दुई वर्षभित्र बालविवाहमुक्त गाउँपालिका घोषणा गरिने



ललित सिंह, बझाङ
समाजमा हँुदै आएको बालविवाह रोक्न यति बेला गाउँका महिला सामूहिक प्रयासमा लागेका छन्। गाउँघरमा छोरीलाई महिनावारी (छाउ) नहुँदै विवाह गरे धर्म हुन्छ भन्ने रुढिवादी परम्परालाई तोड्न बिथ्डचिर गाउँपालिकाका महिला सामूहिक रूपमा बालविवाहविरुद्ध गाउँटोल र छिमेकमा अभियानका रूपमा लागेका हुन्।

‘विवाह भनेको के हो मलाई थाहा थिएन, बाबुआमाले ११ वर्षको उमेरमा डोली चढाए पराई घर पठाइदिए विवाह गरेको दोस्रो दिनदेखि पाएको दु.ख सम्झेर आउँदा भक्कानो फुटेर आउँछ’ –बिथ्डचिर गाउँपालिका–९ की चन्दा अवस्थीले बताइन्।

उनले भनिन्– ‘विद्यालय पढ्नु त परै जाओस् देख्न पनि पाइएन कालो अक्षर भैंसी बराबर छ।’ मेरो जस्तो पीडा अरूलाई नहोस् भनेर अहिले गाउँघरमा छोरीलाई विवाह हैन विद्यालय पठाऊ, २० वर्ष नपुगी छोरीको विवाह गर्नेलाई सामूहिक बहिष्कार गर्ने र भोजभतेरमा नजाने महिलाबीच सहमति भएको छ। हप्तामा एक दिन बालविवाहबारे दिदीबहिनीबीच छलफल हुने गरेको छ।

‘उमेरले ९ वर्ष पुगेको थियो, भाइबहिनी र सँगैका सहेलीसँग रमाउँदै थिएँ बाबुआमाले धर्म कमाउने नाउँमा विवाह गरेर अर्कैको घरमा पठाएपछि नौ वर्षको उमेरदेखि दुःखको दिन शुरू भएको छ’ –नोमतिदेवी जोशीले बताइन्।

उनले भनिन्– ‘बाल्यकालमा सघाउने कोही थिएन रुँदै काम गर्ने गरेको थिएँ। अहिले गाउँमा महिला तथा बालबालिका कार्यालयले गाउँमा बालविवाहसम्बन्धी जनचेतना दिएपछि बालविवाह रोक्न सामूहिक पहल गरिरहेकी छु।

गाउँमा कसैको विवाह हुने हल्ला चल्नेबित्तिकैको महिला घरमै गएर केटाकेटी दुवैको उमेरसँगै पढाइको अवस्था समेत सोध्ने गरेकी छु। परम्परावादी सोचमा रहेको समाजलाई बदल्न निकै चुनौती देखिएको छ। जसरी पनि समाजबाट बालविवाह हटाएरै छोड्ने छु।’

गाउँमा बालविवाह रोक्न जनचेतनासम्बन्धी सामूहिक रूपमा छलफल हुँदा पहिला बालविवाह गरेकी महिलाको पीडाको बारेमा छलफल हुने र त्यसपछि कानुनले दिएको अधिकार दण्डका बारेमा छलफल गरिने गरेको किशोरी सञ्जालकी अध्यक्ष कल्पना विकले बताइन्। उनले भनिन्– ‘हामी किशोरीले माघ महिनामा हुन लागेको गाउँकै एक जोडी बालविवाह राकेका छौं। हाम्रो अभियान निरन्तर रहनेछ। सबै जना एक ठाउँमा जम्मा भएर सामूहिक रूपमा छलफल गर्ने गरेका छौं।

गाउँमा बालविवाह पहिलेको भन्दा केही कम भएको छ बालविवाह रोक्न पहिला दिन जुटाउने ब्रा≈मण, धामीझाँक्री, बाबुआमा र भोजमा सहभागी हुने सबैलाई कारबाही गर्नु आवश्यक रहेको युवा नेता अम्बर महरले बताए।

उनले भने– ‘२० वर्ष नपुगी विवाह गर्नै पाइँदैन हामीले अहिले बालविवाह रोक्न महिलालाई सघाउने गरेका छौं, दुई वर्षभित्र बालविवाहमुक्त गाउँपालिका बनाउने सोच बनाएका छौं।’

जिल्लाको सदरमुकाम चैनपुरदेखि ग्रामीण भेगका गाउँमा बालविवाह हुने गरेको छ, यसलाई रोक्न महिला तथा बालबालिका कार्यालयले गाउँगाउँमा किशोरी सञ्जाल गठन गर्नुका साथै आमा समूहलाई संगठित गरेर अघि बढेको महिला विकास अधिकृत लीला घलेले बताए।

उनले भने– ‘महिलालाई धर्मको नाउँमा बालविवाह गरेर पीडा दिँदै छ। यसको दोष महिलाभन्दा बढी पुरुषको हातमा रहेको हुन्छ। अहिलेसम्म कार्यालले तीन जोडा बालविवाह हुनबाट रोकेको छ।’

प्रतिक्रिया दिनुहोस्