उफ ! कति दिन गन्ने ? मतदानमा विद्युतीय मेसिनको पर्खाइ



प्रशान्त वली, काठमाडौं
मत गन्न पनि कति दिन लागेको होला ? स्थानीय निर्वाचनको पहिलो चरणको निर्वाचन सकिएको यतिका दिन भइसक्दा पनि अझै पूरै नतिजा आइनसकेकोमा सर्बसाधारण मानिसहरू अहिले यस्तै प्रश्न गरिरहेका छन्। हुन पनि अन्य देशमा करोडौंको मतदान पनि केही घण्टाको अन्तरमा नै गणना सकिएको खबर पाइरहेका सर्वसाधारणले अहिले यो प्रश्न सोध्नु अनौठो पनि होइन। तथापि विश्व प्रविधिका हिसाबले धेरै अगाडि बढे पनि नेपालमा भने विद्युतीय मतदान प्रणाली तत्कालै लागू हुने कुनै छाँट देखिएको छैन।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विद्युतीय मतदान प्रणाली उपयोगमा नआउने त निश्चित नै भइसकेको छ त्यसपछि हुने प्रदेश वा केन्द्रीय निर्वाचनमा के हुने भन्ने पनि अझै प्रस्ट भइसकेको छैन्। कानुनी पूर्वाधारहरू तयार नहुनु, राजनीतिक दलहरूमा विद्युतीय यन्त्रको विषयमा एक मत नहुनु र समय अपुगका कारण तत्काल विद्युतीय मतदान मेसिन उपयोगमा नआउने निर्वाचन आयोगले जानकारी दिएको छ। आगामी जेठ ३१ गते देशभरका ४३ जिल्लामा दोस्रो चरणको निर्वाचन हुने कार्यक्रम तय गरिएको छ।

०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ लगायत केही स्थानमा विद्युतीय मेसिन उपयोगमा आए पनि पूर्णतया कार्यान्वयनमा आउन सकेन।

भारतबाट ल्याइएका ती मेसिनलाई मेकानिकल भोटिङ मेसिन भनिन्थ्यो। स्थानीय तहको निर्वाचनका लागि विद्युतीय मतदान मेसिन प्रयोगका लागि ठोस तयारी नपुगेको र उम्मेदवार उठ्ने प्रक्रिया ढिलो टुंगो लागेकाले कस्तो खालको मेसिन खरिद गर्ने भन्नेमै असहज अवस्था पैदा भएको आयोगका प्रवक्ता सुरेशप्रसाद शर्माले बताउनुभयो।

निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङले भन्नुभयो– ‘नेपालमा हाल नमुनाको रूपमा प्रयोग गरिएको मेसिन भारतीय हो। त्यो मेसिनले अहिलेको स्थानीय तहको चुनावमा काम गर्दैन। प्रदेशको चुनावमा मात्रै काम गर्छ। अहिले प्रयोग गरेको मेसिन एउटा पदका लागि जति उम्मेदवार भए पनि काम दिने खालको हो। तर, अहिले मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य गर्दा थुप्रै मेसिन बक्सहरू राख्नुपर्ने देखिन्छ।’

पूर्वआयुक्त गुरुङले थप्नुभयो– ‘प्रदेश चुनावमा समानुपातिकको पनि व्यवस्था हुने भएकाले हाल प्रयोग भएको मेसिनले काम गर्छ। पछिल्लो चरणमा भारतीय मेसीनमाथि पनि शंकाका विषयहरू बाहिर आइरहेका छन्। यस विषयमा आयोगले विशेष ख्याल गर्नुपर्छ।’

निर्वाचन आयोगका सूचना तथा प्राविधिक महाशाखाका प्रमुख लक्ष्मी यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मतपत्र बराबरको खर्चले मतदान मेसिनलाई धानिहाल्छ। अहिले २१ हजार मतदान केन्द्रमा ४२ हजार मेसिन आवश्यक पर्छ। एउटा मेसिनलाई २ सय ५० डलर लागत पर्ने देखिन्छ। भारतीय मेसिन नेपालका लागि उपर्युक्त देखिन्छ। यद्यपि आयात गर्नेबारे निर्णय भइसकेको छैन। आयोगले कस्तो मेसिन खरिद गर्ने भन्नेबारे अध्ययन गरिरहेको छ।’ विद्युतीय मतदान प्रणालीबाट मतदान गर्दा १ देखि २ मिनेट मात्रै समय लाग्छ। यद्यपि मतपत्रको प्रयोग गर्दा एक जना मतदातालाई १० देखि १५ मिनेटसम्मको समय लाग्ने देखिन्छ।

