चीनको विवादास्पद टापुनजिकै अमेरिकी बेडा



वासिंगटन, (एजेन्सी)
अमेरिकाको एउटा युद्धपोत दक्षिण चीन सागरमा विवादास्पद कृतिम टापुबाट १२ नटिकल माइलभित्र प्रवेश गरेको पेन्टागनले जनाएको छ। यसलाई उक्त जलक्षेत्रमाथिको सम्पूर्ण सम्प्रभुता दाबी गरिरहेको चीनका लागि चुनौतीका रूपमा लिइएको छ।

अमेरिकी अधिकारीहरूले डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अन्तर्राष्ट्रिय व्यापारका लागि रणनीतिक रुपमा अत्यन्त महत्त्व राख्ने साउथ चाइना सीमा पहिलोपटक वासिंगटनले यो कदम उठाएको बताएका छन्।

चीनले अमेरिकाको उक्त कदमको विरोध गरेको छ। बेइजिङले भनेको छ– ‘अमेरिकी युद्धपोतबिना अनुमति सागरमा प्रवेश गरेको छ, यो कृयाकलाप हाम्रो सुरक्षा हित तथा सम्प्रभुता विरुद्ध गएको छ। अमेरिकाले आफ्नो गल्ती सुधार्नुपर्छ र उक्साउने कृयाकलाप रोक्नुपर्छ।’
अमेरिकी युद्धपोत डेवी दक्षिण चीन सागरको स्प्राटली आइल्यान्डमा मिसचिफ रिफको अत्यन्त नजिक पुगेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले जनाएको छ। पेन्टागनका प्रवक्ता जेफ डेविसले वालस्ट्रिट जर्नलसँगको कुराकानीमा भने– हामी दक्षिण चीन सागरसहित पूरै एसिया प्यासिफिक क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअन्तर्गत नियमित जस्तै आवतजावत गरिरहेका छौं, यो गस्ती कुनै देश विरुद्ध होइन।’

स्प्राटली विवादास्पद द्विपसमूह हो। यो टापुमाथि चीनले आफ्नो दाबी गर्दै आइरहेको छ भने फिलिपिन्स, भियतनाम र ताइवानले पनि यसमा आफ्नो दाबी गर्दै आइरहेका छन्। अमेरिकाले भने उक्त क्षेत्रमा स्वतन्त्र आवागमनका लागि जोड दिँदै आइरहेको छ।

अमेरिकाको यो कदम उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर हेरिएको छ। अमेरिकाले उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रम रोक्न चीनसँग सहयोग मागेको छ। दक्षिण चीन सागरमा जलिय सिमांकनलाई राष्ट्र संघको प्रस्तावअनुरुप तय गरिएको छ, यसमा देशले समुद्र तटबाट बढीमा १२ नटिकल माइल दूरीसम्म सिमानाका रूपमा राख्न सकिने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्