जोड्ने पनि “मसाल” तोड्ने पनि “मसाल”



कृष्णउदास खनाल, वीरगन्ज
नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्वअध्यक्ष शत्रुघन नेपालले आइतबार आफ्नो फेसबुक आईडीमा एक व्यंग्यात्मक शैलीमा मधेसमा ‘मसाल’ ले नछाडेको तर्क प्रस्तुत गरे। गएको हप्ता मधेसमा धेरै समयसम्म आन्दोलन गरेको राष्ट्रिय जनता पार्टीले स्थानीय तहको जेठ ३१ गतेको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि त्यसको विरोधमा वीरगन्जसहित मधेसका जिल्लाको सदरमुकाममा मसाल जुलुस दिनैजसो भइरहेको छ।

मसाल जुलुस र मसाल चुनाव चिह्नको विषयमा मधेसमा अहिले निकै चर्चा भएको छ। यद्यपि राजपाले गरेको यो पछिल्लो निर्णयले निर्वाचनको पर्खाइमा रहेका मधेसका नागरिकको दाँतमा भने ढुंगा लागेको चर्चासमेत हुने गरेको पाइएको छ। एकथरी मधेसी अथवा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी फोरम मसाल चिह्न नै लिएर निर्वाचनमा भाग लिएको छ भने राजपा हातमा मसाल लिएर आन्दोलन गरिरहेको छ।

दुवै समूहले मधेसको नारा लगाउने गरेको भए पनि यी दुई मधेसवादी नेताहरूको नीतिले जनतामा अन्योलता छाएको तर्क वीरगन्जका वरिष्ठ पत्रकार चन्द्रकिशोर गर्दछन्।

मधेसवादी दलहरूको माग मिल्ने जति सम्बोधन गरेर भए पनि सबैलाई निर्वाचनमा भाग लिने वातावरण सृजना गर्नुको विकल्प नभएको तर्क भने प्राध्यापक डा. दीपक शाक्यको पनि छ। राजपाले चुनाव बहिष्कारको धम्की दिएसँगै तराई मधेसका जिल्लामा विरोध प्रदर्शन गर्न थालेको छ।

ढिलोचाँडो राजपा पनि चुनावमा भाग लिने विश्वास भने आफूहरूलाई लागेको पर्साको सबैठवाका स्थानीयबासी समसुल हकले बताए। उनले आफूहरू पनि राजपाका नेतालाई भोट दिने पक्षमा रहेको तर उक्त पार्टीको चुनावमा सहभागिता नजनाए अरू कुनै मधेसवादी दललाई नै भोट दिनुपर्ने बाध्यता रहेको सुनाए। तर, राजपाका नेता रमतुल्लाह खाँले भने निर्वाचनमा भाग लिन आफूहरू तयार रहेको भए पनि सरकारले वातावरण बिगारेका कारण आफूहरूको मागको सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए।

प्रतिक्रिया दिनुहोस्