व्यवस्थित र स्वच्छ शहर बनाउने वडा अध्यक्षहरूको प्रतिबद्धता



यमलाल भुसाल, बुटवल
नेपाली कांग्रेसले वडाबाट सिफारिस गरेका बुटवलका वडा अध्यक्षमा उम्मेदवार प्रत्यासीहरूले नेपाली कांग्रेसले जितेको खण्डमा बुटवललाई व्यवस्थित र स्वच्छ शहर बनाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले जनताको आशा र विश्वास पनि नेपाली कांग्रेसमा रहेकाले नेपाली कांग्रेसको लहर आएको बताएका थिए।

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन प्रचारप्रसार समन्वय उपसमितिले शुक्रबार बुटवलमा गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उनीहरूले छिमेकी वडाहरूसँग समन्वय गरेर आफ्नो वडालाई उज्वल वडा बनाउने बताएका हुन्।

निर्वाचन प्रचारप्रसार समन्वय उपसमितिले नेपाली कांग्रेसले वडाबाट सर्वसम्मत रूपमा सिफारिस गरेका बुटवलका वडा अध्यक्षका ४ जना उम्मेदवारसँग पत्रकार अन्तरक्रिया गरेको थियो।
कार्यक्रममा बोल्दै बुटवल नगरपालिका–५ का प्रत्यासी उम्मेदवार हरिप्रसाद श्रेष्ठले २०५४ सालमा आफू वडा अध्यक्ष हुँदा बुटवलकै बढी फोहोर उत्पादन हुने वडाको रूपमा रहेको उक्त वडालाई सरसफाइमा धेरै सुधार गर्दै विकास निर्माणको काम अगाडि बढाएको उल्लेख गर्दै त्यति बेला अधुरा रहेका विकासका कामलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अन्य वडासँग जोडिएका उहाँले नेपालमै परिचित हाट बजार, कृषि उपज थोक बजार केन्द्रलाई आधुनिक रूपमा व्यवस्थित गर्ने तथा त्यहाँबाट उत्पादन हुने फोहोरलाई समुचित व्यवस्थापन गर्ने उल्लेख गर्नुभयो। त्यस्तै त्यस्ता सार्वजनिक स्थलहरूमा सार्वजनिक शौचालय, खानेपानी समस्यालाई व्यवस्थित रूपमा सुधार गर्दै वडालाई स्वच्छ, सुरक्षित र समुन्नत वडाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै वडा नं. ६ का निर्मल आचार्यले सुखौरा खोला सरसफाइ अभियान सञ्चालन गर्ने, खोला छेउका बस्तीलाई संरक्षण गरी सुरक्षित बनाउने, सरसफाइलाई विशेष कार्यक्रम सञ्चालन गरी वडालाई स्वच्छ बनाउने प्रतिबद्धता जनाउनुभयो। त्यस्तै उहाँले वडाका अन्य विकासका कामलाई चुस्त र प्रभावकारी रूपमा अगाडि बढाउने बताउँदै आफूले जितेको खण्डमा वडा नं. ६ का जनतालाई ५ वर्षमा खुसी बनाएर छोड्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले २०५४ सालमा एमालेबाट वडा सदस्यमा चुनाव जितेको भए पनि आफूलाई एमालेले बलीको बोको बनाएर आफूले अगाडि सारेका विकासका एजेन्डा अगाडि बढाउन नपाएको बताउँदै आफू त्यसयता नेपाली कांग्रेसमा रहेर पार्टी काममा लागेको र नेपाली कांग्रेसले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यसै गरी वडा नं. १० का अध्यक्षका उम्मेदवार खड्गबहादुर महतले वडामा सरसफाइ, सडक व्यवस्थित गर्दै स्तरोन्नति, खानेपानी, सरसफाइ व्यवस्थापनका लागि रामनगरमा रहेको कम्पोस्ट प्लान्टलाई व्यवस्थित बनाउने, वडामा सञ्चालित विद्यालयहरूबाट प्रदान गरिने शिक्षालाई प्राविधिक र गुणस्तरीय बनाउन जोड दिने, नगर स्वास्थ्य कार्यक्रमका लागि जग्गा व्यवस्थापन गरी भवन निर्माण गर्ने, सडक बत्ती व्यवस्थित गरिनेलगायतका कामहरू अगाडि सारेको बताउनुभयो। उक्त वडामा राष्ट्रिय जनमुक्तिसँग नेपाली कांग्रेसले तालमेल गरी चुनावी प्रचार अभियान अगाडि बढाएको छ।

बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा नं. ११ बाट सिफारिस गरिएकी नेतृ सावित्रा टण्डनले वडाको विकासमा आफूले दिलो ज्यान दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। आफूले चुनाव जितेको खण्डमा प्राप्त हुने सेवासुविधासमेत पारदर्शी रूपमा सामाजिक काममा लगाउने घोषणा गर्नुभयो। उहाँले उक्त वडा अरू वडाको तुलनामा अव्यवस्थित रहेको र त्यसलाई व्यवस्थित गर्दै सडक, खानेपानी, सरसफाइ, स्वास्थ्यलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वडामा रहेका विद्यालय तथा क्याम्पसबाट प्रदान गरिने शिक्षा सेवालाई प्राविधिक र गुणस्तरीय बनाउन आफूले जोड दिएको बताउनुभयो।

कार्यक्रम नेपाल प्रेस युनियन रूपन्देन्देहीका सभापति तथा प्रचारप्रसार समन्वय उपसमितिका सहसंयोजक विक्रम खड्काको सभापतित्व, समाचार डेस्कका संयोजक यमलाल भुसालको स्वागत र युनियनका सचिव तथा समाचार डेस्कका सहसंयोजक कवीन्द्र नेपालको सञ्चालनमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्