डीएभीको वार्षिकोत्सव



नेपाल समाचारपत्र
काठमाडौं
डीएभी सुशील केडिया विश्व भारती विद्यालयले देश–विदेशका प्राज्ञिक व्यक्तित्वको माझ वार्षिकोत्सव समारोह एवं शैक्षिक पुरस्कार वितरण भव्यताको साथ डीएभी प्राङ्गणको बुद्ध सभागृहमा जेठ १३ गते सम्पन्न गरेको छ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको कार्यक्रममा उहाँले आधुनिक समयमा डीएभी विद्यालयले पूर्वीय ज्ञान र पाश्चात्य विज्ञानलाई सन्तुलित ढंगबाट अगाडि बढाउन सकेकोमा प्रशंसा गर्नुभयो। उहाँले मानव जीवनलाई प्रकृतिसँग जोड्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभयो– ‘देशको व्यवस्थापनमा हामी अहोरात्र खटिरहेका छौं। ज्ञानको भण्डारण गर्न अनुसन्धान मात्र एक महत्त्वपूर्ण कडी भएको स्मरण गराउनुभयो। डीएभी विद्यालयले विगत २५ वर्ष पूर्वीय ज्ञान र पाश्चात्य शिक्षालाई अनुशरण गरी काठमाडौंमा पृथक पहिचान बनाएको स्पष्ट पार्नुभयो।

भारतीय दूतावासका प्रतिनिधि एम केभोमले भारत सरकारले नेपालका करिब ३ हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइरहेको र सो कार्यक्रमबाट लाभान्वित हुन सबैमा आग्रह गर्नुभयो। कार्यक्रममा बोल्दै प्याब्सनका पूर्वअध्यक्ष एवं सल्लाहकार राजेश खड्काले विद्यालयको प्रगतिको निरन्तर कामना गर्नुभयो। कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, औद्योगिक व्यक्तित्वहरूको सहभागिता थियो।
विद्यालयका अध्यक्ष अनिल केडियाले डीएभी विद्यालयले संस्कृत वाङ्मय, ध्यान तपस्या र योग सँगसँगै युरोपियन विद्यालयस्तरको सीपमूलक शिक्षालाई पूर्णरूपमा अवलम्बन गरिएको बताउनुभयो। उहाँले विद्यालयले विभिन्न चुनौती सामना गर्दै यो अवस्थामा आइपुगेको स्मरण गराउँदै विद्यालयलाई निरन्तर माया गर्ने अभिभावकलाई विशेष धन्यवाद दिनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिले उत्कृष्ट शैक्षिक पुरस्कार वितरण गर्नुभएको थियो। विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै भारतीय आँखा चिकित्सकहरू विनित रात्रा र धनश्री रात्राले एकलव्य पुरस्कार र बेस्ट पोर्टफोलियो पुरस्कार वितरण गर्नुभएको थियो। त्यस्तै उमेश श्रेष्ठले पीआरओ पुरस्कार, सरदार प्रितम सिंहले चियरम्यान गोल्डस्टार र भारतीय राजदूतावासका प्रतिनिधि एम केभोमले रिड टु दि प्रिन्सिपल अर्वाड वितरण गर्नुभएको थियो।

सोही अवसरमा विद्यालयका किन्डरगार्टेन तहदेखि कक्षा १२ सम्मका विद्यार्थीले विभिन्न संगीत, नृत्य, नाटक र खेलकुद प्रस्तुत गरेको थिए। सांस्कृतिक कार्यक्रम कक्षा ९ र १० का विद्यार्थीको क्लासिकल डान्सबाट शुरु भएको थियो। समारोहमा गणेश वन्दना मार्सल आर्ट र बहुभाषिक सांस्कृतिक प्रदर्शन गरिएको थियो।
किन्डरगार्टेन तहका विद्यार्थीहरूले नीर जैले रिसाउने बोलको गीतमा नृत्य गर्दा सबै दर्शक मन्त्रमुग्ध भएका थिए। सांस्कृतिक कार्यक्रमको अन्तमा डोन्ट ओरी वि ह्याप्पी बोलको अङ्ग्रेजी गीतमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीले नृत्य प्रदर्शन गरेका थिए। कार्यक्रममा विद्यालयका उपप्राचार्य रामचन्द्र खनालले उपस्थित सबैलाई बधाई दिँदै सभा विसर्जन गर्नुभएको थियो। सोही अवसरमा हालै सडक दुर्घटनामा दिवंगत हुनुभएका स्वर्गीय जनार्दन घिमिरेको सम्झनामा उहाँको जीवनको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्