डरैडर



राजपा अहिले दोस्रो चरणको निर्वाचनमा जाऔं कि नजाऔं भनेर अलमलमा परेको देखिएको छ। पहिलो चरणको निर्वाचनमा जातजाति, धर्म र क्षेत्रीय मुद्दा मात्रै उठाउनेहरू पाखा लागेपछि राजपाका नेताहरू आत्तिएको धरहराले पाएको छ। निर्वाचनमा नजाऔं आफ्नो स्पेस उपेन्द्र र विजयले लिइदेलान् भन्ने डर, जाऔं जनताले डाँडा कटाउलान् भन्ने डर। दोहोरो डर।

बरु निर्वाचनमा भाग नलिए सधैं दादागिरी देखाउन पाइने। पछि हामीले भाग नलिएर मात्रै हो नत्र पुरै जित्ने थियौं भन्न पनि पाइयो। यस्तो आइडिया राजपाका नेताहरूले बनाएका रहेछन्। तर, सो पार्टीका सहमहामन्त्री नै विपरीत ध्रुवमा रहेको एमालेमा शनिबार प्रवेश गरेपछि झन् पो सो पार्टीलाई छटपटी भएको धरहराबाट देखियो। भाग नलिँदा त झन् भएका अलिअलि नेता र कार्यकर्ता पनि पाखा लाग्लान् भन्ने पो डर भो।

निर्वाचनमा नजाने भनेपछि टिकट लिनका लागि थुप्रै कार्यकर्ता अन्य पार्टीमा प्रवेश गर्ने मुडमा देखिएको धरहराले देखेको छ। राजपाका नेतागणहरू, पहिला निर्वाचन नभएका बेलामा जस्तो अब त गाउँमा पनि दादागिरी देखाउन पाइएला जस्तो छैन है। राजनीतिक पार्टीका स्थानीय कार्यकर्ता नै अब निर्वाचित भएपछि टक्करमा उत्रने अवस्था हुन्छ। पहिलाको जस्तो कहाँदेखि आएको कर्मचारी यसो थर्काएको भरमा भागेर गइहाल्ने र शून्यता छाउने अवस्था हुँदैन।

त्यसैले, बरु निर्वाचनमा भाग लिएर तपाईंहरू पनि स्थानीय सरकारमा हिस्सेदारी लिनु नै उपयुक्त होला। धरहराको छेउमै आएर केही व्यक्तिहरूले यसो भन्दै गर्दा धरहराले चाहिँ राजनीतिक गनगन के सुन्नु भनेर बाइनाकुलर अन्यत्रै मोड्यो है पाठकवृन्द। यसले ठीक गरेन त?

प्रतिक्रिया दिनुहोस्