म्यानचेस्टरलाई युरोपा लिगको उपाधि



लन्डन, (एजेन्सी)
ईग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले जित्न बाँकी रहेको युरोपको प्रतिष्ठित प्रतियोगिता युरोपा लिगको उपाधि हात पारेको छ।

युरोपा लिगअन्तर्गत बुधबार राति भएको फाइनलमा नेडरल्यान्ड्सको आयाक्स एम्सटरड्यामलाई २–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले पहिलोपटक युरोपा लिगको उपाधि जित्यो। युनाइटेडले खेलको १८औं मिनेटमा नै शुरूआती अग्रता लिएको थियो। मराउने फेलाइनिको पासमा पउल पोग्बाले करिब २० यार्डबाट गोल गर्दै युनाइटेडलाई शुरूआती अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको म्यानचेस्टरले दोस्रो हाफको शुरूआतमै अग्रता दोब्बर पार्यो। क्रिस स्मलिङको पासमा हेनरिक मिखितार्यानले गोल गर्दै युनाइटेडको गोलसंख्या दुई पुर्याए। सो गोलसँगै जोजे माउरिन्होको टोलीले उपाधि पक्का गरेको थियो।

उक्त खेलमा पउल पोग्बाको प्रदर्शन उत्कृष्ट रहेको थियो। उनले म्यानचेस्टर युनाइटेडका लागि १९ खेलको गोल खडेरीपछि लगातार दुई खेलमा गोल गरे। यसै गरी युनाइटेडले यस सिजन आफूले पहिलो गोल गरेको खेलमा अपराजित रहेको रेकर्डलाई पनि कायमै राख्यो।

योसँगै युनाइटेडले क्लब इतिहासमा जित्न बाँकी उक्त उपाधि पनि हात पारेको छ। यस उपाधिसँगै घरेलु लिगमा छैटौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगका लागि पनि छनोट भएको छ। म्यानचेस्टर युनाइटेडको सिजनको दोस्रो उपाधि थियो।

तथ्यः
१८ खेलसम्म गोल गर्न चुकेका पउल पोग्बाले लगातार दुई खेलमा दुई गोल गरे।
हेनरिक मिखितार्यानले अघिल्ला ६ खेलमा पाँच गोल गरे।

जोजे माउरिन्होले मेनेजरका रूपमा सबै चार युरोपियन फाइनल नै जितेका।
जोजेले पोर्टोको मेनेजर हुँदा यूएफा कप (२००३) र च्याम्पियन्स लिग (२००४), इन्टरमिलानका मेनेजर हुँदा इन्टरमिलानलाई च्याम्पियन्स लिग (२०१०) जिताएको।
जोजेको आयक्सविरुद्ध शतप्रतिशत जितको रेकर्ड बनेको। डचविरुद्ध उनले सबै सातै खेल जितेको।
ढिलो सब्सच्युट भएका वायने रूनीले प्रमुख युरोपियन फाइनलमा चौथो पटक खेलेर म्यानचेस्टर युनाइटेडका भेटरान रायन गिग्सको रेकर्डसँग बराबर गरेको।
रूनीले २००८, २००९, २०११ को च्याम्पियन्स लिग फाइनल खेलेको।
म्यानचेस्टर युनाइटेडले यो सिजनमा पहिलो गोल गर्दा खेल नहारेको रेकर्ड राखेको।
जसमा क्लबले ३७ मा जित र ८ बराबरी खेलेको।
मार्कुस रासफोर्ड प्रमुख युरोपियन फाइनलमा खेल्ने सबैभन्दा कान्छो इंग्लिस खेलाडी बनेको।
१९ वर्ष २ सय ५ दिनको उमेरमा खेलेका रासफोर्डभन्दा कान्छो खेलाडी नाटिंगम फरेस्टका लागि १९८० मा खेलेका गेरी मिल्स छन्।
इंग्लिस खेलाडी मिल्सले ह्यामवर्गविरुद्ध खेल्दा १८ वर्ष १ सय ९८ दिनको उमेरका थिए।

प्रतिक्रिया दिनुहोस्