लाज हराएका मान्छेहरू



किरण श्रेष्ठ
रत्नप्रसाद अनामणि श्रेष्ठका कवितासङ्ग्रह ‘लाज हराएका मान्छेहरू’ पछिल्लो पटक प्रकाशित भएको छ। केही न केही लेखिरहने, केही न केही गरिरहने अझ नयाँ–नौलो गर्न पाएपछि हुरूक्कै हुने रत्नले नालाबाट ग्वंगबु काठमाडौंमा पुगेर पनि साहित्य सेवा, साहित्य सिर्जनामा आफ्नो समय दिइरहन रूचाए।

उद्योग, व्यापारमा सक्रिय रहेर पनि साहित्यमा यिनले पुर्याइरहेको योगदान अविष्मरणीय छन्। नेपाली र मातृभाषा नेपालभाषा दुवै भाषामा दख्खल रहेकै कारणले यिनी दुवै भाषामा चिनिएका साहित्यकार हुन्। गजल, हाइकु, मुक्तकका पुस्तकहरू प्रकाशित गराइसकेका यिनका हालसालै मात्र ‘लाज हराएका मान्छेहरू’ कवितासङ्ग्रह प्रकाशित भएको छ।

‘लाज हराएका मान्छेहरू’ कवितासङ्ग्रहमा यिनका १८ वटा गद्यकविता र १ वटा बालकविता सङ्ग्रहीत गरिएको छ। सबैजसो कविताहरूमा यिनले देशबारे र मान्छेको जीवन–क्रमबारे आफ्नो विचार राखेका छन्।

देश दुख्दाका स्थितिहरू, नेताहरू भत्किंदाका रूपरङ्गहरू देखेर यिनले व्यङ्ग्य शब्द–शैलीमा चलनचल्तीको सरल भाषामा कवितामा आफ्नो आक्रोश पोखेका छन्। ‘छोरालाई चिठ्ठी’ लेख्दै नेताहरूको चरित्र भत्किएको रूपरङ्ग–ढङ्ग नियालेर कवितामा यिनले लेखे –
नेताका छोरा छोरीहरूले
कहिल्यै पनि काम गर्दैनन्
तर तिनैका सम्पत्ति कसरी बढे ?
उनीहरूकै आलिसान घरहरू
कसरी बने
उनीहरूले नै ठूलाठूला
तारे होटेलहरूमा दिनहुँ
महङ्गो रक्सी र जाँड
कसरी खाए ?
दृष्टि नभएका नेताहरूले देशलाई सुसञ्चालन गर्न नसकेकोमा कवि हैरान छन्। दुखेको देशको परिवेश नियालेर यिनी असन्तोषमा लेख्ने गर्छन्– एक मुठी श्वास बाँकी रहेको÷यो बूढो अस्पतालको÷म बूढो कवि÷मृत्यु र जीवनको दोसाँधमा रहेको म बूढो कवि।
देशको स्थिति हेरेर, भ्वाङप्वाल भएको राज–व्यवस्था नियालेर यिनी कविले ‘लाज हराएका नेताहरू’ लाई मुसाको विम्बमा कवितामा यसरी कोर्छन्– मुसाले ठाउँ ठाउँमा÷दुलो बनाउँछ÷उल्टै भएको बाली बिगार्दै हिँड्छ÷आफ्नै लागि सङ्कलन गर्छ÷त्यसैले मुसाले खेत जोत्दैन।

देशमा भूकम्पले अर्को समस्या थपिएको छ ।राहत पाएका छैनन् अझसम्म जनता–जनार्दनहरूले। यसैले कवि व्यङ्ग्य शैलीमा लेख्छन् – गाउँका माइला हर्के र लुरेहरू÷पालमुनि बसेर आफ्नै पुर्पुरोमा÷धारे हात लगाउँदै बसे÷यिनै छन् भूकम्प पछिका÷अग्रगामी विकासका कार्यहरू।

किन लाज हराएका मान्छेहरू सम्झे कविले नेताजीहरूलाई ? यिनले यसबारे कवितामा प्रश्न गरेका छन् यसरी– तिम्रो नेपाली समाजको सत्यता खोई ? तिमीले वचन दिएका यथार्थता खोई? वास्तविकता र दुःखीत कारूनिकतालाई÷हार्दिकतामा बदल्ने चेष्टा खोई ? बितेकाहरूका सम्झनामा धुनमा धुन÷मिलाएर गाउन सकेको खोई ?

सबैजसो कवितामा नेताहरूप्रतिको आक्रोश छ। देशप्रति गद्दारी गर्न खोज्ने मानसिकताका विरूद्ध हुंकार देखाइएको छ कवितामा यसरी– दशगजामा बसेर विदेशी भात खाँदै÷मेरो देशमा ढुङ्गा हान्नेसँग÷मलाई जोडेर राज्य नमाग पासा ÷मेरो देश र मित्रराष्ट्रको झण्डासमेत÷आगो लगाउन पछि नपर्नेसँग÷मेरो कुनै हालतमा पनि सम्बन्ध छैन पासा। राष्ट्रवादी चिन्तनले व्याप्त कविता भन्न सकिन्छ ‘पासा मेरो नाममा राज्य नमाग’। यो कविता चर्चा गर्न लायकको कविता हो। समग्र कविताका आधारमा भन्न सकिन्छ ‘रत्नप्रसाद अनामणि युगचेतना व्याप्त कवि हुन्।

प्रतिक्रिया दिनुहोस्