हेटौंडा सिमेन्टको अर्को वर्ष ऋणमुक्त हुने लक्ष्य



नेपाल समाचारपत्र
हेटौंडा
सरकारी स्वामित्वका अधिकांश संस्थान विभिन्न कारण घाटामा गएर बन्द हुँदै गएको बेला देशको ठूलोमध्ये एक हेटौंडा सिमेन्ट उद्योगले भने बजारमा आफ्नो प्रभाव निरन्तर जारी राखेको छ। उद्योगले अर्बौ लगानी गरी स्थापित निजी क्षेत्रसँगको चर्को प्रतिस्पर्धाबीच पनि आफूलाई अब्बल बनाइरहेको छ।

चालू वर्षदेखि उद्योगले नाफा कमाउन थालेको छ। प्रशस्त बजारसहित उत्पादन क्षमता हुँदा पनि व्यवस्थापकीय र नीतिगत कमजोरीले उद्योग कहिले बन्द हुने त कहिले घाटामा सञ्चालन हुँदै आएको थियो। तर, पछिल्लो समय उद्योगको प्रगति प्रशंसायोग्य छ।

‘म जानुभन्दा पहिले हेटौंडा सिमेन्टबारेमा चर्चा थियो–उद्योग बन्द हुने अवस्थामा छ, कमजोर छ, चल्न सक्दैन भन्ने। मलाई मन्त्रालय र अन्य ठाउँबाट उद्योगलाई के गर्दा ठीक होला भनेर प्रश्न आउने गरेको थियो,’ हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेले भन्नुभयो–‘पछिल्लो चरणमा विज्ञ कर्मचारीले राम्रो तरिकाले काम गर्दा उत्पादन वृद्धि भएको छ। यो स्थापनाकालदेखि हालसम्मको तुलनामा यसपटक रेकर्ड तोडिएको छ।’

उद्योग केही वर्षयता घाटामा गएको समाचार आइरहेका छन्। जसका कारण उद्योग बन्द हुने हो कि भन्ने आमनागरिकमा चिन्ता छ। उद्योग अध्यक्ष न्यौपानेले भन्नुभयो–‘उत्पादन र बिक्रीको अवस्था हेर्यौं भने सन्तोषजनक छ।’

हेटौंडा सिमेन्टको गुणस्तर राम्रो भएका कारण यसको माग बढी छ। विगतमा चर्को राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनले थला परेको उद्योगमा हस्तक्षेप कम हुँदै गएपछि नाफामा जान थालेको हो। निजी क्षेत्रका कम्पनीभन्दा राम्रो पूर्वाधार र पर्याप्त बजार भए पनि उद्योगको सुधारको गतिसँग पूर्णसन्तुष्ट हुनसक्ने अवस्था भने छैन।

उद्योग मन्त्रालय मातहतका १४ संस्थानमध्ये हाल चालू रहेका दुईमध्ये हेटौंडा सिमेन्ट एक हो जुन निरन्तर सञ्चालनमा छ। निजी क्षेत्रको एकाधिकार तोडी सेवामा छनोट अवसर उपभोक्तालाई दिने लक्ष्यसाथ गरिएको सरकारी लगानीले प्रतिफल पाउन सकेको छैन। सरकारी स्वामित्वमा रहेका संस्थानमा कर्मचारीको तलब⁄भत्तालगायत खर्चको भार बढ्दा सञ्चालन हुन नसकेका हुन्।

चालू वर्षदेखि उद्योगले नाफा कमाउन शुरू गरेको छ। उद्योगको क्षमता, प्रशस्त बजार हुँदाहुँदै पनि समयसापेक्ष प्रविधि प्रयोग, व्यवस्थापकीय र नीतिगत कमजोरीले उद्योग कहिले बन्द हुने त कहिले घाटामा सञ्चालन हुँदै आएको थियो। तर, पछिल्लो समय उद्योगको प्रगति प्रशंसायोग्य छ।

हेटौंडा सिमेन्ट उपभोक्ताले रुचाए पनि बजारमा भने पर्याप्त पाउनसक्ने अवस्था छैन। गुणस्तरमा नेपालमा भएका अन्य उद्योगभन्दा अब्बल रहेको उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंहले दाबी गर्नुभयो।

करिब ८३ करोड घाटालाई चालू आर्थिक वर्षमा करिब २३ करोड र आगामी वर्ष ६० करोड कमाएर ऋणमुक्त हुने लक्ष्य लिइएको उहाँले बताउनुभयो। उद्योगले आगामी वर्षदेखि क्षमता दैनिक एक सय टन बढाएर ६ सय टन पुर्याउने लक्ष्य लिएको छ। उद्योगको पूर्णक्षमता भने दैनिक ७ सय ५० टन छ।

प्रतिक्रिया दिनुहोस्