डोटीमा माओवादी केन्द्रसँग नयाँ शक्तिको एकता



विमल विष्ट, डोटी
निर्वाचनको मुखमा आएर माओवादी केन्द्र डोटीसँग नयाँ शक्ति नेपाल पार्टीबीच डोटीमा एकता भएको छ। गएको असोज महिनामा माओवादी केन्द्र त्यागेर नयाँ शक्तिमा गएको पूरै समूह हाल आएर माओवादी केन्द्रमा समाहित भएको हो। नयाँ शक्तिका केन्द्रीय कार्यकारिणी सदस्य तथा जिल्ला संयोजक शिवसिंह ओलीको नेतृत्वमा भरत बोहरा, योगेन्द्र बोहरासहित सिंगै कार्यसमिति माओवादी केन्द्रमा प्रवेश गरेको हो।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष तथा सचिवालय सदस्य वीरबहादुर थापा, सचिवालय सदस्य योगेन्द्र खड्का पनि केन्द्रमा प्रवेश गरेका छन्। नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय सदस्य भरत बोहरा ‘योगेन्द्र’, भरत बोहरा ‘सेवक’, बलबहादुर ओली, विद्यार्थी नेता डलब सिंह, अमर साउ पनि माओवादीमा प्रवेश गरेका छन्।

क्षेत्रीय सदरमुकाम दिपायलमा नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीबीच एकता तथा नेपाल कम्युनिस्ट पार्टीबाट पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो। एकताको सन्देश बोकेर जनतासँग स्थानीय तहको निर्वाचनमा जानु खुसीको कुरा भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखराज भट्टले बताउनुभयो। नेता भट्टले भन्नुभयो– ‘हामी युद्धकालमा सँगै लडेका सहकर्मी केही असहमतिपछि अगल भएका थियौं, माओवादी आन्दोलनको आवश्यकताअनुसार हामी पुनः एक ठाउँमा आएका छौं।’

कार्यकर्ता र जनताको मागका आधारमा पार्टी एकता गरेको नयाँ शक्तिका जिल्ला संयोजक शिवसिंह ओलीले बताउनुभयो। एकता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो– ‘टुटफुटबाट ग्रस्त माओवादी आन्दोलन अब धु्रवीकरणको बाटोतर्फ लागेको छ, कार्यकर्ताको एकताको धारणा सबै विभाजित केन्द्रीय नेताले महसुस गर्नुपर्छ।’ डोटीमा भएको पार्टी एकता कार्यक्रमले देशमा महत्व राख्ने उहाँको भनाइ थियो।

खोक्रा भाषण र नाराले देशमा रूपान्तरण नआउने भएकाले माओवादी आन्दोलनमा सबैभन्दा उपयुक्त विकल्प माओवादी केन्द्र रहेको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारीका अध्यक्ष वीरबहादुर थापाले बताउनुभयो। विगत लामो समयदेखि चल्दै आएको पार्टी एकताको कुराले सार्थकता पाएको माओवादी केन्द्रका डोटी जिल्ला इन्चार्ज त्रिलोचन भट्टले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्