मोहन दुवाल
चित्तधर हृदय नेपालभाषा साहित्यका चर्चित महाकवि मात्र नभई यस भाषालाई मार्मिक, गन्तव्यमय भाषा बनाउन निकै बौद्धिक परिश्रमका बूँदहरू पोखेर जाने एकजना सक्रिय स्रष्टा तथा कर्मशील भाषासेवीका रूपमा सबैका आँखामा चीर परिचित भएर गएका साधक हुन्। नेपालभाषा साहित्यको इतिहास निर्माणका क्रममा यिनले के–के मात्र गरेनन् र के–के मात्र लेखेनन् ?

इतिहासमा साँच्न नै गाह्रो हुने कार्यहरू यिनले गरेर गए। उपन्यासबाहेक सबैजसो विधामा कलम चलाएर गएका चित्तधर हृदयले भाषा–साहित्यका उत्थानका लागि आफू जिउँदो छँदा सधैं र सबैबेलामा आफूलाई समर्पित तुल्याएर कर्तव्यनिष्ठ सेवकका रूपमा उभ्याएर गए। अनुसन्धान र इतिहासमा समेत आफूलाई भुल्न लगाएर उत्खनन् र खोजीमा समेत समय दिन भ्याएका यिनले भाषा व्याकरणका गन्तव्यका मर्महरूसमेत खिचेर काव्य महाकाव्य, लेख निबन्ध, यात्रा संस्मरण, कथा लघुकथामा साहित्यका उल्लेखयोग्य कृति सिर्जना गर्न भ्याइदिएका छन्। यिनले धेरै गरे भाषा साहित्य उत्थानका लागि।

यिनले धेरै लेखे भाषा साहित्यका हरफरहरू। यिनै सक्रिय कर्मशील भाषा–साहित्यका योद्धा चित्तधर हृदयलाई सम्झेर यस आलेखमा विभिन्न समयमा उनीद्वारा लिखित सारपूर्ण लेख–भाषणका सङ्ग्रह झीगु साहित्य (हाम्रो साहित्य) बारे लेख्न खोजिरहेछौं।

कवि चित्तधर हृदयले नेपालभाषा साहित्यको इतिहास सम्बन्धमा पोखेका उद्गार, लेख–रचनालाई सङ्ग्रह गरी ने.सं. १०८७ मा (वि.सं. २०२३) मा नेपालभाषा परिषद्बाट प्रकाशित पुस्तकको नाम झीगु साहित्य हो। इतिहास नै नभएको अवस्थामा थोरै मात्र जानकारी हुने खालका लेख र रचनाले पनि धेरै थोकको वातावरण खुलाउँछन्।

यस पुस्तकले नेपालभाषा साहित्यको समग्र इतिहासलाई सम्प्रेषण र सर्वेक्षण गर्न सकेको भन्न सकिँदैन तर पनि इतिहासकै सन्दर्भमा यसले इतिहासको निर्माण गर्न धेरैथोकको रेखाङ्कन खिच्न सफल छ भन्न सकिन्छ। च्वसापासाको आयोजनामा भएको नेपालभाषा बृहत् साहित्य सम्मेलनमा वि.सं. १९९९ मा सभापतिको आसनबाट व्यक्त भाषण र अन्य १० वटा लेखहरूको सङ्ग्रह गरी निकालेको यस सङ्ग्रहले कवि चित्तधरको मान्यता, दृष्टिकोण बुझ्न सजिलो हुनाका साथै उनका पदचापहरू र सक्रियताका आयामहरू नियाल्न सकिन्छ।

च्वसापासाको आयोजनामा भएको उक्त सम्मेलनमा सभापतिको आसनबाट उनले त्यसैताका नै भाषा साहित्यका सम्बन्धमा धेरै मार्मिक ऐतिहासिक सन्दर्भहरू उल्लेख गरेका छन्। नेपालभाषाकै सन्दर्भमा उनले लेखेका छन्– ‘नेपालभाषाले दुई शब्द बोल्न पाउनु हाम्रा लागि खुसीको विषय हो। जुन भाषा हामी नेपालीहरूको प्रजाभाषा, देशभाषा मात्र भएर होइन राष्ट्रभाषाको गौरव पनि प्राप्त गरेर गएको भाषा हो।

