गोरखामा निर्वाचितलाई बधाई ज्ञापन



काठमाडौं, (नेस)
सरकारले ल्याउन लागेको बजेटमा धेरै नै रकम सीधै गाउँपालिका जाने पूर्वमन्त्री तथा व्यवस्थापिका संसद् सदस्य कमला पन्तले बताउनुभएको छ। उहाँलाई सो कुरा अर्थ समितिका एक सदस्यले खुलासा गरेको बताउनुभयो। वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएर आएका अजिरकोट तथा धार्चे गाउँपालिकाका प्रतिनिधिहरूलाई शुभकामना तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।

गोरखाका दुई नगरपालिका र नौ गाउँपालिका गरी एघार स्थानीय निकायमध्ये दुई नगरपालिकासहित सातगाउँपालिकामा नेपाली कांग्रेसले विजय हात पारेको थियो। तिब्बतसँग सिमाना जोडिएका दुई गाउँपालिकाका विजयीहरूलाई बधाई दिन अजिरकोट–काठमाडौं सहयोग समितिद्वारा काठमाडौंमा कार्यक्रमको आयोजना गरिएको हो। भूकम्पको पीडा भुल्न नसकेको अवस्थामा पनि सक्रिय भएर मतदान गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दै उहाँले भूकम्पीडितहरूको ऐन नबनेको र निर्देशिका पनि आइनसकेको बताउनुभयो।

त्यसै गरी नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले अजिरकोटमा बाटोघाटो, विद्युत्, सञ्चार आदिको समस्या रहेको बताउनुभयो। घुमाउरो पारामा विजयी प्रतिनिधिहरूलाई ६ महिनापछि फेरि मत माग्ने वातावरण बनाउन आग्रह गर्दै सबैलाई शुभकामना दिनुभएको थियो। निराशावादी सोच छाएको अवस्थामा ज्यानको बाजी राखेर पनि कांग्रेस गोरखामा पुनर्जीवित भएको उहाँको भनाइ थियो। उहाँले कांग्रेसभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो।

नवनिर्वाचित अजिरकोट गाउँपालिकाका प्रमुख फणीन्द्रप्रसाद धितालले पर्यटनको मूलआधार नै अजिरकोटको मेरुदण्ड भएकाले सम्बन्धित व्यक्ति, व्यवसायी, प्राध्यापक, शिक्षक, इन्जिनियर, डाक्टर आदिसँग मिलेर समृद्ध अजिरकोट निर्माणमा आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्पूर्ण मतदातालाई पनि आभार व्यक्त गर्नुभएको थियो। विशेष गरी घ्याच्चोक, खरिबोट र सिम्जुङमा पर्यटनको प्रशस्त सम्भावना भएकाले धार्चे गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्न सहभागीहरूले सुझाएका थिए। भूकम्पीडितको समस्या आफ्नो पहिलो प्राथमिकतामा रहेको धितालले बताउनुभयो।

कार्यक्रममा निर्वाचनामा कांग्रेसले गरेका घात प्रतिघातका विषयमा पनि सहभागीले चर्को टिप्पणी गरेका थिए। युवाहरूले आफ्नो सम्मान हुनुपर्नेमा जोड दिएका थिए। साग, सिस्नु, निउरो र सालको पातबाट मनग्गे आम्दानी लिन सकिने भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा पत्रकार तथा नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोविन्द धितालले विजयी प्रतिनिधिहरूको ध्यानाकर्षण गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्