनका क्रममा मात्र होइन मतगणनास्थलमा समेत अहोरात्र खटेर सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारी सबैले आ–आफ्नो ठाउँबाट गर्नुभएको
योगदानप्रति सम्मान व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्