यसको प्रमाण नेपाल राज्यभरको शासनले (शिलापत्रले) र ठूला–ठूला पुस्तकालयहरूमा रहेको प्राचीन पुस्तकहरू (थ्यासफूहरू) ले प्रमाणित भइरहेको छ।’ तथ्यपूर्ण तर्कहरूले, ऐतिहासिक घटना प्रसङ्गहरूले आफ्नो विचार राख्न सिपालु महाकवि चित्तधर हृदयले उक्त भाषणमा मार्मिक कुराहरू कोट्याइदिएका छन्– ‘धेरै खालका अक्षरहरूले अनेक प्रकारका साहित्य सिर्जना भएर उन्नत भएको नेपालभाषा कालको कुचक्रमा परेर लेख्ने साहित्यिक भाषा होइन खालि बोलीचालीमा प्रयोग हुने बोलीजस्तै भई अवनतिको खाल्डोमा पर्न गयो।’ हुन त श्री ५ पृथ्वीनारायण शाहले नेपाल लिइसकेपछि पनि यो नै नेपालभाषा, देशभाषा मात्र होइन राष्ट्रभाषा नै भइरहेको हो, नेसं. ८९५ सालमा तिब्बतसँग भएको सन्धिपत्र पनि नेपालभाषाबाट नै भएको देखिन्छ। माथि उल्लेखित विचारले कवि चित्तधरको भाषा साहित्यप्रतिको अन्वेषणमा पोखेका दृष्टि कति तीखो र सान्दर्भिक छन् भन्ने कुराको पुष्टि गर्दछ।

राष्ट्रभाषाकै रूपमा प्रचलित भइसकेको नेपालभाषाको गिर्दो अवस्थाप्रति इङ्गित गर्दै यिनी आफ्नो तर्क अगाडि यसरी राख्छन्– ‘पछि गोरखाभाषा पूरा सहायता पाएर बलियो हुँदै आएपछि वि.सं. १९६२ सालपछि लिखित नेपालभाषाका कागज प्रमाणहरू प्रमाण लाग्दैन भन्ने ऐन बनाएर हाम्रो यो भाषालाई राजकीय बहिष्कार गर्न थाले।’ सङ्घर्ष, स्वार्थ र अन्य भाषाप्रतिको पूर्वाग्रहले शासकीय सोच दुरुह बन्दै गएपछि छेकथुन, प्रतिबन्ध हुँदै जान्छन् भन्ने तर्क राख्दै उनी आफ्नो विचार यसरी राख्छन् – ‘त्यसपछि वि.सं. १९९० सालतिर त नेपालभाषामा एउटा दुईटा पुस्तक लेख्ने, बुद्ध धर्म र नेपालभाषा पत्रिकामा लेख लेख्नेहरूलाई जुद्ध शमशेर महाराजले डाकेर भने – ‘नेपालभाषामा किताब नलेख, लेख्यौ भने पहिला श्री भीमशमसेर महाराजलेजस्तै सजाय गर्नुपर्ला।’ यसरी शासकहरूले नेपाल भाषाप्रति जुन ढङ्गको कुत्सित व्यवहार भयो त्यसबाट यस भाषाको उत्थानमा बाधा अड्चन आउने काम भयो।

यति मात्र नभई अनेक लाञ्छना लगाई वि.संं. १९९७ सालको आन्दोलनमा प्रजापरिषद्का सदस्यहरू र अन्य राजनीतिक व्यक्तिहरूसँग नेपालभाषाले लेख्ने लेखकहरूलाई पनि पक्रेर लगि अनेकौं मुद्दा चलाई भए नभएको दोष लगाई जेलमा कोच्ने काम भयो। यी र यस्तै खालका घटनाहरूले नेपालभाषा र नेपालभाषा साहित्यलाई बाधा अड्चन पुर्याउँदै आएको तथ्यहरू छर्लङ्ग र प्रष्ट भएका सन्दर्भहरूलाई उक्त भाषणमा स्पष्ट राख्न सफल छन्। तर पनि भावनालाई दबाउनु गाह्रो हुन्छ। त्यसैले प्रयासहरू जारी भएका छन्।