छिट्टै हुन लागेको स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा विद्युतीय मतदान असम्भव भए पनि प्रदेश र केन्द्रीय निर्वाचनमा मेसिन प्रयोगतर्फ आयोगले तयारी गरिरहेको बताइएको छ। प्रदेश सभाको ऐन समेत बन्न नसकेको र दलहरू नै विद्युतीय मतदानका विषयमा एकीकृत हुन नसकेको निर्वाचन आयोगका प्रवक्ता शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

निर्वाचन आयोगका प्रवक्ता शर्माले भन्नुभयो– ‘पहिलो चरणको स्थानीय निकायको निर्वाचनपश्चात् दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र तयार गर्ने काम अन्तिम चरणमा पुर्याएको छ। त्यसैले विद्युतीय मतदान असम्भव भइसक्यो। यदि दलहरूको इच्छाशक्ति हुने हो भने हामी विद्युतीय मतदान गर्न तयार छौं। अबको युग भनेको प्रविधियुक्त युग हो।’

स्थानीय निकायको निर्वाचन भएको दश दिन बितिसक्दासमेत अझै पूरै मत परिणाम आउन सकेको छैन। जसले गर्दा आम मतदाता नै मतपरिणामको नतिजा आउँदासम्म वाक्कदिक्क भइसकेका छन्। साथै उम्मेदवारहरू पनि किन भाग लिइएछ भनेझैं गर्न थालेका छन्।
देशभरका मतदान केन्द्रमा विद्युतीय मतदानको व्यवस्था गरिएमा खरिदका लागि करिब ३७ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको निर्वाचन आयोगले प्रारम्भिक खाका तयार गरेको छ। अधिकांश स्थानमा विद्युतीय मेसिन प्रयोगका बारेमा मतदाता शिक्षासमेत दिन सकिएको छैन। मतदाता शिक्षाका लागि करिब १० अर्ब रुपियाँ लाग्ने अनुमान पनि आयोगले गरेको छ। मतदान गर्न आवश्यक पर्ने विद्युतीय यन्त्रलाई ‘स्मार्टम्याटिक’ भनिन्छ।

विद्युतीय मतदानको व्यवस्था गरिएमा खरिदका लागि करिब ३७ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको निर्वाचन आयोगले केही महिनाअघि काठमाडौंमा आयोजना गरेको नमुना विद्युतीय मतदान कार्यक्रममा जानकारी गराएको थियो।
निर्वाचन आयोगले समय अभाव भन्दै विद्युतीय मतदान यन्त्रबाट निर्वाचन गराउन असम्भव रहेको बताउँदै आएको छ।

यसैबीच, निर्वाचन आयोगले विद्युतीय मेसिन विदेशी कम्पनीबाट ल्याउने तयारी गरेपछि नेपाली प्रविधि अनुसन्धानकर्ताद्वय राम रिमाल र लक्ष्मण रिमालले यसअघि आफूहरूको मेसिनमार्फत् नेपालमा निर्वाचन सम्पन्न गराइसकेकाले चुनावमा हुने मतदान प्रक्रियालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदातामैत्री र छिटोछरितो बनाउनका लागि ती मतदान यन्त्र प्रयोग गर्न सरोकारवालालाई आग्रह गरेका थिए। तर, सरकारले नेपाली प्रविधि अनुसन्धानकर्ताद्वयलाई कुनै जवाफ दिएको छैन।

आयोगले पटक–पटक मतपत्र छपाइ तथा ढुवानी खर्चिलो हुने, दलहरूको संख्याका कारण मतपत्रको आकार ठूलो हुने, मतगणना विवादित र झन्झटिलो हुने भन्दै यथाशीघ्र देशैभर विद्युतीय मतदानबाट निर्वाचन सम्पन्न गर्न सरकार तथा दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ। तर, दलहरूले भने कतिपय देशमा मेसिनको प्रयोग भएर पनि मतदान र मतगणना दुवैमा आशंका पैदा भइरहेकाले यसतर्फ सचेत रहेर मेसिन उपयोग गर्न आयोगलाई आग्रह गरेका छन्।

विद्युतीय मेसिनलाई एकपटक प्रयोग गरिसके पनि निर्वाचनका क्रममा लामो समयसम्म उपयोगमा ल्याउन सकिने निर्वाचन आयोगले बताएको छ। आयोगका सूचना तथा प्राविधिक महाशाखाका प्रमुख यादवले भन्नुभयो– ‘२०६४ सालको संविधानसभाको निर्वाचनमा विद्युतीय मेसिन प्रयोगमा ल्याइएको थियो। तर, अहिलेको संविधानअनुसार मेसिन कम्फरटेबल (उपयुक्त) छैन। त्यसैले अहिले विद्युतीय मेसिन प्रयोगमा नल्याइएको हो।’ विद्युतीय मेसिनहरू प्रयोगमा आए सम्बन्धित जिल्लाका निर्वाचन कार्यालय र केही निर्वाचन आयोगमा राखिने आयोगको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्