विमानस्थलको स्तरोन्नति कार्य प्रभावित



शिवहरिप्रसाद भट्टराई, राजविराज
जेठ महिनामै काम सम्पन्न गर्ने प्राविधिकहरूले लक्ष्य राखेको भए पनि बेमौसमी वर्षाका कारण राजविराज विमानस्थलको स्तरोन्नति कार्य प्रभावित भएको छ। कच्ची धावन मार्गका कारण नियमित विमान नचलेपछि ५७ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त विमानस्थलमा यस वर्ष स्तरोन्नतिका लागि काम हुँदै आएको थियो।

कान्छाराम, रमण र देव एन्ड सायर जेभीले विमानस्थल निर्माण कार्यको ठेक्का लिएपछि गत मंसिरदेखि निर्माण कार्य थालिएको ठेकेदार कम्पनीका साइट इन्जिनियर बरुणकुमार केसीले जानकारी दिए।

जेठभित्रै विमानस्थलको पिचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको बताए पनि केही यता परेको वर्षा र हावाहुरीले तीव्र गतिमा काम हुन नसकेको उनको भनाइ छ। ‘केही दिन बिराएर पानी पर्ने गरेको छ’, उनले भने– ‘यसले गर्दा काम प्रभावित भएको छ।’

बेलाबेलाको हावाहुरी र गत फागुनमा जिल्लाको मलेठमा नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरीको गोली लागि ५ जनाको ज्यान गएपछि भएको बन्द हड्तालले पनि काम रोक्नुपरेको केसीको भनाइ छ।

पिचिङ गर्नका लागि जेठसम्मको समय उपयुक्त हुने कुरालाई मध्यनजर गर्दै तीव्र गतिमा काम अगाडि बढाए पनि अहिले आएर मौसमले समेत साथ नदिँदा समस्या परेको इन्जिनियर केसीको भनाइ छ।

उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणसित विभिन्न चरणमा कामको स्वीकृति, डकुमेन्ट तयारीमा समेत केही समय लाग्ने गरेको कारणले सोचेजस्तो गतिमा काम हुन सकेको छैन।

१ हजार ५ सय मिटर पक्की धावन मार्ग निर्माणका लागि हालसम्म डबल लेयर बेसको काम सम्पन्न भइसकेको र मौसमले साथ दिए बाँकी काम छिट्टै सम्पन्न गर्न आफूहरू प्रयत्नरत रहेको उनको भनाइ छ।

१ हजार ५ सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावन मार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा १ सय ५ मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माणका लागि भ्याटबाहेक २६ करोडमा राजविराज विमानस्थलको कामको ठेक्का लागेको हो। तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१६ सालमा राजविराज विमानस्थलको उद्घाटन गरेका थिए। कच्ची धावन मार्ग भएका कारण विमानस्थलमा नियमित सेवा उपलब्ध हुन सकिरहेको थिएन।

प्रतिक्रिया दिनुहोस्