उनी यस भाषणमा इतिहासलाई यसरी कोट्याउँछन्– हामीले बोलचाल गर्दै आएको भाषामा पण्डित निष्ठानन्द वज्राचार्यले ने.सं. १०२९ मा ‘प्रजापारमिता एकविंशति स्तोत्र’ भाषान्तरण गरी सर्वप्रथम प्रेसबाट प्रकाशन गराए। त्यसपछि ‘ललितविस्तर’ जस्तो महानग्रन्थ पनि भाषा प्रेमले गर्दा आफैले लेखी आफैले कम्पोज गरी आफैंले सानो प्रेसबाट छापी ने.सं. १०३४ सालमा प्रकाशित गरे। ललितविस्तर ग्रन्थकै सन्दर्भमा उनले यसरी अगाडि लेखेका छन्– ‘ललितविस्तर पुस्तकको प्रकाशनले नेपालमा दुई खालका जागृति एकैचोटि ल्यायो।

एक बौद्ध भनी नाममा मात्र परिचित बौद्धहरूले बुद्धको जीवनी र बुद्धका अनेक शीलआचरण र धर्मसम्बन्धी उपदेश पनि अध्ययन गर्न पाएर धर्ममा श्रद्धा र बौद्ध शास्त्रप्रति आकृष्ट हुन गई धार्मिक जागृति आयो। अर्को बोलीचालीमा एकखालको भाषा प्रयोग र पुस्तकमा अर्को खालको भाषा प्रयोग हुनाको कारणले आफ्नो भाषाप्रति अभिरुचि कम हुँदै गएको बखतमा कसरी बोल्ने हो त्यसरी नै पढ्न सकिने यो पुस्तक देखा परेपछि मान्छेहरूमा नेपालभाषाप्रति एक प्रकारको नयाँ जागृति आयो र हाम्रो नेपालभाषा पनि एउटा जीवित भाषा हो, यसमा पनि अनेक खालका आधुनिक साहित्य निर्माण हुन सक्छ। यसैले यो पुस्तकको प्रचार अधिक भयो।’

लेखकले यस लेखमार्फत् नेपालभाषा साहित्यका चारवटा स्तम्भ (थां) मध्येका गद्यगुरु निष्ठानन्द वज्राचार्यलाई चिनाउन सफल भएको छ। गद्य गुरु निष्ठानन्द वज्राचार्य यस लेखमा महाकवि चित्तधर हृदयले नेपालभाषाको इतिहासमा गद्य भागको एउटा प्रमुख पृष्ठ लेखेर इतिहास निर्माण गरेकोमा निष्ठानन्दलाई गद्यगुरुका रूपमा राखेर उचित मूल्याङ्कन गरेका छन्। ललितविस्तरको प्रकाशनले नेपालभाषाको ढुकुटीमा एक महत्वपूर्ण कृति संरक्षित भएको उल्लेख गर्दै उनले लेखेका छन्– ‘मातृभाषा प्रेमको मूर्त स्वरूप ललितविस्तर पुस्तक हाम्रो अगाडि छ, जुन वर्तमान प्रचलित गद्यशैलीको गुरु हो। इतिहास नभएको समयमा इतिहासपुरुषहरूको इतिहास लेखिदिने कार्य गरेर कवि चित्तधरले नेपालभाषा साहित्यमा एउटा अविस्मरणीय रेखाङ्कन खिँच्न सफल छन्।’

नेपालभाषा र नेपालभाषा साहित्यमा आन्दोलन, सिर्जना, प्रकाशन गरेर आफ्नो गरिमामय उपस्थित देखाउन सफल चित्तधरले संस्था, पत्रिकाको निर्माण र प्रकाशनमा पनि आफूसक्दो योगदान पुर्याइदिएका छन्। झीगु साहित्य पुस्तकमा संकलित ११ वटा लेख रचनाहरूमार्फत् चित्तधर आफ्ना अनगिन्ति विश्वासका मर्महरू फुकाउन सफल छन्। कवि सिद्धिदास र अमर कृति लेखमा पनि सिद्धिदास महाजूका अमरकृति सज्जन हृदयाभरण पुस्तकको मर्मशीलताको बखान गर्दै सिद्धिदासका कृयाशीलता, रचनाशीलताका साथै काव्य अनुभूतिबारे प्रष्ट पार्न उनी सक्षम छन्।

