‘मेरो मधुशाला’ सार्वजनिक



काठमाडौं, (नेस)
सुदूरपश्चिमका वरिष्ठ कथाकार एवं आख्यानकार गगनसिंह थापाको ‘मेरो मधुशाला’ सार्वजनिक भएको छ।

साहित्यकार नयनराज पाण्डे, कृतिकार सर्वनामका संस्थापक अशेष मल्ल र पुस्तकका लेखक थापाले विमोचन सो कृतिको सार्वजनिक गर्नुभएको थियो। पुस्तकको विषयमा संवाद गरी आयोजना गरिएको कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले प्रखर साहित्यकार थापाको तेस्रो कृतिले समाजलाई बदल्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

पञ्चायतकालदेखि हालसम्मको कथावस्तु समेटेर तयार पारेको कृति मधुशालाले जनचासोका विषयलाई उजागर गरेको बताउनुभयो। जुन कृतिले जमिन छोएको हुन्छ त्यही कृति नै समाजमा टिक्ने उल्लेख गर्दै कृतिकारले यो देशैभरको कथा हो यस्ता कथाहरू समाजमा बग्रेल्ती रहेको बताउनुभयो।

यो कृतिले सामाजिक, सांस्कृतिक, राजनीतिक जस्ता विषयलाई उठान गरेको बताउँदै साहित्यकार पाण्डेले सबै कथावस्तुमा गाउँ–ठाउँको विषय उल्लेख गरेको बताउनुभयो। रेडियोकर्मी रमेश पौडेलले सहजीकरण गरेको कार्यक्रममा नयनले साहित्यकार अशेष मल्लले यस्तो कृतिका कृतिकारलाई भेटेर आनन्द आएको बताउनुभयो।

कृतिकार थापाले समाजमा देखेको, भोगेको र जताततै अनुभव गरेको विषयलाई समेटेर संग्रह प्रकाशन गरेको बताउनुभयो। थापाले यसअघि कर्णालीको छेउछाउ र पुर्खाको चिठ्ठी प्रकाशित गरिसक्नुभएको छ।

उहाँले आफूले अन्य कथा प्रकाशन गर्ने तयारीमा रहेको बताउनुभयो। कृतिलाई सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्