डा. केसी पुनः अनशनको तयारीमा



प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाका लागि दबाब दिन दाङमा अनशन
नरेन्द्र केसी, दाङ
सरकारसँग भएका सहमति कार्यान्वायन नभएको भन्द्र प्राध्यापक डा. गोविन्द केसी पुनः अनशनको तयारीमा जुट्नुभएको छ। यसपटक उहाँ अनशनका लागि दाङ पुग्नुभएको छ।

हरेक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारी प्रतिबद्धताअनुसार प्रदेश नम्बर ५ को केन्द्र दाङमा मेडिकल कलेज स्थापना हुनुपर्नेमा माग गर्दै उहाँले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा अनशनको तयारी थाल्नुभएको छ। दशपटक अनशन काठमाडौंमै बसेका केसी सरकारले प्रत्येक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने र त्यसको शुरुआत दाङबाट गर्ने निर्णय गरी यसअघि सम्झौतासमेत भइसकेकाले दबाब दिन यहाँ आएको बताउनुभयो। स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको विधेयक सामाजिक समितिमा पुगेर रोकिएको भन्दै त्यसलाई तत्काल पास गर्नुपर्ने उहाँको माग छ।

सरकारले यसअघि घोषणा गरेअनुसार दाङमा मेडिकल कलेज स्थापनाको शुरुआत गर्नुपर्ने, चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाएर पारित गर्नुपर्ने, प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता गर्नुपर्नेलगायतका माग राखी डा. केसीले दाङमा अनशन थाल्न लाग्नुभएको हो।
शनिबार नै अनशन बस्ने तयारी गर्नुभएका केसीलाई स्वास्थ्यमन्त्री गगनकुमार थापाले टेलिफोन गरी सहमति कार्यान्वायन गर्ने प्रतिबद्धता जनाएपछि एक दिनको समय दिनुभएको छ। मन्त्रीले सहमति कार्यान्वयन हुने बताएपछि आइतबार दिउँसोसम्मका लागि केसीले समय दिनुभएको हो। डा. केसीसँग राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रेलसँग पनि फोनवार्ता भएको थियो। यसअघि सरकारको तर्फबाट पोख्रेलले नै केसीसँग सम्झौता गर्नुभएको थियो।

स्वास्थ्य सेवा नाफामुखी नभई सेवामुखी हुनुपर्नेमा समेत आवाज उठाउँदै आउनुभएको छ। स्वास्थ्य शिक्षा ९५ प्रतिशत विद्यार्थीको पहुँच बाहिर रहेको बताउँदै उहाँले स्वास्थ्य शिक्षा र सेवा सर्वसुलभ हुनुपर्ने नेपाली जनताको संवैधानिक अधिकार भएको समेत बताउनुभयो। दाङमा मेडिकल कलेजको कामको शुरुआत नहुदासम्म आफूले पटकपटक भए पनि अनशन बसेर दबाब दिने बताउनुभयो। सरकारी मेडिकल कलेजतर्फ भन्दा पनि निजी कलेज खोल्नतर्फ सरकारको बढी ध्यान गएकोप्रति उहाँले आपत्ति जनाउनुभएको छ।

‘नेताहरू स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेका छन्’, उहाँले भन्नुभयो– ‘नेताहरू आफ्ना निजी मेडिकल कलेजको स्वीकृति गराउन लागिपरेका छन् तर सरकारी मेडिकल कलेज बनाउन ध्यान छैन।’ ऐन बनेपछि कसैले रोक्न नसक्ने तर नेता मन्त्रीहरू त्यसलाई रोकेर कालोधन कुम्लाउन खोज्ने पक्षमा देखिएको उहाँको आरोप छ। चिकित्सा शिक्षा ऐनको पक्षमा आफू लडेको भन्दै उहाँले सबै नागरिकहरूले गुणस्तरीय स्वास्थ्य शिक्षामा समान पहुँच हुनुपर्ने बताउनुभयो।
अहिले पनि दुई तिहाइ जनता आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित भएको उहाँको भनाइ छ। प्रत्येक वर्ष २४ हजारभन्दा बेसी पाँच वर्षभन्दा मुनिका बालबालिकाले उपचार नपाएर मर्ने गरेको बताउनुभयो। गुणस्तरीय स्वास्थ्य शिक्षा दिने शिक्षण संस्थाको न्यायोचित स्थापना हुनुपर्ने मागसमेत केसीले गर्दै आउनुभएको छ। स्वास्थ्य शिक्षाका लागि पैसा बाधक बन्न नहुने उहाँको भनाइ छ।

स्वास्थ्य शिक्षा ९५ प्रतिशत विद्यार्थीको पहुँच बाहिर रहेको बताउँदै उहाँले स्वास्थ्य शिक्षा र सेवा सर्वसुलभ हुनुपर्ने नेपालीको संवैधानिक अधिकार रहेको बताउनुभयो। ‘यहाँ डाक्टर पढ्न करोडौं खर्च हुन्छ। सामान्य नागरिकले कसरी डाक्टर पढ्ने?’, उहाँले भन्नुभयो– ‘प्रदेशस्तरमा मेडिकल कलेज स्थापना गरी सबैले सहजै पढ्न पाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्