राजपा नेतृत्वको गठबन्धनबाट सङ्घर्षको घोषणा



काठमाडौँ, १२ जेठ । सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले सङ्घर्षका कार्यक्रमको घोषणा गरेको छ ।

बिजुलीबजारस्थित राजपाको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले आगामी जेठ ३१ गते घोषित दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई प्रभावित पार्ने गरी सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

मधेश आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा मुद्दा खारेजी नभएको भन्दै गठबन्धनले लामो सङ्घर्ष र सयौँ पटकका वार्ताबाट पनि समस्याको समाधान नभएको ठहर गरेको छ । सङ्घीय गठबन्धनले उठाएका २६ बुँदे, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका ११ बुँदे तथा सरकारले मधेसी मोर्चा÷गठबन्धनसँग गरेको तीन बुँदे समझदारी अझै पनि कार्यान्वयन नभएको जनाएको छ ।

गठबन्धनले संसदमा रहेका छ पार्टीको एकीकृत पार्टी राष्ट्रिय जनता पार्टी नेपाल लगायत निर्वाचन आयोगमा दर्ता भएका अन्य राजनीतिक दललाई समेत दर्ता प्रक्रियामा सहभागी नगराएको र निर्वाचन चिन्ह प्रदान नगरेकामा आपत्ति प्रकट गरेको छ ।

सरकारले थप गरेको स्थानीय तहको २२ वटा सङ्ख्या अपुग एवम् सीमाङ्कन अपूरो रहेको जनाउँदै गठबन्धनका संयोजक महन्थ ठाकुरले एक विज्ञप्तिमार्फत उल्लिखित विषयलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्