अँध्यारो सडकको बेहाल अवस्था



चाबहिलको सडकमा दिउँसै सधैं रात परेको जस्तै हुन्छ। मेलम्चीको पानी उपत्यकामा भित्त्याउन करिब ३ महिनाअघि चाबहिल खण्डमा सडक खनिएपछि समस्या सिर्जना भएको छ। त्यहाँमात्र हैन गौशाला–चाबहिल–चुच्चेपाटी, चाबहिलचोक–गोपीकृष्णको सडकमा पनि सवारी गुडाइसक्नु मात्रै होइन मान्छे त हिँड्नै सक्ने अवस्था छैन। झन् घाम लागेको बेलामा त धुलोले ढपक्कै ढाकिन्छ यहाँको सडक। यसका बावजुद पनि सम्बन्धित निकायले सडक बनाउन ध्यान दिएको छैन। चाबहिल आसपासको क्षेत्रमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भइसकेको छ। तर, सडक कालोपत्रे नहुँदा धूलो र हिलोले हैरान पारेको पारेको छ। पाइप बिच्छ्याएपछि कालोपत्रे गर्ने जिम्मा सडक विभागको हो तर सडकले काम नगरेर हो कि के कारणले हो पिच नहुने अनि हामीले हैरानी पाइरहनुपर्ने ? सवारीसाधन गुड्दा उड्ने बुङबुङती धूलोले यहाँ अन्धकार बनाएको छ ।

अगाडिको गाडी तीव्र गतिमा गुड्दा पूरै अन्धकार हुन्छ। साँखु–रत्नपार्क रुटमा गाडीले पनि धूलोको कारण बाटो नदेख्ने समस्या छ। अँध्यारो हुँदा कि गाडी रोकेर बस्नुपर्छ, कि लाइट बालेर गुडाउनुपर्छ। महिनौंदेखि चाबहिलमा यस्तो समस्या भइरहेको छ। खानेपानीका पाइपको समस्याले गर्दा भने सबै ठाउँमा कालोपत्रे गर्न नसकिएको भए अन्य विकल्प खोज्नुपर्छ। सडकमा खानेपानीका पाइप असरल्ल छन्। कतिपय ठाउँमा पाइप फुटेकाले समस्या भएको छ। पुरानो पाइपमा लिकेजको समस्या पनि अहिले छ। जसका कारणले सडक कतै हिलाम्य त कतै धुलाम्य भएको छ।

हरि महर्जन, चाबहिल

शान्ति स्मारक छिटो बनाऊ

तत्कालीन अवस्थामा माओवादीको सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको सम्झनामा रोल्पाको लिवाङमा शान्ति स्मारक बन्ने कुरा के हुँदै छ ? यो विषयमा छिट्टै ध्यान जाओस् भन्ने मेरो भनाइ छ।

सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा अवतरण भएको एक दशक पार गरिसक्दासमेत जिल्लामा शान्ति स्मारक बनेको छैन। स्मारक निर्माण भएमा द्वन्द्वपीडितमा केही राहत हुनेछ। सशस्त्र द्वन्द्वमा मारिएका तथा बेपत्ता भएका परिवारका सदस्यले आफन्तजनको सम्झनामा सदरमुकाम लिवाङमा शान्ति स्मारक बनाउन माग गरिरहे तापनि यो विषयमा सम्बन्धित निकायले चासो नदिएको पाइएको छ।

सदरमुकाम लिवाङको टुँडिखेलमा सो स्मारक बनाउनुपर्ने हम्रो माग छ। स्मारकका लागि मानव अधिकार तथा कानुनी सेवा केन्द्रले करिब ४ लाख रुपियाँ विनियोजन गरिसकेको खबर पनि पाइएको छ। तर, निर्माण शुरु भएको छैन। यो विषयमा ध्यान दिने कि ?

जुनु मगर, रोल्पा

किन खर्च हुँदैन बजेट ?

डोटीमा विनियोजित कुल बजेटको चालूतर्फ ४० प्रतिशत र पुँजीगत तथा विकासे बजेट ५५ प्रतिशत खर्च हुन बाँकी रहेको खबर नेपाल समाचारपत्रको अनलाइन न्युज अफ नेपालमा पढेर केही लेख्न मन लाग्यो। सरकारले विकास निर्माणको कार्य समयमै सम्पन्न गर्न डेढ महिना अगाडि बजेट ल्याए पनि, डोटीमा बजेट खर्चको अवस्था विगतमा भन्दा खासै केही फरक परेको छैन।

चालू आर्थिक वर्षको १० महिना र बजेट विनियोजन भएको समय जोड्दा साढे ११ महिनाको समय बितिसकेपछि डोटीमा ४५ प्रतिसत मात्रै पुँजीगत बजेट र चालूतर्फ ६० प्रतिशत खर्च भएको रहेछ। डोटीमा गतबर्ष भन्दा यो आर्थिक वर्षमा झण्डै डेढ महिनापछि बजेट ल्याएर पनि यो समस्या आएको हो कि ? यसो हो भने बजेट ल्याउँदा नै विशेष ध्यान दिनुपर्छ। आर्थिक वर्ष सकिनै लाग्दा काम शुरु गर्ने प्रवित्तिले अनियमितता र भ्रष्टाचारसँगै काम नराम्रो हुने सम्भावना हुन्छ ख्याल गर्ने कि ?

सौरभ गिरी डोटी

चिनी आयातमा ढिलाइ किन ?

साल्ट ट्रेडिङ कर्पोरेसनले भन्सार छुटमार्फत् ल्याउन लागेको ३० हजार मेट्रिक टन चिनी आयातमा ढिलाइ गर्दा हामी चर्को मूल्य तिर्न बाध्य भएका छौं। साल्ट ट्रेडिङले समयमै चिनी आयात नगर्दा अहिले हामीहरुले ९५ रुपियाँदेखि १ सय १० रुपियाँसम्म प्रतिकिलोका दरले चिनी खरिद गरिरहेका छौं। करिब १ हजार क्विन्टल वीरगन्ज नाक मार्फत् नेपाल भित्रिसकेको भए पनि आन्तरिक ढुवानी र बिक्री–वितरणमा अझै केही समय लाग्ने कुरा समाचारमा आइरहेको छ। ढिला किन ? यो विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ। चिनी ढुवानीका क्रममा ढिलाइ हुनुहुँदैन। माघमा उखुको मूल्य बढेको र बजार मागअनुसार चिनी आपूर्ति हुन नसकेको भन्दै निजी क्षेत्रका व्यवसायीले चिनीको मूल्य प्रतिकिलो ९५ रुपियाँदेखि सय रुपियाँसम्म पुर्याए। मारमा हामी उपभोक्ता नै परेका छौं।

बजारमा चिनीको अभाव भएको भन्दै निजी क्षेत्रले मनोमानीरूपमा मूल्य बढाएपछि साल्ट ट्रेडिङले सरकारसँग ५० हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार छुटमा आयातका लागि अनुमति मागे पनि ३० हजार मेट्रिक टन चिनीको आयातका लागि मात्रै अनुमति पाएको खबर बाहिर आएको थियो। त्यसमा पनि काममा ढिलाइ हुँदा समस्या सिर्जना भएको छ। हामी उपभोक्ताको ढाड सेक्ने गरी कुनै काम गर्नुहुँदैन। उपभोक्तालाई सहजरूपमा सस्तोमा चिनी पाउने व्यवस्था मिलाउनुपर्छ।

मनोज शर्मा, कीर्तिपुर

प्रतिक्रिया दिनुहोस्