यस वर्ष ३ सय ६ जना सगरमाथाको चुचुरोमा



दीपेन्द्र थापा, काठमाडौं

यस वर्षको सिजनमा हालसम्म ३ सय ६ जनाभन्दा बढी आरोहीले सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका छन्। पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि यसपटक नेपालीसहित ३ सय ७५ जनाले अनुमति लिएका थिए। यीमध्ये हालसम्म पाँच जनाको आरोहणका क्रममा मृत्यु भइसकेको विभागले जनाएको छ।

वर्षको पहिलो आरोहण जेठ १ गते सोमबारबाट शुरू भएको थियो। सोमबार १४ जना र मंगलबार ३३ जनाले आरोहण गरेको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो बुधबार, बिहीबार, शुक्रबार मौसम प्रतिकुलताका कारण कुनै पनि आरोहण भएन। त्यस्तै शनिबार ४५, आइतबार ६५, सोमबार सयभन्दा बढीले आरोहण गरेका थिए।

त्यस्तै पछिल्लो मंगलबार र बुधबार मौसममा आएको खराबीका कारण कुनै पनि आरोहण हुन नसकेको पर्यटन विभागले जनाएको छ। बिहीबार २५ जनाले आरोहण गरेका छन्। शुक्रबार १६ विदेशी र ८ नेपाली आरोहीले आरोहण गरेको पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले बताउनुभयो। उहाँले भन्नुभयो–‘मौसममा आएको खराबीसँगै केही आरोही फर्किएका छन भने केही आरोही आरोहण पूरा गर्नका क्याम २ मा मौसमको अनुकुलतालाई कुरेर बसेका छन्।’ क्याम्प २ बसोबासको हिसाबले अरू क्याम्पभन्दा सहज मानिन्छ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत खेमराज अर्यालका अनुसार यस वर्ष ३४ हिमालका लागि व्यक्तिगततर्फ ८ सय ३४ जनाले आरोहण अनुमति लिएका छन्। साथै १ सय ७ समूहले अनुमति लिएका छन्। सन् २०१७ मा १ सय १५ जना अमेरिकी नागरिक, १ सय ९ जना भारतीय नागरिक, ६१ जना बेलायती नागरिक र चीन तथा अन्य मुलुकका नागरिकले अनुमति लिएका छन्।

यो वर्ष आरोहीका लागि राम्रो मौसम नभएका कारण केही आरोहीले आरोहण पूरा गर्न सकेनन् धेरै हावा चलेकाले गर्दा आरोहण सफल बन्न नसकेको नेपाल पर्वतरोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा बताउनुभयो। उहाँले भन्नुभयो –‘मौसममा नै आएको खराबीले गर्दा यस वर्ष पाँच आरोहीले समेत ज्यान गुमाएका छन्।’

११औं पटक सफल आरोहण गरिसकेका अन्तर्राष्ट्रिय गाइड पासाङ तेन्जिङ शेर्पाका अनुसार हाई अल्टिच्युटका र आरोहीको व्यवस्थापकीय कमजोरीका कारण आरोहीको मृत्यु भएको बताउनुभयो।
यसपटक ८६ वर्षीय कीर्तिमानी नेपाली आरोही मीनबहादुर शेरचनको वैशाख २३ गते आधार शिविरमै मृत्यु भएको थियो। ५० वर्षीय अमेरिकी चिकित्सक रोल्यान्ड एयरउडको आरोहणका क्रममा मृत्यु भएको हो।

स्विस नागरिक युली स्टेक मृत्यु भएको छ भने भारतीय नागरिक रवि कुमारको सगरमाथा आरोहण पूरा गरी आधार शिविर फर्किने क्रममा मुत्यु भएको थियो । शनिबारदेखि बेपत्ता उनी मृत अवस्थामा भेटिएका थिए।

त्यस्तै स्लोभाकियाका नागरिक भ्लादिमिर स्ट्रबाको आरोहणका क्रममा मृत्यु भएको छ । यस सिजनमा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने आरोहीको संख्या नेपालतर्फ पाँच र तिब्बततर्फ एकजनाको मृत्यु भएको छ। तिब्बततर्फबाट सगरमाथा आरोहण गर्ने क्रममा एक अस्टे«लियन आरोहीको मृत्यु भएको बताइएको छ।

यसैगरी अनुमतिबिना आरोहण गर्ने दक्षिण अफ्रिकी नागरिक रायमन सिन डेभी पक्राउ परेका छन्। भने एक चिनियाँ नागरिकले बेसक्याम्पसम्मको अनुमति लिएर गएकोमा अरू समूहमा मिसिएर चुचुरोमा जाने क्रममा जाने प्रयास गरेपछि पक्राउ गरी कारबाही प्रक्रिया शुरू गरिएको विभागले जनाएको छ।

पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेहरूको संख्या हालसम्मकै बढी नेपाली मोहोडाबाट ४१ वटा आरोहण दलका ३ सय ७५ जनाले सगरमाथाका लागि मात्रै अनुमति लिएका छन् । विदेशीले सगरमाथा आरोहण अनुमति लिन ११ हजार अमेरिकन डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्