डोटी कांग्रेसले लगायो नगरपालिकामा उम्मेदवार टुंगो



नेपाल समाचारपत्र
डोटी
आगामी जेठ ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि डोटी कांग्रेसले नगर उम्मेदवारको टुंगो लगाएको छ। दुईवटा नगरपालिका रहेको डोटीमा पुरानो नगरपालिका दिपायल सिलगढीका लागि मेयरमा विजय खड्कालाई टिकट दिइएको छ भने उपमेयरको टुंगो लागेको छन्। त्यस्तै नयाँ गठन गरिएको शिखर नगरपालिकामा मेयरका लागि सीताराम जोशी तथा उपमेयर भने स्थानीय धौलीदेवी रावललाई टिकट दिइएको नेपाली कांग्रेस डोटीले जनाएको छ।

उता कांग्रेसका कार्यकर्ताले जिम्मेवार नेताले गाउँपालिकाको टिकट वितरणमा ढिलाइ तथा केही ठाउँमा आफ्ना मन परेका व्यक्तिलाई मात्रै टिकट दिने चलखेल गरेको भन्दै शनिबारबाट पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। यति मात्र नभई कांग्रेसले यहाँका अधिकांश गाउँपालिकामा आफ्ना उम्मेदवारको अझै टुंगो लगाउन सकेको छैन। अन्य दलहरूले भने नगर तथा गाउँपालिकामा आफ्ना उम्मेदवारको टुंगो लगाई चुनावी प्रचारप्रसार गरिरहेका छन्। नेताहरू पुनः जिल्लामा फर्किन थालेपछि शान्त रहेको यहाँको चुनावी माहोल एकाएक तातिरहेको स्थानीयबासी बताउँछन्।

आफ्ना नेताहरू गाउँपालिका तथा नगरमा जिताउनका लागि यहाँका राजनैतिक दलका नेता तथा कार्यकर्ता अहिले गाउँ तथा शहरमा आमसभा, चुनाव प्रचारप्रसार तथा घरदैलो अभियानमा लागिरहेको बड्डीकेदार गाउँपालिकाका स्थानीय लोकेन्द्रबहादुर छेडालले बताउनुभयो। उहाँले भन्नुभयो– ‘कहिल्यै अनुहारसमेत नदेखेका नेताहरू आएर भोट माग्न थालेका छन्, हामी त सीधै भन्छौ विकास गर्नेलाई भोट, नगर्नेलाई चोट।’

प्रतिक्रिया दिनुहोस्