सिद्धिदासले जीवनमा धेरै खालका कष्टपूर्ण जीवन बिताउनाका साथै भाषा, साहित्य क्षेत्रका अग्रज र उल्लेखयोग्य स्रष्टा र द्रष्टा बनेका सन्दर्भ मार्मिक शब्दशैलीमा यस लेखमार्फत् विचार सम्प्रेषण गरेका छन्। जस्तोसुकै आपद विपदमा पनि कविता रच्न मन पराउने कवि सिद्धिदासले नेपालभाषा साहित्य जगत्मा आफ्नो आयाम छोड्न सफल रहेको प्रसङ्ग उनले तार्किक ढङ्गले व्यक्त गरेका छन्। त्यसैले उनले यस लेखमा उनको प्रशंसा गर्दै यसरी लेखे– धन्य उहाँ ⁄ धन्य उहाँको मातृभाषा प्रेम ⁄ त्यति धेरै पुस्तकहरू सिर्जना गर्न सकेको, धन्य उहाँको सहनशीलता ⁄ गृहस्थ जीवनको धुँवा आगो सहन सकेको।

म भएको भए उहाँको समयमा उहाँको जस्तो अवस्था भोगेर, त्यत्तिको आफूले देश र समाजको उत्थानका लागि मातृभाषाको सेवा गरेर पनि आफूलाई चिन्ने कोही नभएर पनि त्यत्तिको धैर्य, त्यत्तिको उत्साह बोकेर त्यत्तिकै चैतन्य रहेर त्यति धेरै बाँच्न सकिंदैन होला ? कि नभए त्यहीबेला नै मरिसकेँ हुँला, बाँच्न पाए बहुला भएर मात्र।

सिद्धिदासको जीवनजगत्मा व्याप्त थुप्रै खालका दुःख कष्ट देखेर चित्तधरले अभिव्यक्त गरेका उपरोक्त माथि उल्लेख गरिएका भावनाहरूले बताउँछ सिद्धिदासको योगदान र समर्पण अविस्मरणीय र ऐतिहासिक सन्दर्भका छन्। यसका साथै यस लेखमा सिद्धिदासका मित्रहरू, चेलाहरूलगायत्का स्रष्टाहरूका परिचय, इतिहास र समीक्षा पनि उल्लेख छन्। सिद्धिदास त्यस युगका एकजना सचेत कवि हुनाका साथै जीवन–जगत्सँग सङ्घर्षरत एकजना कर्मशील स्रष्टा पनि हुन् भन्ने भावनासहितको यस लेखमा सिद्धिदासद्वारा पोखेका काव्य अनुभूति पनि उद्धृृत गरेका छन्। सज्जन हृदयाभरणमा व्यक्त भएका कविता अंशहरू ः

सज्जन मनुष्यको सङ्गतले मूर्खहरूसमेत असल बन्छ
कमल–पातमा पानी परे मोतीझैं पानी चलखेल गर्छ।

यस खालका भावना पोख्न सिपालु कवि सिद्धिदासले आफ्ना थुप्रै काव्य कृतिहरूमा मान्छेलाई शुद्ध गति र मतिमा फर्काउन कवितामार्फत् धेरै प्रयत्नहरू भएका छन्। त्यस सम्बन्धमा चित्तधर हृदयले यस लेखमा प्रकाश पार्न खोजेको देखिन्छ। मूर्तिपूजा गरिरहेसम्म हामीले सुख प्राप्ति हुँदैन।

यस खालका दृष्टि फुकाउन सफल सिद्धिदासका कवितात्मक भावनासहित उनले जीवनमा भोगेका थुप्रै खालका सङ्घर्षका कथा प्रसङ्गहरूसहित यस लेखमा कवि चित्तधरले सिद्धिदासको मूल्याङ्कन यसरी प्रस्तुत गर्न भ्याएका छन्– ‘उहाँ कविले आफूले मात्र लेख्नुभई मातृभाषाको सेवा गर्नुभएको नभई त्यस बखतका विशेष शिक्षित नेवारहरूसँग सम्पर्क राख्नुभई भाषा साहित्यसम्बन्धी चर्चा गर्नुभएको देखिन्छ।’ अन्तिममा यस लेखमा उहाँले लेखेका छन् – हाम्रो नेपालभाषा साहित्यको नयाँ युगको प्रथम काल हो सिद्धिदास काल। इतिहास अन्वेषण गरिएकोजस्तो देखिने उनका यस पुस्तकमा प्रकाशित सबैजसो लेख रचनाहरू नेपालभाषा साहित्यका तथ्यपूर्ण इतिहासजस्तै छर्लङ र प्रष्ट छन्।

