तेक्वान्दो टोली मकाउ प्रस्थान



काठमाडौं, (नेस)
मकाउमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेको छ।

शुक्रबार दशरथ रंगशालास्थित राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षण केन्द्र आयोजित कार्यक्रममा उक्त टोली बिदाइ गरिएको थियो। बिदाइ कार्यक्रममा संघका अध्यक्ष प्रकाश शमशेरले देशको प्रतिनिधित्व गर्ने भएकाले निकै अनुशासित रूपमा उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि पदक हासिल गर्न शुभकामना दिए।

मकाउमा आगामी शनिबारदेखि मंगलबारसम्म हुने प्रतियोगितामा नेपालका पाँच पुरुष खेलाडी, एक प्रशिक्षक र व्यवस्थापनको नेतृत्वमा नेपाली टोलीको सहभागिता रहनेछ। तेक्वान्दोका पूर्वखेलाडीसमेत रहेका फिरोज श्रेष्ठको नेतृत्वमा सिनियर पुरुष ४८ केजीमा निश्चल बस्नेत, ५१ केजीमा पारस भण्डारी, ५४ केजीमा विशाल गोले र ८४ केजीमा प्रदीप कँडेल तथा जुनियरको ५५ केजीमा सुरमुला बाबु मियाँको सहभागिता रहनेछ।

उक्त टोलीको प्रशिक्षणमा सितापाइला तेक्वान्दो डोजाङका प्रमुखसमेत रहेका बब्लु सिवाकोटी रहेका छन्। सिवाकोटीले सिनियर पुम्सेतर्फ पनि नेपालका तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्। प्रतियोगितामा कुल १५ राष्ट्रको सहभागिता रहने प्रशिक्षक सिवाकोटीले बताए। टिम म्यानेजर श्रेष्ठले लामो समयदेखि तयारी गरेकाले नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्