अनेक धन्दा



दोस्रो चरणको निर्वाचन नजिकिँदै गएपछि दलहरूको सक्रियता अहिले निकै बढेको छ। उनीहरूले विभिन्न माग राख्ने काम पनि अघि बढाइरहेका छन्।

कसैलाई के चाहिएको छ भने कसैलाई के चाहिएको छ। जस्तो मधेसवादी दललाई स्थानीय तहको संख्या नबढाई भएको छैन भने एमालेलाई बढाएको संख्या नघटाई भएको छैन। यही विवादमा सर्वोच्च अदालतले शुक्रबार त्यो प्रक्रिया अहिले यथास्थितिमा राख्न आदेश दिइसकेको छ।

यही संख्याकै विषयलाई लिएर संसद् अवरुद्ध भइरहेको छ। सरकारको नीति तथा कार्यक्रम र बजेट के हुन्छ भन्ने कुरा पनि अन्योलमा छ। नीति तथा कार्यक्रम पास नगरी बजेट ल्याउन अप्ठेरो, बजेटको सीमा जेठ १५ गते ल्याउनुपर्ने संविधानमा नै उल्लेख गरिएको छ। धरहराको छेउमा आएर केहीले भन्दै गरेको सुनियो– ‘पहिलो चरणको चुनावमा राम्रो मत पाएको प्रमुख विपक्षी एमाले दोस्रो चरणमा अप्ठेरो पर्ला भनेर चुनाव नै सार्न खोज्दै छ।’

यो कति सत्य हो त्यो त एमालेजनले नै बुझ्लान् तर जनस्तरमा एमाले चुनाव भाँड्न लागिपरेको भन्ने आरोप लागिसकेको छ। अर्कोतर्फ मधेसवादी दलमा पनि रमाइलो प्रतिस्पर्धा चलेको देखिएको छ। मधेसी गठबन्धनले आमहडतालसहितका आन्दोलन घोषणा गरेको छ। राजपा नामको नयाँ पार्टी चुनावमा गइदिएन भने मधेसमा झ्याप्पै जित्ने मुडमा उपेन्द्र र विजयको टोली पुगेको कुरासमेत धरहरा छेउछाउमा चर्चा भइरहेको छ।

यो गाइँगुइँ राजपाका नेताहरूसम्म पनि पुगेपछि सो पार्टीका नेताहरू चुनावमा भाग लिनका लागि कस्सिएर लागेका त छन् तर बाहिरबाहिर चाहिँ के के जाति भनेर धम्क्याउने काम गरिरहेको भन्ने पनि धरहराको छेउमै आएर एक जनाले बताए।

अनेकथरी खेलो फड्को नगरी एकपटक जनताबाट जाँचिनलाई सबै दलले प्रयत्न गर्ने हो कि? कि कसो पाठकवृन्द? धरहराले गल्ती बोल्यो भन्ने लाग्छ भने रिसानी माफ है।

प्रतिक्रिया दिनुहोस्