मास्टरसाहेबका नामले प्रख्यात जगत्सुन्दर मल्लका सन्दर्भमा मास्टरसाहेब नाम दिई लेखेको लेखमा जगत्सुन्दरका मर्मशील भाषामा लेखेका–गरेका कृति र कार्यहरूको चर्चा गरिएको छ। मास्टरसाहेब जगत्सुन्दर मल्लले नेपालभाषामा शिक्षा प्रचारप्रसार गर्ने कार्यहरू गरेर राणाकालीन अवस्थामा उनले भोगेका कहरहरूको फेहरिस्त जस्तै बनाएर लेखेको यस लेखमा उनले मल्लका बारे लेखेका छन्– ‘त्यस बखतमा पनि एकजना मास्टर छन् जसले एकदुई जनालाई अलिअलि साधारण शिक्षा दिएर मात्र सन्तुष्ट हुन जानेनन्। जसले आफ्नै घरमा स्कुल खोलेर अंग्रेजी शिक्षाका साथसाथै नेपाल जातिलाई नै जागृत गर्न चाहिने खालका शिक्षा दिइरहनुभयो, त्यो पनि हाम्रो नेपालभाषाले अर्धबोध गरेर।’ यसैले उहाँलाई सबैले ‘मास्टरसाहेब’ भनेर नाम राखे – उहाँ नै हुनुहुन्छ – स्व. मास्टर जगतसुन्दर मल्ल।

शिक्षासेवी मल्लका शिक्षा विषयमा आफ्नै सिद्धान्त रहेको उल्लेख गर्दै उनको विचारमा शिक्षा दिने तरिका यस्तो छ भनी लेखिएको छ– वर्णसम्म परिचय लिइसकेकाहरूलाई नमोबागी सिकाउनुपर्छ, अनिमात्र विद्याको प्रचार चाँडै हुन्छ। नेपालभाषाका डिक्सनरी, चर्चित कथाहरूको उल्था, शिक्षासम्बन्धी लेखरचना, गणितका पुस्तक आदि लेखेर शिक्षणसेवामा जुटेका मल्लले अनेकौं षड्यन्त्र, धम्की, छेकथुनका बाबजुद पनि आफ्नो मातृभाषाको मायामोहमा समर्पित रहेर सेवा पुर्याएका थुपैै्र सन्दर्भहरू यस लेखमा उल्लेख भएका छन्।
शिक्षाको माध्यम मातृभाषाबाट भए गरे शिक्षाको प्रचार र प्रभाव तुरुन्तै पर्ने सम्बन्धमा मास्टर जगत्सुन्दर मल्लले व्यक्त गरेका दृष्टि–चेत् यस लेखमा यसरी उल्लेख भएका छन्– कुनै पनि जातिको प्रचलनमा रहेको भाषामार्फत् ज्ञान दियो भने चाँडै नै ज्ञान प्राप्त गर्न सक्छ। यसमा कसैको भिन्न भाव निर्माण हुँदैन।

नेपालभाषा पढ्दाखेरि अक्सर गरी दिमागमा नपरेको भाषा भएका कारणले यो भाषा पढ्न गाह्रो हुँदै गयो। यस खालका तिक्त सत्य पोखेर शिक्षणसेवामा समर्पित सेवकका बारे कवि चित्तधरले अन्त्यमा संक्षेपमा लेखेका छन्– ‘हाम्रो निम्ति, हाम्रो समाजका निम्ति उहाँ मास्टरसाहेब नै हुनुहुन्छ। उहाँको शिक्षाप्रियता र मातृभाषानुराग हाम्रो निम्ति महान शिक्षा हो।’ (क्रमशः)

LEAVE A REPLY