५ दल बैठक जहाँको त्यहीं



१० दिन निर्वाचन सार्न ठूला दल तयार भए पनि
संविधान संशोधन हुनैपर्ने राजपाको अडान

बीपी साह, काठमाडौं
स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको मिति सार्न प्रमुख पाँच दल सहमत भएका छन्। आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि बढीमा १० दिनसम्म निर्वाचनको मिति सार्न तयार भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम तथा प्रतिपक्षी नेकपा एमाले र आन्दोलनरत राजपाबीच भएको छलफलमा निर्वाचन सार्ने विषयमा दलहरू सहमत भएका हुन्।

बैठकमा सहभागी राजपाका नेता राजेन्द्र महतोले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रमुख दलका नेताहरू निर्वाचनको मिति १० दिनसम्म सार्न तयार हुनुभएको छ। निर्वाचनपछि संविधान संशोधन गर्ने सर्वपक्षीय सहमति गरौं भनेर उहाँहरूले प्रस्ताव राख्नुभएको छ। तर हामीले संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान दोहर्याएका छौं।’

महिनौंपछि राजपासँगको छलफलमा बसेका एमाले अध्यक्ष केपी शर्मा ओली नम्र हुँदै संविधानविद् र मौसमविद्हरूसँग छलफल गरेर १० दिनसम्म निर्वाचन सार्न सकिने बताउनुभएको थियो। तर त्यसबापत राजपा निर्वाचनमा आउनुपर्ने सर्त राख्नुभएको थियो।

राजपा संयोजक महन्थ ठाकुरले आफूहरूको मुख्य माग नै संविधान संशोधन र जनसंख्याको आधारमा स्थानीय निकायको संख्या वृद्धि रहेको भन्दै संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान राख्नुभएको थियो।
ठाकुरको जवाफमा अध्यक्ष ओलीले अहिलेकै अवस्थामा संविधान संशोधन गर्न नसकिने भन्दै अहिले सर्वपक्षीय सहमति गर्न आग्रह गर्नुभएको थियो। ओलीले दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने विषयमा सहमति–पत्रमा हस्ताक्षर गर्न आफू तयार रहेको बताउनुभएको थियो।

राजपाका नेता अनिल झाका अनुसार ओलीले सहमति–पत्रमा हस्ताक्षर गर्न भनेपछि राजपाका नेताहरूले असहमति जनाएका थिए। आफूहरूसँग ६ वटा पार्टी र ६ वटा चुनाव चिह्न रहेको भन्दै जुनसुकै पार्टी वा चुनाव चिह्नबाट चुनावमा जान सक्ने तर संविधान संशोधन र स्थानीय निकायको संख्या वृद्धि हुनुपर्ने अडान राजपाले राखेको झाले बताउनुभयो।
बैठकमा निकै लामो कुरा गरेका अध्यक्ष ओलीले अन्तिममा भन्नुभयो– ‘राजपालाई चुनावमा ल्याउन हामी मिति सार्न सक्छौं। संविधान संशोधन नभए पनि कानुन र ऐनहरू संशोधन गरी उहाँहरूको माग पूरा गर्न सरकारसँग माग गर्दछु।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजपाको माग सम्बोधनका लागि थप छलफल गरी सोमबार पुनः बैठक बस्ने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्